दलहरूको समझदारी
देशको गम्भीर परिस्थिति निकासका लागि चुनाव सफल बनाऔँ : राष्ट्रपति
काठमाडौँ। सरकारले २१ फागुनमा घोषणा गरेको निर्वाचन सफल बनाउन दलहरूबीच शीतलनिवासमा सहमति जुटेको छ।
राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित तीन पूर्वप्रधानमन्त्रीहरूबीच निर्वाचन सफल बनाउन समझदारी जुटेको हो।
छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल‚ प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी बने।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने पनि समझदारी बनेको छ। “देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन चुनावको घोषणा भएको हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने‚ “यो गाम्भीर्यलाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो।”
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए। आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए।
राष्ट्रपतिले विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आसन्न निर्वाचनलगायत विषयमा दलहरूको धारणा बुझ्न छलफल गरेका हुन्। राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नेपालन्युजलाई भने‚ “राष्ट्रपतिको निम्तामा पहिलोपटक तीन पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीबीच चुनाव र समसामयिक राजनीतिक विषयमा संवाद भएको हो।” जेन-जी आन्दोलनपछि दलहरूबीच हुन लागेको यो पहिलो सामूहिक छलफल हो।
यसअघि राष्ट्रपतिले तीन ठूला दलका दोस्रो, तेस्रो तहका नेताहरूसँग भने औपचारिक छलफल गरिसकेका थिए। प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरूले त्यसको आलोचना गर्दै आएका थिए। आज (मंगलबार)को छलफलले सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको संवादहीनताको अन्त्य भएको छ।