काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले राजनीतिक सक्रियता बढाएका छन्। बिहीबार बिहान मात्रै बालेनले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गरेका छन्।
अहिले बालेनका प्रमुख सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग उनको वान-टु-वान भेटवार्ता जारी छ। यसअघि रास्वपाका पूर्वसांसद असीम शाहको निवासमा गत सोमबार रवि-बालेनबीच ६ घण्टा लामो भेटवार्ता भएको थियो। आज पनि शाह वार्तास्थलबाहिर छन्। शाहसँगै नेता गणेश कार्की पनि रहेका छन्।
आजको भेटमा उनीहरूबीच २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।
यसैगरी गत प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकालदेखि हामी नेपाल एनजीओका अध्यक्ष सुदन गुरुङ पनि वार्तास्थलबाहिर छन्।
यसअघि आजै बालेनले भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र कांग्रेसका पूर्वसांसद सुनिल शर्मासँग पनि भेटवार्ता गरेका थिए। शर्माले बालेनसँग प्रतिनिधिसभा पुनःस्थापना गर्दाका सम्भावित परिणामबारे छलफल गरेको बताएका छन्।