काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन्।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन्। सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन्।

स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता कायम भएका छन्।

यस्तै लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेको उनले बताए। प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ।

गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन्। विसं २०८२ फागुन २० गतेभित्र १८ वर्ष पुगेकाले मतदान गर्न पाउने जनाइएको छ।

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। बायोमेट्रिय विधि र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता गरिएको थियो।

गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए। अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन्।