काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ। सरकारसँग सोमबार सहमति भएसँगै डा. केसीले अनशन ताडेका हुन्।
सहमतिअनुसार कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटालाई पूर्ण क्षमतामा सञ्चालन गर्दै कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालनको प्रक्रिया अघि बढाइने भएको छ।
सहमतिपत्रमा विश्वविद्यालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा अन्य पूर्वाधारको व्यवस्था विश्वविद्यालयले मिलाउनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय गर्नेछन्।
अनशन तोड्ने क्रममा डा. केसीले गौमूल गाउँपालिका २ का चक्रबहादुर धामीको हातबाट जुस पिएका थिए। धामी सोही अस्पतालमा उपचाररत ८ वर्षीय बिरामी सुदीप कोइरालाका भिनाजु हुन् र अस्पतालमा बिरामी कुरुवाका रूपमा बसेका थिए।

