१८ पुष २०८२
६ मंसिरमा सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठक।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेपछि कार्यसम्पादन समिति बैठक बोलाइएको हो। १४ पुसमा समानुपातिक सूचीको टुंगो लगाएपछि कार्यसम्पादन समिति बैठक बस्न सकेको थिएन। ९ पुसमा महाधिवेशन, निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न कार्यसम्पादन समिति बैठक सुरू भएको थियो।

समानुपातिक सूची टुंग्याएको कार्यसम्पादनले महाधिवेशनबारे निर्णय लिन सकेको छैन। पुस २६ मा नियमित महाधिवेशन बोलाइए पनि कार्यतालिकाअनुसार काम नभएपछि टरेको छ।

अब नियमित महाधिवेशन वा विशेष महाधिवेशन के हुने भन्ने टुंगो कार्यसम्पादन समितिले लगाउन सक्ने पौडेलले बताए। नेतृत्वले नियमित महाधिवेशन टारेको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्न भुकृटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन्।

सभापति देउवासहितका नेता विशेष महाधिवेशनको पक्षमा छैनन्। देउवाले आफ्नो निवासमा शीर्ष नेतासँग शुक्रबार बिहानैदेखि छलफलमा छन्।

महामन्त्री थापा र शर्माले बिहीबार वक्तव्य जारी गरी २७ पुसमा विशेष महाधिवेशनको तयारी थालेको जनाएका थिए। महामन्त्री थापा विशेष महाधिवेशनको दस्तावेज बनाउन काभ्रे गएका छन्।