काठमाडौँ। नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्।
नेपाल भलिबल संघका अनुसार पुरुषतर्फको उपाधि भिडन्त ३:३० बजेबाट सुरु हुनेछ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पाँचौँ सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।
त्यस्तै, महिलातर्फको फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ।
महिलातर्फ नेपाल पुलिस क्लबले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने न्यु डायमण्ड स्पोर्ट्स युथ क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै उपाधि यात्रा तय गरेको हो।