राजनीति
निर्वाचन क्षेत्र परिवर्तन गरिरहनु रणनीति होइन भय
१६ पुसमा रुकुमपूर्वका माओवादी नेताहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई आगामी निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नका लागि आग्रहपत्र बुझाए। उनीहरूले २०६४ सालयता जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूबाट अपेक्षित विकास हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री दाहालको अपरिहार्यता प्रकट गरेका थिए। त्यसयता दाहाल रुकुमपूर्वका नेताहरूसँग निरन्तर परामर्शमा छन्।
दशवर्षे सशस्त्र संघर्षपछि २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो। त्यसपछि देशमा दुई वटा संविधानसभा र दुई वटा प्रतिनिधिसभा निर्वाचन भए। रोचक चाहिँ के भने, प्रत्येक निर्वाचनमा दाहालले आफ्नो क्षेत्र परिवर्तन गरेका छन्।
२१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा पनि दाहाल नयाँ र सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा छन्। उनका लागि बाँकी विकल्पमध्ये रुकुमपूर्व पहिलो नम्बरमा छ। दशवर्षे सशस्त्र विद्रोहकालमा माओवादीले रुकुमसहित सल्यान, जाजरकोट र रोल्पालाई आधार इलाका घोषणा गरेको थियो। २०७२ सालमा देश संघीय संरचनामा गएपछि रुकुम जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो। विभाजनमा रुकुमपूर्व लुम्बिनी प्रदेशअन्तर्गत रह्यो भने रुकुमपश्चिम कर्णाली प्रदेशमा पर्यो।
जिल्ला विभाजनअघि र पछि दुवै समय भएको निर्वाचनमा रुकुमपूर्व-पश्चिममा माओवादीको वर्चस्व रहँदै आएको छ। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि यस जिल्लाका अधिकांश स्थानमा माओवादीले नै विजय हासिल गरेको छ। २०७२ सालमा रुकुम विभाजनपछि एउटा निर्वाचन क्षेत्र बनेको रुकुमपूर्वमा २०७४ सालमा माओवादीकी कमला रोका र २०७९ सालमा माओवादी केन्द्रबाटै पूर्णबहादुर घर्ती निर्वाचित भए। त्यसअघि दुई वटा निर्वाचन क्षेत्र भएको रुकुममा पहिलो संविधानसभामा निर्वाचन क्षेत्र १ बाट माओवादीकी जुनकुमारी रोका र २ बाट जनार्दन शर्मा निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा रुकुम १ बाट गणेशमान पुन र रुकुम २ बाट शर्मा नै विजयी भएका थिए।
रुकुमपूर्वका तीन वटा गाउँपालिका पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अधिकांश वडाध्यक्षसमेत माओवादीले जितेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादीसहित पाँचदलीय गठबन्धन थियो। गठबन्धनमा रुकुमपूर्व माओवादी केन्द्रको भागमा परेको थियो। प्रदेशसभाको एउटा क्षेत्रमा भने माओवादीका बागी उम्मेदवारले स्वतन्त्र रूपमा निर्वाचन जिते।
यसपटकको निर्वाचनमा दाहालको नाम रुकुमपूर्वबाहेक सिन्धुली २, रामेछाप, काभ्रे, नुवाकोट १, महोत्तरी ४, गोर्खा १, कास्की १ र ३, रोल्पा, कालीकोट र कैलालीसहितका निर्वाचन क्षेत्रबाट पनि सिफारिस भएको छ। “संयोजकलाई उम्मेदवार बनाउनका लागि विभिन्न ठाउँबाट माग भएको छ, कुन क्षेत्रबाट उठ्ने दुईचार दिनभित्र निश्चित हुन्छ,” नेकपाका प्रवक्ता अग्नि सापकोटा भन्छन्।
सापकोटाका अनुसार हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन दाहालको रणनीति भएको बताउँछन्। “राष्ट्रिय दलको शीर्ष नेताको निर्वाचन क्षेत्र देशभरि हुन्छ। यो आफ्नो, त्यो बाहिरको भन्ने हुँदैन,” सापकोटा भन्छन्, “देशका सबै क्षेत्रमा उठेर त्यहाँको जीवन बुझ्न आवश्यक हुन्छ।”
हुन पनि निर्वाचन क्षेत्र परिवर्तनमा दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा फरक देखिन्छन्। कांग्रेस सभापति देउवाले गृहजिल्ला डडेल्धुराबाट निरन्तर जित्दै आएका छन्। एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापाबाट पहिलो संविधानसभाबाहेकका सबै निर्वाचन जितेका छन्। नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि काठमाडौँ र रौतहटबाट उठ्ने गरेका छन्।
दाहालले लगातार निर्वाचन क्षेत्र फेर्नुमा रणनीतिभन्दा हार्ने डर प्रधान भएको तर्क गर्नेहरू पनि छन्। अहिलेसम्म एउटै निर्वाचन क्षेत्र पनि सुरक्षित बनाउन नसकेको आरोप उनलाई लाग्ने गरेको छ।
पहिलो संविधानसभा निर्वाचनमा दाहाल काठमाडौँ १० र रोल्पा २ बाट उम्मेदवार बनेका थिए। ठूलो मतान्तरमा उनले दुवै क्षेत्र जिते। दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले मधेस र पहाड जोड्ने पार्टीको रणनीतिअनुसार अध्यक्ष दाहाल र शीर्ष नेता बाबुराम भट्टराईलाई दुवै भूगोलमा प्रतिस्पर्धा गराएको थियो। दाहाल काठमाडौँ १० र सिरहा ५ बाट उठे भने भट्टराईले गोर्खा २ र रुपन्देही ४ मा उम्मेदवारी दिए। तर, काठमाडौँ १० मा तेस्रो भएका दाहालले सिरहा ५ बाट झिनो मतान्तरले जित हासिल गरेका थिए। भट्टराई पनि रुपन्देहीमा पराजित भए।
संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा माओवादी र एमालेबीच गठबन्धन भएको थियो। वामपन्थी एकताबाट स्थायित्व र आर्थिक समृद्धि दिने भन्दै गठबन्धन मात्रै नभएर पार्टी एकता गर्ने घोषणा गरेपछि उनीहरूको पक्षमा माहोल निर्माण भएको थियो। दाहालले गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए। करिब १० हजार मतान्तरले दाहालले सहजै निर्वाचन जिते। दाहाल सो निर्वाचन क्षेत्रमा ४८ हजार २७६ मतका साथ विजयी भएका थिए। दाहालका निकटतम प्रतद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए।
२०७४ सालमा गृहजिल्ला चितवन ३ आइपुगेका दाहाल २०७९ मा पुन: सोही क्षेत्रबाट निर्वाचन लड्ने अपेक्षा धेरैले गरेका थिए। २०७४ सालदेखि दाहालकी छोरी रेणु दाहाल चितवन ३ निर्वाचन क्षेत्रसमेत भएको भरतपुर महानगरपालिकाकी मेयर छिन्। निर्वाचनअघि दाहालले भरतपुरको शिवनगरमा नयाँ घरसमेत बनाएका थिए। तर, मनोनयनको ठीक अघि दाहाल गोर्खा २ पुगे।
माओवादीबाट २०७२ सालमा बाहिरिएका बाबुराम भट्टराईसँग गठबन्धनपछि दाहालले गोर्खा रोजेका थिए। तत्कालीन माओवादी केन्द्र र तत्कालीन नेपाल समाजवादी पार्टीबीच एकल निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। कांग्रेससहित पाँचदलीय गठबन्धन गरेका दाहाललाई गोर्खा सबैभन्दा सुरक्षित क्षेत्र बन्न पुग्यो। किनभने, २०७४ सालमा एमाले र माओवादी गठबन्धनमा पनि भट्टराईले यही क्षेत्रबाट नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। २०७९ सालमा गोरखा २ छाड्न लगाएर दाहालले भट्टराईकी छोरी मानुषीलाई काठमाडौँ ७ बाट माओवादीको चुनाव चिह्नमा प्रतिस्पर्धीको टिकट दिएका थिए।
रुकुमका पूर्वमाओवादी नेता अनिल शर्मा दाहालको रुकुमपूर्वबाट चुनाव उठ्ने तयारी जारी पतनको अर्को चरण भएको बताउँछन्। “दाहाल कतै पनि जित्ने ठाउँ नपाएर भागिरहेका छन्, तर म उनी जित्ने सम्भावना देख्दिनँ,” शर्मा भन्छन्, “उनी लामो समय सत्तामा रहँदा रुकुमका जनतालाई केही गरेनन्, उल्टो भूकम्पपीडितलाई दिने भनेको राहत पनि घटाइदिए, सदरमुकाम विवाद समाधानमा पनि कुनै भूमिका खेलेनन्।”