राजनीति
समानुपातिकको सूची बुझाउने म्याद १४ पुसमै सकिएकाले उज्यालो नेपालले पाउने छैन नयाँ नाम बुझाउन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच सातबुँदे सहमति भएको १२औँ दिनमै एकता प्रक्रिया भंग भएपछि उनेपा समानुपातिक उम्मेदवारशून्य भएको छ।
कुलमान घिसिङ समूह अलग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची अद्यावधिक गर्न निवेदन दिएको छ। जसमा उज्यालोबाट समानुपातिक सूचीमा परेका रिमा विश्वकर्मा र अभिषेकराज सिंहबाहेक अरू उम्मेदवारको नाम हटाइएको छ। रास्वपामै रहने निर्णय गरेका कारण उनीहरूको नाम नहटाइएको हो। रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुली भन्छन्, “हामीले आयोगमा निवेदन दियौँ। अद्यावधिक भएर आएपछि थपिएका नयाँ नाम सार्वजनिक गरिनेछ।”
उनेपा नेताहरू भने अब नयाँ विकल्पको खोजीमा लागेका छन्। रास्वपा र उनेपाबीच एकता भंग भएपछि शनिबार साँझ पत्रकार सम्मेलन गर्दै उनेपाका नवनियुक्त अध्यक्ष घिसिङले निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने समय बाँकी नरहेकाले नयाँ सम्भावना खोजी गर्ने बताएका थिए। उनले प्रत्यक्षतर्फ भने १६५ क्षेत्रमै उम्मेदवार उठाउने तयारी गरेको पनि बताएका थिए।
१४ पुसमा रास्वपा र उनेपाबीच सातबुँदे सहमति भएको थियो। सोही दिन समानुपातिकको सूची बुझाउने अन्तिम भएकाले रास्वपा, उनेपा र बालेन्द्र शाहका तर्फबाट रास्वपाले समानुपातिक उम्मेदवारको सूची बुझाएको थियो। रास्वपाको सूचीमा उनेपाबाट १८ जनाको नाम समावेश थियो। त्यसमा आदिवासी जनजातितर्फ महेन्द्र लावती, धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशाला गुरुङ समेटिएका थिए।
त्यस्तै, खस-आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने थिए। त्यसैगरी, दलिततर्फ रिमा विश्वकर्मा र राजदेव राम, मधेसीतर्फ अभिषेकराज सिंह, मनीषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी समेटिएका थिए।
केही नाममा विवाद भएपछि रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुवेदी र राजदेव रामको नाम काटेर १४ जनाको नाम मात्र सूचीमा समावेश गरेको थियो भने महेन्द्र लावती र त्रिशाला गुरुङले समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिएका थिए।
निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने म्याद १४ पुसमै सकिएकाले उज्यालो नेपालले अब नयाँ नाम बुझाउन पाउनेछैन। दलहरूले बुझाएको समानुपातिक सूचीमा क्लस्टर नमिलेको भन्दै आयोगले २१ देखि २७ पुससम्म संशोधन गर्न सक्ने समय दिएको थियो। त्यस्तै, आयोगले समानुपातिकको सूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई २८ पुससम्मको समय दिएको छ।
समानुपातिक सूचीमा परेका कसैले नाम फिर्ता लिएमा आयोगले २९ पुससम्म सम्बन्धित दललाई त्यसको जानकारी दिनेछ। त्यसरी रिक्त भएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गर्न सकिनेछ। त्यसका लागि दलहरूलाई ३० पुससम्मको समय तोकिएको छ।
आफ्नो पार्टी समानुपातिक उम्मेदवारशून्य भएपछि उज्यालो नेपालका नेताहरू अहिले अरू दलले पठाएको सूचीमा आफ्ना उम्मेदवारको नाम समावेश गर्न छलफल गरिरहेका छन्। अरू दलसँग चुनावी तालमेल गर्ने सहमति भएमा तालमेल हुने दलले बुझाएको समानुपातिक सूचीमा उज्यालोका उम्मेदवारको नाम थप्न सक्ने सम्भावना रहेको उनेपाका नेता महेन्द्रसुन्दर लावती बताउँछन्। भन्छन्, “दलहरूसँग सहकार्यको सम्भावनामा छलफल गरिरहेका छौँ।”