काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

कांग्रेस

२८ पुष २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। आफ्नो सम्पर्क कार्यालय विशालनगरमा सोमबार बिहान कोइरालाले आफूनिकट नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए।

छलफलमा उनले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए। पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए। कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको मुखमा पुगेको छ। यस परिस्थितिमा कोइरालाले छलफल गरेका थिए। कोइरालाले भने, “म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,” उनले भने, “तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुटदैन। तपाईंहरू पनि त्यसैमा लाग्नुस। निराश हुने कामै छैन।”

उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए। अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आग्रह गरेका थिए।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायत थिए।