काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
गगनकुमार थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने संकल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए।
उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने पनि बताए। जेन-जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न पार्टी केन्द्रित हुने उनको भनाइ छ।
कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न पनि अपिल गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकाले एकतामा जोड दिने निर्णय भएको बताए। “जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ। निर्वाचन पनि आइरहेको छ‚” उनले भने‚ “पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ।”
निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसले पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ। यस्तै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको छ। सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको चालिसेले बताए। “आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पनि हामीलाई छ‚” उनले भने।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको ३ माघमा नयाँ बानेश्वरमा बसेको बैठकका निर्णय :
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ।
३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ।
५. नेपाली काग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन। हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ।
६. यो नयाँ अध्याय हो- रुपान्तरणको, एकताको, विजयको। सबैमा अनुरोध छ‚ समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह‚ विश्वास र साथ दिन सबैमा अनुरोध छ।
यो पनि…