श्रीपञ्चमी
किसानहरू कृषिकर्मबाट विस्थापित भइरहँदा ग्रामीण क्षेत्रमा बाहेक वसन्तपञ्चमी मनाउने परम्परागत चलनहरू हराउन थालेका छन्।
वसन्तपञ्चमीको अवसरमा आज देशभरका सरस्वती मन्दिरहरूमा दर्शनार्थीको भिड छ। शिक्षण संस्थाहरूमा उल्लासपूर्वक सरस्वतीको पूजा भइरहेको छ। आजकै दिनलाई बालबालिकाले अक्षरारम्भ गर्ने दिनका रूपमा पनि मनाउने गरिएको छ।
हरेक चन्द्रमासमा शुक्लपक्ष र कृष्णपक्ष गरी दुईपटक पञ्चमी आउने गर्छ। कृष्णभन्दा शुक्लपक्षको पञ्चमीलाई धार्मिक ग्रन्थहरूमा अधिक महत्त्व दिइएको पाइन्छ। यही माघ शुक्लपञ्चमीलाई वसन्तपञ्चमी, श्रीपञ्चमी वा सरस्वती पूजा भनेर सम्बोधन गरिन्छ।
मिथिलाञ्चलमा भने वसन्तपञ्चमी धार्मिक अनुष्ठानभन्दा पनि कृषिकर्मसँग बढी सम्बन्धित भएको पाइन्छ। तर, किसानहरू कृषिकर्मबाट विस्थापित भइरहँदा ग्रामीण क्षेत्रमा आक्कलझुक्कलबाहेक मधेसमा वसन्तपञ्चमी मनाउने परम्परागत चलनहरू हराउन थालेका छन्।
मधेसमा हराएको हलो गोरु पुज्ने परम्परा
वसन्तपञ्चमीकै दिन हलो जोत्ने हरवा र चौपाया चराउने चरवा समुदायलाई वर्षभर श्रम गर्ने करारनामा गराई खेतीका लागि जग्गा दिने वा अन्नबाली अथवा दुवै दिने चलन थियो। अहिले मधेसमा प्रायः किसानले गोरु पाल्न छाडेकाले हलोले जोतेर खेती गर्ने र अर्काको पशुचौपाया चराउन लैजाने चलन हराइसकेको छ। यही कारण हरवा र चरवाको वार्षिक करार गर्ने परम्परा पनि सकिएको छ।
यद्यपि, गोरुलाई रंगीचंगी बनाउने, हरवा-चरवालाई नयाँ लुगा दिने चलन भने अझै छ। हरवाले लगाएको नयाँ लुगामा शुभकार्यको प्रतीकस्वरूप घरकी गृहणीले पञ्जा छाप लगाउने गर्छिन्।
पहिले पहिले खेती प्रारम्भको पहिलो दिनका रूपमा वसन्तपञ्चमीमा धनी किसानको घरमा भोज नै आयोजना गरिन्थ्यो। बिहानै आँगनमा हलो र पालो (गोरुको काँधमा राख्ने काठको औजार)को आकृति बनाएर त्यसमा हलो, पालो र धान राखेर छोप्ने परम्परा थियो। जुन अहिले हराउन थालेको छ। यस्तै, गोरु र टायरगाडा दौड प्रतियोगिताहरूको आयोजना पनि हुन छोडिसकेको छ।

हलो पूजा। तस्बिर : राकेशप्रसाद चौधरी
यस वर्षको बाली कस्तो हुने हो भनेर जाँच्ने दिन पनि वसन्तपञ्चमी नै हो। किसानहरूले आफ्ना कृषि औजार मर्मत गर्ने स्थानमा धानका केही दाना राख्ने गर्छन्। उक्त धानको लावा राम्रो भयो भने वर्षभर अधिक अन्नबाली अत्पादन हुने विश्वास गरिन्छ।
राणाकालमा श्रीपञ्चमी
राजा पृथ्वीनारायण शाहको समयबाट प्रशासन तथा सुरक्षामा काम गर्ने कर्मचारी तथा श्रमिकको नियुक्तिका लागि पजनी प्रथा सुरु भएको थियो। वर्षभरि गरेको कामको आधारमा नवीकरण वा सरुवाबढुवा अथवा दण्डसजाय के दिने भन्ने कामलाई पजनी प्रथा भनिन्थ्यो।
राणाकालमा यस प्रथाले व्यापकता पाएको थियो। तलबको सट्टा खेत दिइने गरी कर्मचारी तथा सैनिकको पजनी वसन्तपञ्चमीकै दिन हुने गर्दथ्यो।
यस्तै, नेपाल-अंग्रेज युद्धको समयमा जुनसुकै समयबाट दूरदराज क्षेत्रका गढहरूमा खटाइने सैनिकको नियुक्ति हुने दिन पनि वसन्तपञ्चमी नै थियो।
धार्मिकग्रन्थमा पञ्चमी
वसन्तपञ्चमीकै दिन देवी सरस्वती उत्पत्ति भएको धार्मिक विश्वास गरिन्छ। ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा दुर्गा, लक्ष्मी, सरस्वती, सावित्री र राधासहित पाँच देवीको चर्चा छ। सरस्वतीलाई परमब्रह्म परमात्मासँग सम्बन्धित वाणी, बुद्धि, विद्या तथा ज्ञानकी अधिष्ठात्री भनिन्छ। देवी सरस्वतीको कृपाले मनुष्यको बुद्धि, कविता, मेधा, प्रतिभा र स्मरणशक्ति र अनेक प्रकारको सिद्धान्तभेद तथा अर्थको कल्पनाशक्ति प्राप्त हुने विश्वास गरिन्छ।

फाइल फोटो। तस्बिर : राकेशप्रसाद चौधरी
ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमै देवी सरस्वतीको पूजनविधि छ। माघ शुक्ल पञ्चमीलाई विद्याआरम्भको मुख्य तिथि भनिएको छ। श्रीकृष्णले समेत सरस्वतीको पूजा गरेका थिए। गुरुको श्रापबाट विद्या नष्ट भएका मिथिलाका प्रख्यात महामुनि याज्ञवल्क्यले पनि देवी सरस्वतीको स्तुतिमार्फतै स्मरणशक्ति प्राप्त गर्न सफल भएको धार्मिक कथन छ।
भविष्य पुराणको उत्तरपर्वमा सरस्वती व्रतको विधान र फलबारे महाभारतकालीन युधिष्ठिर र भगवान् कृष्णको संवाद छ। भगवान् कृष्णले युधिष्ठिरलाई मधुरवाणी र अतिकौशल विद्या प्राप्त गर्न चैत शुक्ल पञ्चमीबाट सरस्वती व्रत प्रारम्भ गर्न सुझाएका थिए।
अनुसन्धानकर्ता धर्मेन्द्रकुमार शास्त्रीले वैदिक संहिताहरूमा सरस्वतीबारे अनुसन्धानपत्र तयार गरेका छन्। सरस्वतीबारे ऋग्वेद, यजुर्वेद, अथर्ववेद र समावेदसँगै गीता र किरातार्जुनीयम्मा उल्लेख रहेको शास्त्रीको दाबी छ।
माघमहिनाको शुक्लपक्षमा गुप्त नवरात्रिसमेत मनाइन्छ। असोज र चैतको दसैँजस्तो यस नवरात्रिमा सार्वजनिक उत्सव हुँदैन। विशेषगरी तन्त्र, मन्त्र तथा शक्ति उपासनाका रूपमा व्यक्तिगत साधना गरिन्छ।
अन्य दसैँजस्तै नौ वटा दुर्गादेवीको ठाउँमा दश महाविद्याको साधना गरिन्छ। माघपञ्चमीको दिन छिन्नमस्ता महाविद्याको साधना गरिन्छ। अहंकार नाश गरी आत्मज्ञान प्राप्त गर्न यस महाविद्याको साधना गरिन्छ।