काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

दृष्टिकोण

कांग्रेस-कम्युनिस्टमा रहेको नयाँ अध्ययन नगर्ने, सिद्धान्तको रटान लगाउने तर व्यवहारमा ठीक उल्टो काम गर्ने शैलीले उनीहरूलाई असामयिक र असान्दर्भिक बनाएको छ।

१२ माघ २०८२
एआईसिर्जित तस्बिर
अ+
अ-

२३-२४ भदौको जेन-जी विद्रोह हुनुको मुख्य कारण पुराना नेताहरूले विगत ३५ वर्षदेखि देशमा मच्चाएको भ्रष्टाचार, भागबन्डा, अकर्मण्यता र नातावाद थियो। देशको विकास भएन, रोजगारी सिर्जनाका लागि काम भएन, पुराना दलका बूढा नेताहरू असामयिक, असान्दर्भिक र व्यक्तिवादी भए, तिनको विचार र व्यवहार जनजीविकासँग जोडिएन, त्यसैले नेतृत्वमा अब नयाँ पुस्ता चाहिन्छ भन्ने धारणा मुखरित हुन थाल्यो।

एउटा कुरा सही के हो भने, कुनै समयका युवा नेताहरू अहिले विचार र व्यवहारमा बूढा भइसकेका छन्। उनीहरू एकैचोटि र सजिलै सत्तामा पुगेका होइनन्। त्यसका पछाडि विगतमा उनीहरूले गरेको कठोर आन्दोलन, त्याग, समर्पण, उनीहरूले भोगेका जेलनेल थिए। तर, त्यही कठिन संघर्षको मूल्यमा बहुदलीय व्यवस्था पुन:स्थापनायता उनीहरूले सत्तामा बसेर ऐसआराम गरे, आसेपासे पोसे।

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको नेपाली कांग्रेसले आफूलाई सामाजिक जनवादी भन्छ। अहिले पनि उसको सैद्धान्तिक कार्यदिशा राष्ट्रियता, प्रजातन्त्र (२०६४ सालदेखि लोकतन्त्र) र समाजवाद हो। नेपालका वामपन्थी दलहरू जसले आफूलाई समाजवादी वा साम्यवादी भन्दछन्, उनीहरूका नेताहरूले पालैपालो एकल रूपमा र गठबन्धन गरेर सत्ताको रसास्वादन गरे। तर, पालैपालो २७ वर्षसम्म शासन चलाएका कांग्रेस र कम्युनिस्टविरुद्ध युवा पुस्ताले विद्रोह गरेको थियो। यो विद्रोह सत्ता र संरचनाविरुद्ध थिएन, केवल दलका सत्तासीन नेताहरूविरुद्ध थियो।

भ्रष्टाचार गर्ने नियत नभए पनि उनीहरूले अँगालेको अर्थनीतिले तिनलाई भ्रष्टाचारी बनायो। यसले गर्दा एउटा लोकतान्त्रिक दलमा केही नेता सम्भ्रान्त बने। एउटै पार्टीमा पनि वर्गीय खाडल गहिरिँदै गयो।

नेपाली कांग्रेसको स्थापना हुँदै गर्दा बीपी कोइरालाले पार्टीको सैद्धान्तिक पक्षको निर्क्योल गरेका थिए। कांग्रेसले उसको घोषणापत्रमा लोकतन्त्रमा अडिग, मिश्रित अर्थतन्त्र, कल्याणकारी राज्य, करमार्फत पुनर्वितरण, श्रमिक अधिकारको संरक्षण गर्ने लेखेको थियो।

युरोपमा मार्क्सवादमा आधारित समाजवादको लहर चलेको समयमा बीपीले मार्क्सबाट प्रश्न गर्न, गान्धीबाट नैतिकता, नेहरूबाट आधुनिक राज्य र उदारवादबाट स्वतन्त्रता सिकेको बताएका थिए। त्यसैले उनको वैचारिक आधार सामाजिक जनवादी थियो। ‘लोकतन्त्र समाजवादको आत्मा हो र समाजवाद लोकतन्त्रको सार,’ बीपी यी वाक्य आफ्नो भाषणमा दोहोर्‍याउँथे।

उनले अँगालेका वैचारिक, राजनीतिक र आर्थिक नीतिलाई आफ्नो जीवनकालमा लागु गर्न सकेनन्। तर, २०४७ सालदेखि २४ भदौ २०८२ सम्म उनले संगठित गरेको पार्टीले आठपटक सरकारको नेतृत्व गर्‍यो, पाँचपटक गठबन्धन सरकारमा सहभागी भयो। तर, पार्टीको आदर्श नेताको नीति र सिद्धान्त उनका उत्तराधिकारीहरूले आत्मसात् गरेनन्। कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाबाहेक गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाले सिद्धान्त र व्यवहारमा बीपीको धारणा लागु गरेनन्। यहीँबाट कांग्रेस पुरानो भयो भन्ने भाष्य तयार भएको थियो। राष्ट्रियताको नाराको विपरीत गर्दै गयो। लोकतन्त्र कांग्रेसका लागि केवल नारामा सीमित भयो। सरकारमा रहँदा जनताको लोकतन्त्रको सुनिश्चितता गर्न सकेन। पार्टीभित्र पूर्ण रूपले संस्कारका रूपमा सामन्तवाद र लोकतन्त्रको विधिमा नोकरशाही तन्त्र लागु गरियो।

बहुदलको पुन:स्थापनापछि भएको निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्यायो। बीपीले मिश्रित अर्थतन्त्र भने पनि योजना आयोगका उपाध्यक्ष रहेका रामशरण महतले उदारवादी अर्थनीति लागु गरेर खुला बजार र निजीकरणलाई बढावा दिए। यसले राज्यले अनिवार्य रूपमा दायित्व लिनुपर्ने क्षेत्रमा पनि निजीकरण गरियो। यस नीतिले कम आय भएका र सीमान्तीकृतहरूको अर्थोपार्जनमा समस्या पैदा गर्‍यो। सरकार र सत्ताधारीहरूलाई कमिसन आउन थाल्यो। यसले गर्दा सरकारमा गएका, सांसद भएकाहरूले अकुत सम्पत्ति जोड्न थाले। भ्रष्टाचार गर्ने नियत नभए पनि उनीहरूले अँगालेको अर्थनीतिले तिनलाई भ्रष्टाचारी बनायो। यसले गर्दा एउटा लोकतान्त्रिक दलमा केही नेता सम्भ्रान्त बने। एउटै पार्टीमा पनि वर्गीय खाडल गहिरिँदै गयो।

कम्युनिस्टले निजीकरण पूर्ण रूपमा अन्त्य गर्ने कुरा गर्छन्। क्षमताअनुसारको काम र कामअनुसारको मामको नारा दिने कम्युनिस्टहरूको सरकारमा बेरोजगारी बढ्दै गयो। उनीहरूले खुला रूपमै नवउदारवादी नीति अवलम्बन गरे।

सामन्तवादविरुद्ध हतियार उठाएर संघर्ष गरेको दलका नेताहरू आफैँ महासामन्त बन्दै गए। दलमा देशका ठूला व्यापारी, उद्योगपतिहरूको हैकम बढ्दै गयो। विगतमा जेलनेल र सत्ताको दमन भोगेका नेताहरू त्यही सत्ताका सञ्चालक बने। उनीहरूले राणाशासन र पञ्चायती कालरात्रि बिर्सिए, आफैँ तिनै शासकका नयाँ अवतारजस्तो बन्न पुगे। संसदीय चुनावमा पार्टीको संगठनमा दु:ख गर्नेहरू, दलको विचार आत्मसात् गर्नेहरू पन्छाइए, नेतृत्वलाई रिझाउने र पैसा बुझाउनेहरूले अवसर पाउन थाले। यसले गर्दा पुराना पार्टी र नेताहरूमा प्रधान कुरा विचार र सिद्धान्त होइन, रुपैयाँ बन्न पुग्यो। नेताका सन्तानहरूको जीवनशैली उच्चतम सुखसुविधाभोगी युवराज/युवराज्ञीको जस्तो बन्न थाल्यो।

कांग्रेसको स्थापनादेखि कोइरालाको परिवारवाद थियो। सुशील कोइरालाको निधनपछि शेरबहादुर देउवाको हैकमवादमा पार्टी चल्यो। विशेष अधिवेशनबाट पुरानै विचार र व्यवहारबाट ग्रस्त नयाँ पुस्तामा पार्टीको नेतृत्व हस्तान्तरण भएको छ।

पुष्पलाल श्रेष्ठले वर्गीय र राष्ट्रिय मुक्ति गरेर नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दुई वर्षपछि नै वैचारिक बहसमा फसेको थियो। सामन्तवाद मात्र नभएर पुँजीवादको पनि कट्टर विरोधी कम्युनिस्ट पार्टीका मुख्य नेताहरू नै राजावादी बन्न पुगेका थिए। चिनियाँ जनवादी व्यवस्था र रुसी समाजवादी व्यवस्थाको वकालत गर्ने गरी कम्युनिस्टहरू तीन खेमामा बाँडिएका थिए। पञ्चायतकालमा नै यसरी विभाजित कम्युनिस्टहरूमा स्पष्ट वैचारिक पक्षधरता भएन।

बहुदलीय व्यवस्था पुन:स्थापनापछि पहिलोपटक २०५१ सालमा नेकपा (एमाले)ले प्रधानमन्त्री पायो। कांग्रेसलाई राष्ट्रघाती भनेर नथाक्ने एमालेले महाकाली सन्धि संसद्‌बाट पारित गराउन महत्त्वपूर्ण सहयोग गर्‍यो।

कम्युनिस्टले निजीकरण पूर्ण रूपमा अन्त्य गर्ने कुरा गर्छन्। क्षमताअनुसारको काम र कामअनुसारको मामको नारा दिने कम्युनिस्टहरूको सरकारमा बेरोजगारी बढ्दै गयो। उनीहरूले खुला रूपमै नवउदारवादी नीति अवलम्बन गरे। एमालेबाट चार जना प्रधानमन्त्री भए– मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली। समग्रमा कम्युनिस्ट नामधारी पार्टीबाट सत्ता हाँक्नेहरूको हिसाब निकाल्दा पुष्पकमल दाहाल र बाबुराम भट्टराईसमेत गरी बहुदलयता ६ जना प्रधानमन्त्री भएका छन्। एमाले र माओवादीका नेता १३ वर्ष प्रधानमन्त्री बनिसकेका छन्।

१० वर्ष भीषण सशस्त्र संघर्ष गरेको तत्कालीन नेकपा (माओवादी)को वर्गसंघर्षमा प्रत्यक्ष भाग नलिएका नेताहरूमा वर्गउत्थान हुन थालेको थियो।

नेपालका कम्युनिस्टहरूले गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितताका लागि संघर्ष गर्नुपर्ने नारा दिएका थिए। यसलाई उनीहरूले वर्गीय माग भने। त्यसैगरी, देश अर्धऔपनिवेशिक भएकाले राष्ट्रिय मुक्ति संघर्ष गर्नुपर्ने भनियो। त्यसैलाई आधार मानेर २०२८ सालमा झापा विद्रोह र २०५२ सालदेखि एक दशक लामो सशस्त्र विद्रोह चल्यो। हजारौँ सहिद भए, सयौँ बेपत्ता भए। जेलनेलको त हिसाबै रहेन।

झापा विद्रोहको नेतृत्व गरेको एमाले २०४७ सालदेखि सगर्व राजतन्त्रात्मक संसदीय व्यवस्थामा प्रवेश गर्‍यो। त्यही दिनदेखि एमालेका नेताहरूको वर्ग उत्थान हुन थाल्यो। २०५१ सालमा सरकारको नेतृत्व गरेसँगै नेताका चाउरे गाला पुष्ट हुन थाले। भ्रष्टाचारका कुरा आउन थाले। गाँस, वास र कपासको मुद्दा हराएर गयो। वामपन्थी विचारले परम्परागत धार्मिक रूढिवादको विरोध गर्छ, वैज्ञानिक र वस्तुवादी दृष्टिकोणमा जोड दिन्छ। तर, पहिलो वामपन्थी शिक्षामन्त्रीले धोती र जनै लगाएर सार्वजनिक ठाउँमा पूजा गरे। साइकल चढेर हिँड्ने महासचिवका पार्टीका नेताहरूले पजेरो संस्कृतिमा डुबुल्की मारे। कुनै समय झोला नै कम्युनिस्ट पार्टीका कार्यालय हुन्थे, दलाल पुँजीवादको हालीमुहाली हुँदा पार्टी कार्यालय आलिसान दरबारको आकारमा ठडिन थाले। मुख्य सहरमा केन्द्रीय नेताहरूको भव्य महल बन्न थाले। तर, विगतमा दु:ख गरेका कार्यकर्ता डिकेन्द्र राजवंशीहरूले आत्महत्या गर्न थाले।

१० वर्ष भीषण सशस्त्र संघर्ष गरेको तत्कालीन नेकपा (माओवादी)को वर्गसंघर्षमा प्रत्यक्ष भाग नलिएका नेताहरूमा वर्गउत्थान हुन थालेको थियो। नेतृत्वको सुरक्षा र सबै चिजको केन्द्रीकरण नेतृत्वमा भन्ने नाममा महँगा सामान र विलासी जीवनशैलीको पहुँचमा नेताहरू पुगे। जब शान्ति प्रक्रिया सुरु भयो, युद्धकालमा नदेखिएका विलासिता सतहमा देखा परे। नेताहरू महँगा गाडीमा हिँड्ने, ब्रान्डेड सरसामान उपयोग गर्ने, परिवारलाई सुखसुविधामा राख्ने गैरसर्वहारा वर्गीय क्रियाकलाप छर्लंगै देखिन थाल्यो। मुख्य नेता सत्तामा नजाने, राजनेता बन्ने, गान्धी बन्ने कुरा सार्वजनिक खपतको बोली मात्र साबित भयो, व्यवहारमा यसको ठीक उल्टो भयो। नेपालको राष्ट्रियताको मुख्य जोखिम भनिएको भारतीय संस्थापन पक्षसामु लम्पसार नपरी बाँच्न नसक्ने ठाउँमा नेताहरू पुगे। यसरी उनीहरूको राष्ट्रिय मुक्ति संघर्षको पतन भयो।

कांग्रेस-कम्युनिस्टमा रहेको नयाँ अध्ययन नगर्ने, सिद्धान्तको रटान लगाउने तर व्यवहारमा ठीक उल्टो काम गर्ने शैलीले उनीहरूलाई असामयिक र असान्दर्भिक बनाएको छ।

निःशुल्क शिक्षा र स्वास्थ्यको नारा लगाउने कम्युनिस्टहरूका नेताहरूले नै निजी संस्था खोलेर सामान्य जनतालाई वञ्चित गराए वा आफूसँग भएको सम्पत्ति बेचेर प्राप्त गर्नुपर्ने बाध्यता सिर्जना गरियो। कांग्रेसले अर्थतन्त्रमा उदारीकरण भित्र्याएको थियो। कम्युनिस्टहरू सरकारमा रहँदा नवउदारवादलाई प्रश्रय दिने गरी ऐन-कानुन बनाउन अग्रसर भए। नवऔपनिवेशलाई स्विकारे। भूमण्डलीकरणका घोर विरोधी कम्युनिस्टहरू त्यसकै अनुयायी बन्न पुगे।

यी नीतिहरूका कारण कांग्रेसका नेताभन्दा छिटो र उच्चतम रूपमा कम्युनिस्ट नेताहरू वैचारिक, आर्थिक र सांस्कृतिक रूपमा भ्रष्ट बन्दै गए। उनीहरूको प्रतिवेदनमा पार्टी, संगठन सञ्चालनको विधि जनवादी केन्द्रीयता लेखिए पनि घोर नोकरशाही र सर्वसत्तावादी बन्दै गए। यसले गर्दा पार्टी संगठनको माथिल्लो तहमा पुग्न नेताको दलाली गर्ने र तलका कार्यकर्तालाई नोकरशाही तन्त्र थोपर्नुपर्ने बनावट बन्न पुग्यो। पार्टीका नेताले निर्माण गरेको सांगठनिक संरचना र व्यवहारले कार्यकर्ता दास बन्नुपर्ने या त विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भयो।

नेपालमा विगत ३५ वर्षदेखि कांग्रेस र कम्युनिस्टहरूले समाजवाद र जनवाद भजाएर २७ वटा सरकार चलाएछन्। भनाइ र लेखाइमा जे भए पनि व्यवहारमा उनीहरू नयाँ सामन्त, विकृत पुँजीवादी बन्न पुगे। खासमा सही तरिकाले देश र समाजको रूपान्तरण गर्ने हो भने कांग्रेसको सामाजिक जनवादी कार्यक्रम धेरै प्रगतिशील छ। कम्युनिस्टहरूले उठाएका गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता त झनै उत्कृष्ट छ। तर, त्यसअनुसार व्यवहारमा देखिएन।

कांग्रेस-कम्युनिस्टमा रहेको नयाँ अध्ययन नगर्ने, सिद्धान्तको रटान लगाउने तर व्यवहारमा ठीक उल्टो काम गर्ने शैलीले उनीहरूलाई असामयिक र असान्दर्भिक बनाएको छ। उनीहरूको यही सोच, नोकरशाहीपनको सांगठनिक संरचना र भ्रष्टताभित्र नवयुवा, युवा जो नेतृत्वमा पुगे पनि हुने पुरानै हो। केही समय लोकप्रियता रहला, त्यो केवल पानीको फोकामा सीमित हुनेछ।