काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

दृष्टिकोण

नेपालका कम्युनिस्ट पार्टीहरूले नयाँ पुस्तालाई आकर्षित गर्ने हो र आफ्नो अस्तित्व जोगाउने हो भने सदस्यतामा भिड बढाएर मात्र हुँदैन, विचार र आचरणको शुद्धतातर्फ फर्कनैपर्छ।

१७ जेष्ठ २०८३
अ+
अ-

गत वर्षको संसदीय निर्वाचनको परिणामपछि एक अन्तर्वार्तामा राजनीतिक विश्लेषक अरुण सुवेदीले ‘नेपालका कम्युनिस्टहरूको राजनीतिक बन्ध्याकरण भयो’ भनेका थिए। उनको तर्कमा पूर्णतया सहमत हुन नसके पनि नेपाली कम्युनिस्ट आन्दोलनबारे थप छलफल र विमर्शका लागि ढोका खोलिदिएको छ, जुन आवश्यक पनि छ।

कम्युनिस्ट पार्टीको सदस्यताबारे नै चर्चा गरौँ। अब नेपालीहरूले कम्युनिस्ट पार्टीको सदस्यता लेलान् कि नलेलान्? यही विषयको गहिराइबाट विमर्श गर्न यसको इतिहासबाट छलफल थालेको छु। नेपाल र विश्वभरि नै विशेष गरी २०औँ शताब्दीको मध्यतिर (सन् १९५० – १९९० को दशक) मानिसहरू कम्युनिस्ट पार्टीको सदस्यता लिन निकै आकर्षित हुन्थे। यसका पछाडि तत्कालीन समयको सामाजिक, आर्थिक र राजनीतिक अवस्था मुख्य कारण थिए। कम्युनिस्ट यस्तो विचारधारा थियो, जसले शोषणरहित समाज र आमूल परिवर्तनको सपना देखाएको थियो। मानिस गरिब किन हुन्छ र यसका कारण र उपायहरूका फेहरिस्त सन् १८४८ को ‘कम्युनिस्ट मेनिफेस्टो’ ले संसारलाई बताइदियो।

इतिहास हेर्दा कम्युनिस्ट पार्टीको सदस्यता धेरै जना विश्वविख्यात र प्रभावशाली व्यक्तिहरूले लिएका छन्। कैयौँ यस्ता प्रसिद्ध व्यक्तिहरू पनि छन्, जसले सदस्यता लिन खोजेका थिए वा उनीहरूको विचार कम्युनिस्ट आन्दोलनसँग निकट थियो। विश्व इतिहासमा कम्युनिस्ट पार्टीको सदस्यता लिन खोज्ने वा जोडिएका केही चर्चित व्यक्तिहरूको सन्दर्भ मननयोग्य छ।

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन खुला रूपमा समाजवादी विचार राख्थे। उनले सन् १९४९ मा  ‘समाजवाद किन?’ शीर्षकको लेख नै लेखेका थिए। उनी कम्युनिस्ट पार्टीको आधिकारिक सदस्य नभए पनि वामपन्थमा उनको झुकाव र सोभियत संघप्रतिको सहानुभूतिले गर्दा अमेरिकी गुप्तचर निकायले उनलाई ‘कम्युनिस्ट एजेन्ट’ वा पार्टीसँग जोडिएको आशंकामा वर्षौंसम्म निगरानीमा राखेको थियो।

अभिनेता तथा निर्देशक चार्ली च्याप्लिनको फिल्म मोडर्न टाइम्समा पुँजीवाद र औद्योगिक शोषणको कडा विरोध गरिएको छ। उनले अमेरिकी कम्युनिस्ट पार्टीको सदस्यता नलिए पनि उनी कम्युनिस्ट विचारधारा र पार्टीका कार्यकर्ताहरूसँग निकै नजिक थिए। यही कारणले गर्दा शीतयुद्धको समयमा अमेरिकामा उनलाई कम्युनिस्ट भएको बात लाग्यो र अन्ततः उनले अमेरिका नै छोड्नुपरेको थियो।

चित्रकार पाब्लो पिकासोले भने सन् १९४४ मा फ्रान्सेली कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। सदस्यता लिँदा उनले भनेका थिए, ‘मैले कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु मेरो जीवनको सबैभन्दा तार्किक कदम हो।’ त्यसपछि जीवनभर उनी पार्टीको सक्रिय सदस्य र समर्थक रहे।

नेपाली कम्युनिस्ट पार्टीहरूले दलको लोकतन्त्रीकरणदेखि आन्तरिक लोकतन्त्रसम्मका कुरा त गरे, तर लोकतान्त्रिक अभ्यास गर्न उनीहरूमा रुचि देखिएन। बरु पार्टीभित्र सुधारको बहस गर्ने र फरक मत राख्नेहरूलाई कारबाही गर्नेतर्फ नेतृत्व उद्यत देखियो।

प्रसिद्ध पुस्तकहरू एनिमल फार्म  (१९८४)का लेखक जर्ज अरवेल सुरुआती दिनमा समाजवाद र कम्युनिस्ट आन्दोलनप्रति धेरै आकर्षित थिए। स्पेनमा गृहयुद्ध चलिरहँदा उनी कम्युनिस्टहरूसँग मिलेर फासीवादविरुद्ध लड्न स्पेन नै पुगेका थिए। तर, पछि सोभियत संघमा स्टालिनको कार्यशैली देखेर उनी कट्टर कम्युनिस्टविरोधी बने।

नोबेल पुरस्कार विजेता अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वे पनि स्पेनी गृहयुद्धको समयमा कम्युनिस्ट र वामपन्थी मोर्चाहरूसँग गहिरो गरी जोडिएका थिए। अमेरिकी गुप्तचर निकाय एफबीआईको फाइलअनुसार उनी सोभियत गुप्तचर निकायको सम्पर्कमा समेत पुगेका थिए, र उनलाई कोड नाम नै दिइएको थियो। उनी सक्रिय राजनीतिक कार्यकर्ता भने बनेनन्।

दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेला सुरुमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसीपी)सँग निकै नजिक थिए। ऐतिहासिक दस्ताबेजहरूका अनुसार रंगभेदविरुद्धको आन्दोलनको सुरुआती चरण (१९५० र १९६० को दशक)मा उनले कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको सदस्यता समेत लिएका थिए। तर पछि उनले ‘अफ्रिकन नेसनल कंग्रेस’ को नेताका रूपमा आफ्नो पहिचान स्थापित गरे।

इतिहासको एउटा कालखण्ड (सन् १९३० देखि १९६० को दशक) यस्तो थियो, जहाँ संसारभरका बुद्धिजीवी, कलाकार, लेखक र वैज्ञानिकहरू समानता र न्यायको खोजीमा कम्युनिस्ट पार्टीको सदस्यता लिन वा त्यसको विचारसँग जोडिन उत्सुक देखिन्थे। किनभने, विगतमा कम्युनिस्ट पार्टीको सदस्यता केवल एउटा राजनीतिक दलबाट कागजको चिर्कटो पाउनु वा दलीय आबद्धता थिएन, त्यो त एउटा जीवनदर्शन, जीवनशैली र जब्बर निष्ठाको विषय थियो। कम्युनिस्ट विचारधारा जीवनमै अवलम्बन गरिन्थ्यो। तर, आज समय फेरिएको छ।

एउटा कालखण्ड थियो, जब नेपालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु भनेको समाजकै सबैभन्दा आदर्श, त्यागी र रूपान्तरणकारी नागरिक हुनुको प्रमाणपत्र पाउनु सरह हुन्थ्यो। विगतमा व्यक्तिको पृष्ठभूमि जस्तोसुकै भए पनि कम्युनिस्ट पार्टीको झन्डामुनि ओत लागेपछि उसको सोच र चिन्तनमा आमूल परिवर्तन र वर्गीय रूपान्तरणको कुरा हुनुपर्छ भन्ने मान्यता राखिन्थ्यो। सदस्यता केवल चुनावी अंकगणित बढाउने हतियार थिएन, यो त सर्वहारा वर्गप्रतिको निष्ठा र क्रान्तिकारी जीवनपद्धतिको वाचा थियो।

जनस्तरमा अझै पनि वामपन्थी चिन्तन, सामाजिक न्याय र समानताप्रतिको झुकाव र चाहना घटेको छैन। शुभेच्छुकहरू पार्टीबाट टाढिएका हुन्, कम्युनिस्ट विचारधाराबाट नटाढिएका हुन पनि सक्छन्।

त्यसबेला पार्टीको सदस्यता पाउन फलामको चिउरा चपाउनुपर्थ्यो। निश्चित मापदण्डहरू पूरा गर्नुपर्ने, वैचारिक परीक्षा उत्तीर्ण गर्नुपर्ने र व्यक्तिको दैनिक आचरण, उठबस र जीवनशैलीलाई पार्टीले सूक्ष्म रूपमा हेर्ने परिपाटी थियो। सामन्ती र बुर्जुवा  सोच बोकेका, नवधनाढ्य प्रवृत्तिका वा व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरूका लागि कम्युनिस्ट पार्टीको ढोका बन्द हुन्थ्यो। कसैले सदस्यता पाइसकेपछि पनि आफ्नो जीवनशैली कम्युनिस्ट आचरण अनुकूल ढाल्न सकेन भने उसको सदस्यता खारेज भएका अनगिन्ती उदाहरण नेपालको कम्युनिस्ट इतिहासमा सुरक्षित छन्। पार्टी एउटा स्कुल थियो, जहाँ हरेक सदस्य समाज रूपान्तरणको संवाहक बन्न प्रशिक्षित हुन्थ्यो।

यहाँनेर एउटा ठूलो वैचारिक बहसको ठाउँ छ। एकातिर पार्टी सदस्यतामा यति कडा अनुशासनको घेरा र कसी लगाइँदालगाइँदै व्यवहारमा बिस्तारै विचलन आउन थाल्यो। सिद्धान्त र व्यवहारको यही खाडलका कारण कतिपय अवस्थामा पार्टीहरू साँघुरिँदै गए, उनीहरूको जनाधार खस्किँदै गयो।

अर्कातिर, नेकपा (एमाले) जस्ता पार्टीहरूले सदस्यता वितरणमा तुलनात्मक रूपमा लचिलो नीति अवलम्बन गरे। जनवर्गीय संगठनहरूको सञ्जालमार्फत पार्टीलाई कार्यकर्तामा आधारित जनताको पार्टी बनाउने रणनीति अपनाउँदा त्यहाँ कार्यकर्ता र सदस्यहरूको विशाल भिड त जम्मा भयो, तर त्यस भिडसँगै पार्टीभित्र गैरकम्युनिस्ट आचरण र बुर्जुवा प्रवृत्तिको ठूलो बाढी पनि पस्यो।

यहाँनेर बहसका लागि विषय छ– के वैचारिक कडिकडाउले संगठन सानो बनाउँछ? अर्कातिर, नीतिगत खुकुलोपनले संगठन ठूलो बनाए पनि कम्युनिस्टको मर्म नै बाँकी नरहने गरी विचार र आन्दोलन हराउने जोखिम हुन्छ? आजको नेपाली कम्युनिस्ट राजनीति यही बाटोमा ढलमलाउँदो छ। नेपाली कम्युनिस्ट पार्टीहरूले दलको लोकतन्त्रीकरणदेखि आन्तरिक लोकतन्त्रसम्मका कुरा त गरे, तर लोकतान्त्रिक अभ्यास गर्न उनीहरूमा रुचि देखिएन। आन्तरिक लोकतन्त्रमार्फत पार्टीलाई सुधारतर्फ लैजाने गरी कदम नै चालेनन्। बरु पार्टीभित्र सुधारको बहस गर्ने र फरक मत राख्नेहरूलाई कारबाही गर्नेतर्फ नेतृत्व उद्यत देखियो।

पार्टी सदस्यता अब कुन आधारमा?

नेपाली कम्युनिस्ट आन्दोलनमा अहिलेको पेचिलो प्रश्न हो- नयाँ पुस्ताले कुन आदर्श र नैतिकता तथा कस्तो अभ्यास हेरेर केका आधारमा कम्युनिस्ट पार्टीको सदस्यता लिने?

हिजोका दिनमा सामन्तवादविरुद्धको लडाइँ र समानता, समताको सपनाले युवाहरूलाई कम्युनिस्ट बन्न प्रेरित गर्थ्यो। अवस्था र व्यवस्था परिवर्तनको भोकले लामो समय कष्टकर भूमिगत जीवनमा रहन पनि युवाहरू तयार रहन्थे। तर, प्रविधिको युगमा बाँचिरहेको आजको पुस्तालाई तत्काल परिणाम र सुशासन चाहिएको छ। जब नयाँ पुस्ताले आफूलाई कम्युनिस्ट भन्ने नेताहरूको विलासी जीवनशैली, दलाली प्रवृत्ति र भ्रष्टाचार देख्छ, तब उसमा कम्युनिस्टप्रति चरम वितृष्णा पैदा हुन्छ।

राजनीतिमा अन्तिम सत्य केही हुँदैन, सुधारको ढोका सधैँ खुला हुन्छ। सर्त यति मात्र हो, नेतृत्वमा त्यो ढोकाबाट भित्र छिर्ने आँट र इमानदारी हुनुपर्छ।

अबको पुस्ताले केवल ‘म कम्युनिस्ट हुँ’ भनेर सदस्यता लिनेवाला छैन। उसले कम्युनिस्ट पार्टी र तिनका नेताहरूलाई निम्न प्रश्न गर्दा कस्तो जवाफ आउला– ‘यो सदस्यताले मलाई जलवायु परिवर्तनको संकटसँग लड्न कसरी सिकाउँछ? यसले देशमा आर्थिक असमानता र बेरोजगारी कसरी हटाउँछ? यस पार्टीले महिला, सीमान्तीकृत र युवाहरूको वास्तविक प्रतिनिधित्व गर्छ कि पाका र स्थापित नेताहरूको स्वार्थ रक्षा मात्र गर्छ?’

कम्युनिस्ट पार्टीहरूले आफूलाई डिजिटल इकोनोमी, सामाजिक न्याय, पारदर्शी जीवनशैली र सुशासनलगायत नयाँ युगको आवश्यकता र अपेक्षाअनुसार रूपान्तरण गर्न सकेनन् भने नयाँ पुस्तामा कम्युनिस्ट सदस्यताको आकर्षण पूर्ण रूपमा समाप्त हुनेछ। पार्टीभित्रका पदीय सोपानमा झुन्डिन र कर्मकाण्डी बैठकहरूका लागि कसैले सदस्यता लिने छैनन्।

समर्थकको भविष्य

कम्युनिस्टसहित पुराना दलहरूको वैचारिक स्खलन र अवसरवादी चरित्रका कारण हिजोका कट्टर समर्थक र शुभेच्छुकहरू आज घनघोर अलमलमा र असन्तुष्ट छन्। धेरै समर्थक आज मौन छन् वा उनीहरूले नयाँ राजनीतिक विकल्पतिर आँखा लगाउन थालेका छन्। तर, के उनीहरूले अब सधैँका लागि राजनीतिक बाटो बदल्छन्?

राजनीतिमा एउटा भनाइ छ, एउटा निर्वाचनले सधैँका लागि ढोका बन्द गर्छ वा खोल्छ भन्ने निष्कर्ष निकाल्नु हतार र अपूर्ण हुन्छ। इतिहास उतारचढावपूर्ण हुन्छ। एउटा चुनावमा पराजित हुनु वा जनमत घट्नु भनेको कम्युनिस्ट आन्दोलन नै सकिनु होइन। जनस्तरमा अझै पनि वामपन्थी चिन्तन, सामाजिक न्याय र समानताप्रतिको झुकाव र चाहना घटेको छैन। शुभेच्छुकहरू पार्टीबाट टाढिएका हुन्, कम्युनिस्ट विचारधाराबाट नटाढिएका हुन पनि सक्छन्।

कम्युनिस्ट पार्टीहरूले आफ्नो गल्ती महसुस गरेर आत्मालोचना गर्दै शुद्धीकरण अभियान चलाउने हो र आचरण सुधार्ने हो भने ती शुभेच्छुक पुनः फर्कन सक्छन्। तर, पार्टीहरू केवल सत्ताको गणित र पुरानै ढर्रामा चलिरहेमा शुभेच्छुकहरूको यो मौनता स्थायी विद्रोहमा परिणत हुनेछ र उनीहरू स्थायी रूपमै बदलिनेछन्।

कम्युनिस्ट पार्टीको सदस्यता हिजो जीवनपद्धति थियो, आज चुनाव जित्ने ‘डेटाबेस’ मात्र बनेको छ। नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउने हो भने भिड बढाउने होइन, विचार र आचरणको शुद्धतातर्फ फर्कनैपर्छ। नयाँ पुस्तालाई आकर्षित गर्न हिजोको ‘कथा’ मात्र पर्याप्त छैन, आजको ‘डेलिभरी’ र भोलिको ‘प्रस्ट मार्गचित्र’ आवश्यक छ।

राजनीतिमा अन्तिम सत्य केही हुँदैन, सुधारको ढोका सधैँ खुला हुन्छ। सर्त यति मात्र हो, नेतृत्वमा त्यो ढोकाबाट भित्र छिर्ने आँट र इमानदारी हुनुपर्छ।