काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

दृष्टिकोण

वनस्पति र वनमा बस्ने जनावरलाई बेवास्ता गर्ने संरक्षण कसका लागि?

१९ जेष्ठ २०८३
मैयुङ क्षेत्रमा पर्ने हाँसपोखरी।
अ+
अ-

घुम्न रुचाउनेहरूको रोजाइ बन्दै गएको मुन्दुम पदमार्गको मैयुङ क्षेत्रमा पर्ने हाँसपोखरीमा न त पोखरी थियो, न त हाँस नै। थियो त कुनै समय निकै ठूलो पोखरी थियो भन्ने प्रमाणस्वरूपको दलदल मात्रै। पुराना मानिसहरूका अनुसार ४०/५० वर्षअघिसम्म दलदल पनि डरलाग्दो थियो। हरेक वर्ष एकदुई पशु त्यसमा फसेर मर्थे। पछि, दलदल सुक्दै गएर कुनामा सानो आहाल मात्रै बाँकी थियो।

पोखरी दुई कारणले सुक्दै गयो। एक, पोखरीमा पानी आउने खोल्साबाट सँगै बगेर आएको ढुंगामाटो थुप्रिएर। दुई, पोखरीको निकासतिरको माटो प्राकृतिक कारणले बगेर। त्यहाँ चर्ने पशुहरूले भत्काउँदा र पाहा सिकारीहरूले खोतल्दा प्राकृतिक बाँध कमजोर भएर भत्किँदै गयो। हरेक साल त्यसो हुँदा पानी जम्न नसक्ने भयो।

हाँसपोखरी समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको चरन तथा खर्क क्षेत्रमा पर्छ। त्यसआसपास दर्जनौँ गोठहरू हुन्थे, अहिले एकाध मात्र गोठ छन्; नागी क्षेत्रमा भने धेरै छन्। दलदल सुक्दै गएपछि त्यहाँ गोठालाहरूले भलिबल कोर्ट बनाए। दलदल अझ सुक्यो। थाल जस्तो भूगोल भएकाले जति हाने पनि भकुन्डो बाहिर नजाने भएकाले फुटबल मैदान बन्यो। चाडबाड र फुर्सदको समयमा आसपासका गाउँबाट बाजी थापेर फुटबल खेल्न युवाहरू हाँसपोखरी उक्लिन्थे।

आसपासका गाउँहरूमा सामुदायिक वन प्रवेश गर्‍यो। हाँसपोखरी पर्‍यो नयाँखर्क सामुदायिक वनमा। उपभोक्ताहरू भए भोजपुर जिल्ला साविकको तिम्मा गाविस वडा नं ३ सावा र २ फोङ्लाका। लोकतन्त्र बहालीपछि देशैभरि पर्यटन प्रवर्द्धनको बाढी आयो। मैयुङ क्षेत्र आफैँमा प्राकृतिक रूपमा सुन्दर, त्यसमा पनि हाँसपोखरीलाई साँच्चिकै पोखरी बनायो भने पर्यटकको रोजाइमा पर्छ र उपभोक्तालाई आम्दानी पनि हुन्छ भन्ने वन समूहको ठहर भयो।

उपभोक्ताको श्रमदान र सरकारी तथा गैरसरकारी विभिन्न दाताको सहयोगमा पोखरी क्षेत्र रेखांकन गरी निकासमा पानी अड्याउन बाँध बनाइयो, भलबाढी सिधै पोखरीमा नपसोस् भनेर कुलेसो काटियो र २० हेक्टर (करिब ४०० रोपनी) क्षेत्रमा तारको बार लगाइयो। त्यसमा पस्न टिकट काट्नुपर्ने भयो। पर्यटनमैत्री बनाउन डुंगाहरू पनि ल्याइयो। अहिले झरीबादलको मौसम र बर्खाबाहेक वर्षैभरि पर्यटक आउने क्रम छ। चिमाल फुल्ने मौसम अर्थात् नयाँ वर्ष आसपासमा निकै बाक्लो चहलपहल हुन्छ।

निषेधको संरक्षण

२०७४ वैशाखमा मैयुङ क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि प्रचार गर्ने उद्देश्यले ‘मैयुङ-हाँसपोखरी महोत्सव’ आयोजना गरिएको थियो। महोत्सवमा पुगेका भोजपुरकी प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ र स्थानीय विकास अधिकारी सीता नेपालीलाई मैयुङ क्षेत्रका गोठालाहरूले एउटा ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा थियो, ‘हाँसपोखरी बन्द गरिएकाले चौँरी, गाई र भैँसीहरूले पानी खान पाएनन्। खुलाउन पहल गरिदिनुपर्‍यो। बरु, हामी कर तिर्छौं।’ त्यसबेला स्थानीय सरकारहरू बनेका थिएनन्। गोठालाको माग सुनुवाइ भएन। त्यसपछि दुई पटक स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारहरू आइसके पनि गोठालाहरूको माग कसैले सुनेको छैन।

उहिल्यैदेखि पशुपालकहरूले मैयुङ क्षेत्र मन पराउनुको एउटा प्रमुख कारण हाँसपोखरी हो। त्यस भेगको माथि नागी क्षेत्रमा होस् कि तल जंगल क्षेत्रमा, पानीका प्राकृतिक मूलहरू प्रशस्तै छन्। तर, त्यस्ता मूल भिर, खोल्सी र झाडीमा छन्; साँघुरा र अप्ठ्यारा ठाउँमा छन्; साना पनि छन्। सुक्न लागेको पोखरी भए पनि पानीको प्रवाह ठूलो र फराकिलो भएकाले वरिपरि गाउँका चौँरी, गाई, भैँसी, भेडा, बाख्रा र घोडाहरूका लागि पानी पिउन सबैभन्दा ठूलो, खुला र सजिलो थलो थियो हाँसपोखरी। मैयुङ क्षेत्रको लगभग बीचमा पर्ने हुनाले उपयुक्त पनि थियो। मैयुङका नागी र तल जंगलखर्कतिरका घरपालुवा चौपायाहरू दिनमा एक पटक हाँसपोखरी पुगेकै हुन्थे। चारैतिरका चौपायाहरूको एकैचोटि जमघट हुँदा मध्याह्नको समयमा हाँसपोखरी खचाखच हुन्थ्यो, सहरको ट्राफिक जाम जस्तै। ६ जातिका चौपाया सयौँको संख्यामा एकैठाउँमा देखिनु कम रोमाञ्चक हुँदैनथ्यो।

हाँसपोखरी खुला होउन्जेल चितुवाको आतंक पनि कम रहेको पुराना गोठालाहरूका अनुभव छ। कारण के थियो भने, जम्मै पशुहरू हाँसपोखरी आसपासमा एक गट्ठा भएर चर्थे, खेल्थे। बथानबाट छुट्टिएर एक्लाएक्लै हिँड्नुपर्ने अवस्था आउँदैनथ्यो। तर, हाँसपोखरी बन्द गरिएपछि पशुहरू त्यसरी एक गट्ठा हुने स्थान भएन। पशुहरू छरिएर चर्न जाने हुनाले जंगली जनावरले क्षति गर्ने क्रम निकै बढेको छ। साँघुरो र भिरालो स्थानमा भएको सानो तुरतुरे पानी खान तँछाडमछाड र हानाहान गर्दा पशुहरू लडेर घाइते हुने तथा मर्ने जोखिम बढेको छ।

पहिला, कसैको कुनै चौपाया समयमा गोठ नआए वा हराए खोज्न सरासर हाँसपोखरी गए हुन्थ्यो। जिउँदै रहेको भए त्यही आसपास अवश्य भेटिन्थ्यो। अहिले कुनै पशु हराए खोज्ने मेसो पाइँदैन। किनकि, त्यस क्षेत्रमा पशुहरू निषेधित गरिएको छ। विकल्पबारे न संरक्षणकर्ताहरूले सोचे न संरक्षण गर्न आर्थिक, नैतिक र भौतिक सहयोग गर्नेहरूले नै। मानिस टिकट काटेर भित्र पस्न मिल्छ। पशु पस्यो भने पशुधनीलाई आर्थिक जरिवाना गरिन्छ, प्रतिगोटा ५०० रुपैयाँका दरले।

चिमालको दोहोलो

उच्च भूगोलमा फस्टाउने गुराँसको प्रजातिलाई चिमाल भनिन्छ। चिमालहरू आमरूपमा चिनिने गुराँसभन्दा कम राता हुन्छन्। त्यस भेगको तल्लो क्षेत्रमा खर्सु, फलाँटलगायत घाँसे रुख र विभिन्न प्रजातिका सल्ला पाइन्छन् भने माथिल्लो क्षेत्रमा विभिन्न रङ र आकारप्रकारका दर्जनौँथरी गुराँस र चिमालहरू बाक्लो मात्रामा पाइन्छन्।

२०६७ सालतिर तल फलाँटे गाउँमा पहाडे (नेपाली) कागज उद्योग खुल्यो, सामूहिक लघु उद्योगका रूपमा। मैयुङ क्षेत्रमा पहाडे कागज बनाउने बुट्यान वनस्पति सिक्रे प्राकृतिक रूपमा प्रशस्त पाइने हुनाले त्यस्ता घरेलु कागज उद्योगहरू उहिल्यैदेखि कतै कतै खुल्ने गरेका थिए। गाउँमै, त्यो पनि सामूहिक खुलेपछि सामुदायिक वनहरूमा सिक्रेको व्यवसायीकरण गर्ने पहल सुरु भयो। सही ढंग र समयमा कटान गर्ने, बिरुवा संरक्षण गर्ने, गोडमेल गर्ने र कटानका लागि हिउँदका खास दिनमा खुला गर्ने र उपभोक्ताबाहेककालाई काट्न नदिने गर्न थालियो। सिक्रे गोड्ने नाममा बर्सेनि कति चिमाल ढालिए, कुनै लेखाजोखा भएन।

तिनजुरेतिर गुराँस र चिमालको एक थुँगा टिप्नेलाई पनि जरिवाना गरिन्छ। त्यही गुराँस देखाएर पर्यटन व्यवसाय चलेको छ। मैयुङतिर भने गुराँस र चिमाल काटेर पोखरी संरक्षण गरिन्छ। गुराँस र चिमाल सोत्तर बनाएर पर्यटन महोत्सव गरिन्छ। गुराँस र चिमाल ढालेरै पर्यटन घरहरू बनाइन्छ।

हाँसपोखरीलाई बार्ने तार अड्याउने खाँबाहरू चिमालका छन्। २० हेक्टर जमिन बार्न कति वटा खाँबाहरू गाडिएका छन् र ती खाँबाका लागि कति चिमाल ढालिए, कुनै संरक्षणकर्ताले चासो दिएनन्। ती खाँबाहरू मक्किन थालेका छन्। अब फेरिने खाँबा पनि पक्कै चिमालका हुनेछन्। मैयुङ-हाँसपोखरी महोत्सवमा मञ्च, मञ्चको घेरा, सचिवालय, दोकान र स्टलहरू निर्माणका लागि पनि आयोजकहरूले चिमालबाहेक अरू काठ भेटेनन्। त्यसो त त्यस भेगमा गोठ निर्माण र गोठमा बाल्ने दाउराका लागि पनि चिमालकै प्रयोग हुन्छ।

तिनजुरेतिर गुराँस र चिमालको एक थुँगा टिप्नेलाई पनि जरिवाना गरिन्छ। त्यही गुराँस देखाएर पर्यटन व्यवसाय चलेको छ। मैयुङतिर भने गुराँस र चिमाल काटेर पोखरी संरक्षण गरिन्छ। गुराँस र चिमाल सोत्तर बनाएर पर्यटन महोत्सव गरिन्छ। गुराँस र चिमाल ढालेरै पर्यटन घरहरू बनाइन्छ। निर्माणका लागि पनि चिमाल, संरक्षणका लागि पनि चिमाल। जे गरे पनि चिमालको विनाश। चिमाललाई संरक्षणको विषय नै बनाइएको छैन।

मुलुकमा २०५० को दशकमा सामुदायिक वन गठनको बाढी नै आयो। तर, मैयुङले छोएका गाउँहरूमा धेरै पछि मात्रै सामुदायिक वन पुग्यो। यसमा तीन कारण छन्। एक, त्यस भेगका बासिन्दाहरू प्रायको आफ्नै निजी वन हुनु। दुई, सरकारी वन क्षेत्र अत्यधिक हुनु। तीन, अति दुर्गम क्षेत्रमा पर्ने भएकाले सरकारी वनमा सरकारको उपस्थिति थिएन, गाउँलेहरूलाई पैदावर उपभोग गर्न बाधा थिएन।

सामुदायिक वन भएपछि उपभोक्ताहरू वनको सामूहिक मालिक त भए, तर वन पर्खिन (कसैले नाश गर्लान् भनेर हेर्न) जाँदा समूहका पदाधिकारीहरू नै पशुपक्षीको जथाभाबी सिकार गर्ने, जडीबुटीहरू लापरवाही किसिमले सोहोर्ने, पाहा भुर्कुट पार्ने, भीर मौरी देख्नै नहुने र घोचाघारा भन्दै आफूलाई चाहिनेभन्दा धेरै बोटबिरुवा काटेर ओसार्ने काम सामान्य भयो। वनको संरक्षण भनेको त्यहाँ हुने सबैखाले बोटबिरुवा र पशुपक्षीको संरक्षण हो। तर, देशभरिकै सामुदायिक वन समूहहरूको ध्यान मानिसलाई तत्कालै प्रत्यक्ष आर्थिक फाइदा गर्ने खास खास प्रजातिका वनस्पतिलाई संरक्षण गर्ने र अरूलाई मास्नेमा छ। वन सफाइ तथा गोडमेलको नाममा अन्यखाले बोटबिरुवा मासिन्छ। सामुदायिक वनको नाममा वन क्षेत्र बढ्दै गएको छ, तर वनका जनावर, चराचुरुंगी र वनस्पतिका धेरै प्रजाति मासिँदै गएका तथ्यहरू सार्वजनिक हुने गरेका छन्। हाँसपोखरीले पुनर्जीवन पाएपछि जंगली हाँसको बथान आउन थालेको थियो। त्यहाँका तथा छिमेकी समूहका उपभोक्ता सिकारीहरूले मारेर सके, बाँचेका एकदुई पनि पोखरीमा डुंगा चलाउन थालेपछि हराए भनिन्छ।

यस्तो खाले संरक्षणले जैविक विविधता, पारिस्थितिक प्रणाली र पर्यावरण चक्र खलबलिएको छ। बाँदर आतंक र मानव–जंगली जनावर द्वन्द्वबारे संसद्‌मा चर्को आवाज उठ्दै गएको छ, यस्तो आतंक र द्वन्द्व निम्त्याउने प्रमुख कारणमध्ये एक सामुदायिक वन पनि हो। सामुदायिक वनहरूमा तत्कालै र सिधै आर्थिक फाइदा हुने वनस्पति मात्रै जोगाउँदा जंगली पशुपक्षीलाई आवश्यक वनस्पति मासिएका कारण ती पशुपक्षी मानिसप्रति आक्रमक बन्दै गएका छन्। अहिलेका संंरक्षित वनहरू हरियो वन कम, मरुभूमि ज्यादा हुन थालेका छन्। संरक्षणको वर्तमान अवधारणमै परिवर्तन जरुरी छ।

अन्त्यमा, वासु शशीको पर्खाल कवितांश–

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ
…र पर्खाल, त्यो भत्किन पनि सक्छ।