प्रतिनिधिसभा निर्वाचन
अपवादबाहेक अधिकांश स्थानमा सल्टाइयो विवाद
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाको मालु केन्द्रमा मतपत्र हराएको भन्दै विवाद हुँदा बेलुकी ४ बजेसम्म मतदान सुरु सकेन। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले बुथ कब्जा गर्न खोजेको भन्दै नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदानस्थलमा नाराजुलुस गरेका थिए। प्रहरीले हवाई फायरसमेत गरेको थियो। लामो छलफलसँगै साँझ ४ बजेपछि मतदान पुनः थालिएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए।
यस पटक मात्रै होइन, यसअघिका निर्वाचनमा पनि दोलखा निर्वाचन सुरक्षाका दृष्टिले अति संवेदनशील जिल्ला मानिन्छ।
दोलखाको गौरीशंकर गाउँपालिका-९ वेदिङ मतदान केन्द्रमा पनि मतदान हुन सकेन। पहिलेका निर्वाचनहरूमा विवाद र झगडाका कारण सहज रूपमा मत खसाल्न नदिएका कारण स्थानीयहरू मतदान गर्न नगएको बताइएको छ। वेदिङको आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी दिनभर मतदाता कुरेर बसे। त्यस केन्द्रमा १३९ जना मतदाता थिए। “तर, अहिले (५ बजेसम्म) मतदाता आइसकेका छैनन्,” सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए।
निर्वाचन आयोगले देशभरका तीन हजार ६८० मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको थियो। त्यस्तै, चार हजार ४४२ लाई संवेदनशील र दुई हजार ८४५ लाई सामान्य निर्वाचन केन्द्रका रूपमा वर्गीकरण गरिएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले बताए।
दोलखा मात्रै होइन, निर्वाचन आयोगले देशभरका तीन हजार ६८० मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको थियो। त्यस्तै, चार हजार ४४२ लाई संवेदनशील र दुई हजार ८४५ लाई सामान्य निर्वाचन केन्द्रका रूपमा वर्गीकरण गरिएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले बताए।
मधेस प्रदेशका एक हजार २४६, कोसीका ६३९, सुदूरपश्चिमका ४८१, लुम्बिनीका ४६२, कर्णालीका ३५८, बागमतीमा ३५४, गण्डकीका ३२८ र काठमाडौँ उपत्यकामा १२ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको थियो।
निर्वाचनमा संवेदनशील वर्गीकरण गरिएको स्याङ्जाको वालिङ नगरपालिका-१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयमा दुई घण्टा मतदान रोकिएको थियो। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद हुँदा दुई घण्टा मतदान रोकिएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताए। दिउँसो ३ बजे मतदान सुरु भएको र सामान्य स्थितिमा मतदान सकिएको उनले बताए।

दोलखाको मोलुमा मतदानका लागि लामबद्ध मतदाताहरू। तस्बिर : अभिनेक न्यौपानेको फेसबुकबाट
सुरक्षा दृष्टिकोणले अति संवेदनशील क्षेत्र सबैभन्दा बढी मधेस प्रदेशमा छन्। यही प्रदेशको सर्लाही ४ बलराको एक मतदान केन्द्रमा झडप भएको थियो। दल र सरोकारवालाबीच छलफलपछि शान्तिपूर्ण रूपमा मतदान भएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए। “सुरुमा बाहिरी तनाव भएको हो। समाधान भएर मतदान भएको थियो,” उनले भने, “जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइसकेको छ।” बलराकै अर्को मतदान केन्द्रमा पनि केही बेरको अवरोधपछि मतदान सुरु भएको थियो।
महोत्तरीको बर्दिबास नगरपालिका-७ मा रहेको प्रेमनगर मतदान केन्द्रमा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका थिए। त्यहाँको केन्द्रमा केही बेर मतदान अवरुद्ध भए पनि फेरि सुरु भएको थियो।
त्यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका-६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा मतदानका विषयमा विवाद भएपछि केही समय निर्वाचन रोकिएको थियो। “मतदान सकिएपछि केही समय विवाद भएको थियो। निर्वाचन आयोगका अधिकारीसँगको सल्लाहपछि कानुनअनुसार मतदान सकेर मतपेटिका पठाउँदै छौँ,” हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।
कुख्यात दोलखा
निर्वाचन आयोगका अनुसार अति संवेदनशील मानिएको दोलखामा ९५ वटा मतदान केन्द्रमध्ये ५२ वटालाई अति संवेदनशील, २८ वटालाई संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको थियो।
२०७९ सालको स्थानीय चुनावमा बैत्यश्वर र तामाकोसी गाउँपालिकामा बुथ कब्जा भएको भन्दै विवाद भएको थियो। २०७९ सालकै प्रतिनिधिसभा चुनावमा पनि बुथ कब्जा भएको भन्दै विवाद भएको थियो।
२०६४ सालमा माओवादीले एमाले कार्यकर्ता चढेको बस र गाडीलाई आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर माओवादी केन्द्रका दुई कार्यकर्ताको ज्यान गएको थियो। २०७० सालको संविधानसभा निर्वाचनमा मतदानकै दिन झडप हुँदा सुरक्षाकर्मीले अश्रुग्यास र गोली चलाएका थिए। २०७० सालमा १० वटाभन्दा बढी मतदानस्थलमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि पाँच दिनसम्म मतगणना रोकिएको थियो। चुनाव भएपछि २०७० सालमा एमालेका पार्वत गुरुङ निर्वाचित भएका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका-२ मा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि एमालेका एक कार्यकर्ताको ज्यान गएको थियो। मेलुङ गाउँपालिका-१ मा मतदान सकिएपछि धाँधली भएको दाबी गर्दै कांग्रेस कार्यकर्ताले सिल गरेको मतपेटिका फुटाएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ६ जना गोली लागेर घाइते भएका थिए।
२०७९ सालको स्थानीय चुनावमा बैत्यश्वर र तामाकोसी गाउँपालिकामा बुथ कब्जा भएको भन्दै विवाद भएको थियो। २०७९ सालकै प्रतिनिधिसभा चुनावमा पनि बुथ कब्जा भएको भन्दै विवाद भएको थियो। निर्वाचन आयोगको छानबिनपछि पुनः मतदान भएको थियो।