व्यक्तिवृत्त
उमेरले उनी ८९ वर्ष पुगिसकेकी छिन्। यो उमेरका अधिकांश नेपाली महिलाहरू मृत्युलाई कुरेर बसेका छन्। तर, उनी निमुखा महिलालाई सीपमूलक तालिम दिन कस्सिएर लागेकी छिन्।
झट्ट हेर्दा उनको जीवन डिल्लीबजार उकालोमा रहेको एउटा कपडा पसलको सटरवरिपरि घुमिरहेको देखिन्छ। बिहान खाना खाएपछि उनी मैतीदेवी चोकबाट घट्टेकुलो निस्किने बाटोमा रहेको आफ्नो घरबाट नियमित पसल धाउने गर्छिन्। करिब दुई घण्टा पसल बस्ने उनको दिनचर्या नै बनिसकेको छ। कुनै दिन पसल जान असमर्थ हुँदा छिमेकीदेखि ग्राहकसम्म उनलाई खोज्न घरै आइपुग्छन्।
इन्दिरा सापकोटा, उमेरले ८९ वर्ष काटिसकेकी छिन्। तर, उनको सक्रियता अहिले पनि उत्तिकै लोभलाग्दो छ। आफ्नो उमेरलाई काममा हाबी हुन दिएकी छैनन्। आँखाको बढ्दो पावर र घुँडाको समस्याले एक जना सहयोगी घरमा राखेकी छन्। तर, ती सहयोगी पनि नर्सिङ अध्ययनका लागि भारत जाने कुराले केही दिनयता उनको छटपटी बढेको छ।
उनका चार सन्तानमध्ये जेठा र कान्छा छोराको निधन भइसकेको छ। माइला छोरा छुट्टै बस्छन्। कान्छी छोरी बिहे गरेर अस्ट्रेलिया पुगिसकेकी छिन्। एक्लै बस्ने उनको पुरानै बानी हो। कुनै बेला उनले घर भाडामा लिएर सयौँ महिलालाई सिलाइबुनाइको तालिम दिई रोजगारीको अवसर जुटाइदिएकी थिइन्। २५० जना महिला त एकै पल्ट उनीसँग काम गर्थे। तर, अहिले अवस्था फेरिएको छ। यतिबेला उनी चार सहयोगी मात्र राखेर कपडा उत्पादन गर्ने सानो कारखानादेखि पसल सञ्चालन गरिरहेकी छन्।
यसमा पनि उनको महान्ता; पसल र कारखाना दुवैको स्वामित्व आफ्नै कामदारहरूलाई बाँडफाँड गरिसकेकी छन्। “बाबु! मरेर मान्छेले के नै लगेको छ र? मैले कम्तीमा आफ्नो सीप बाँड्ने अवसर त पाएँ,” यसै साता भेट्न जाँदा लौरो टेक्दै घरबाहिर निस्किएकी उनी भन्दै थिइन्।
उनले २०६२/६३ पछि देशभित्र काम गर्ने संस्कृति बिथोलिएको अनुभव गरेकी छन्। “युनियनको नाममा बढेको दादागिरीले सीपमूलक काम प्रभावित भएका हुन्,” उनी हाकाहाकी भन्छिन्।
पाँच दशकअघि उनले स्थापना गरेको ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ अहिले पनि डिल्लीबजारबाट घट्टेकुलो जाने बाटोमा यथावत् छ। कुनै बेला उनको संस्थाले देशभित्र मात्र होइन, विदेशमा समेत तयारी पोसाक निर्यात गर्थ्यो। पोसाक किन्न उनको पसलमा ग्राहकहरूको तँछाडमछाड चल्थ्यो। अझ, प्रसूतिगृहमा उनको छुट्टै स्टल थियो, जहाँ नवजात शिशुका लागि टोपी, फुल बाउले भोटो र सुरुवालको सेट ३०० रुपैयाँमा उपलब्ध हुन्थ्यो।
तर, अहिले सस्तो विदेशी लुगाको चापका कारण उनको मात्र होइन, नेपालका सबै गार्मेन्ट उद्योग प्रभावित छन्। सरकारी नीति स्वदेशी उत्पादनमैत्री नहुँदा विदेशी सामानको प्रभाव सबै क्षेत्रमा उत्तिकै बढेको देखिन्छ।
उनले २०६२/६३ पछि देशभित्र काम गर्ने संस्कृति बिथोलिएको अनुभव गरेकी छन्। “युनियनको नाममा बढेको दादागिरीले सीपमूलक काम प्रभावित भएका हुन्,” उनी हाकाहाकी भन्छिन्। बजारमा नेपाली तयारी पोसाकको अवस्था कमजोर भए पनि उनलाई कामको खाँचो छैन। पुराना ग्राहकहरू टाढादेखि धाएर आउँछन्। इन्दिरा दिदी भनेर घन्टौँ गफिन्छन् र अर्डर दिएर जान्छन्।
उनको सिलाइबुनाइको यात्रा फिल्मको पटकथाजत्तिकै रोचक छ। २००७ सालमा नेपालमा प्रजातन्त्रका लागि क्रान्ति भइरहेको बेला १३ वर्षको उमेरमा उनको बिहे डिल्लीबजारका भोटुराज सापकोटासँग भयो।
उनलाई पढ्ने ठूलो रहर थियो। तर, जेठी छोरी भएका कारण ९ कक्षामा अध्ययनरत रहँदा हजुरआमाको दबाबले सानै उमेरमा बिहे भयो। त्यतिबेला सानै उमेरमा बिहे गर्ने चलनै थियो। बिहे भएपछि पढ्ने मौका जुरेन। २० वर्षमा त तीन छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन्।
आफूले उच्च शिक्षा लिन नपाए पनि छोराछोरीलाई खुब पढाउने इच्छा थियो मनमा। श्रीमान् बाँसबारी छालाजुत्ता कारखानाका जागिरे, महिनाको तलब मात्र ५०० रुपैयाँ। त्यति रकमले आठ जना सदस्य रहेको घरको व्यवस्थापन गर्नुपर्ने बाध्यता। सीमित आयआर्जन भएकी इन्दिरालाई पहिले त छोराछोरीको अध्ययनको व्यवस्थापन मिलाउनै धौ धौ पर्यो। त्यसपछि उनी सानैमा स्कुलमा सिकेको सिलाइबुनाइलाई आयआर्जनको माध्यम बनाउने निर्णयमा पुगिन्।
इन्दिरा २००४ सालमा स्थापना भएको पद्मकन्या स्कुलको पहिलो ब्याचकी छात्रा हुन्। श्री ३ महाराज पद्मशमशेर राणाले ८ माघ २००४ मा स्थापना गरेको यस स्कुलमा छात्राहरूलाई सानैदेखि स्वावलम्बी बनाउन अध्ययनका साथै सियो चलाउन सिकाइन्थ्यो। त्यतिबेला स्कुलको वन्दना नै थियो :
उदाई बच्छना साथ
बन्यौ तिमी महान्।
दियौ नारी शिक्षाको ज्योति
हे पद्म! तिमी महान्।।
राणाकालमै सिकेको सियो चलाउने यही इलम उनलाई २०३२ सालमा काम लाग्यो। “श्रीमान्को तलबले छोराछोरीको अध्ययनका लागि खर्च जुटाउन गाह्रो परेपछि कपडा सिलाउन थालेँ। असनबाट १८ रुपैयाँमा किनेर ल्याएको कपडा सिलाएर बेच्दा एउटा लुगाबाट ३६ रुपैयाँ आयो। यसपछि अहो फाइदा हुने रहेछ भन्ने लाग्यो र श्रीमान्सँग सल्लाह गरेर २० माघ २०३२ देखि आफ्नै संस्था खोलेँ,” आफू सीपमूलक तालिमसँग जोडिएको घटना सुनाउँदा खुसी देखिएकी उनी भन्छिन्।
उनले तालिम दिएका केही महिला नेपाल सरकारको सचिव पदसम्म पुगेका छन्। केहीले आफ्नै काम थालेर काठमाडौँमा घर बनाइसकेका छन्। आफ्नो तालिमबाट समाजमा स्थापित महिलाहरू बाटोमा भेट्दा उनलाई आनन्द लाग्छ।
उनले त्यो संस्था आफ्नै घरको तल्लो तलामा खान-लगाउन गाह्रो परेका तीन महिला र चार विधवा महिलालाई पहिले तालिम दिएर सुरु गरेकी थिइन्। “अहिलेसम्म मैले पाँच हजारको हाराहारीमा महिलाहरूलाई तालिम उपलब्ध गराइसकेकी छु,” उनी दाबी गर्छिन्।
उनले तालिम दिएका केही महिला नेपाल सरकारको सचिव पदसम्म पुगेका छन्। केहीले आफ्नै काम थालेर काठमाडौँमा घर बनाइसकेका छन्। आफ्नो तालिमबाट समाजमा स्थापित महिलाहरू बाटोमा भेट्दा उनलाई आनन्द लाग्छ।
“मलाई अहिले पनि सम्झना छ– जिल्लाबाट काठमाडौँमा उच्च अध्ययनका लागि आएका महिलाहरूलाई कलेजको शुल्क तिर्न धौ धौ पर्थ्यो। उनीहरू काम माग्न मकहाँ आइपुग्थे। त्यतिबेला स्विटर उनेर महिनाको ९०० रुपैयाँ मजाले कमाउँथे,” उनी भन्छिन्, “अहिले बाटोमा भेट्दा आमा भन्दै कुरा गर्न आउँछन्। रमाइलो लाग्छ।”
२०४४ सालमा उनले श्रीमान् गुमाइन्। यसपछि छोराछोरीको पालनपोषणको दायित्व उनको काँधमा आयो। आफूले खोलेको यही संस्थाबाट भएको कमाइले जेठा छोरालाई अटोमोबाइल इन्जिनियर, माइलोलाई अर्थशास्त्री र कान्छो छोरालाई अनुसन्धान अधिकृत बनाइन्। छोरीले पनि एमएसको पढाइ पूरा गरिन्।
आफूले राम्ररी पढ्न नपाए पनि सबै छोराछोरीलाई उच्च शिक्षा दिलाउन सकेकोमा उनलाई गर्व छ। भन्छिन्, “जुन अभिभावकले आफ्ना बालबालिकालाई सीप र अध्ययन दिलाउन सक्छ, त्यो अभिभावकको जीवन सफल हुन्छ। यसमा म आफूलाई भाग्यमानी ठान्छु।”
काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार महिला गृहमा उनले महिला बन्दीहरूलाई १३ वर्ष सीपमूलक तालिम दिलाइन्। २०६१ सालमा उनको प्रयासले महिला गृहमा स्थगित ४ कक्षासम्मको अध्ययन पुनः सञ्चालन भयो। २०५३ सालमा कारागारभित्र महिलाहरूका लागि स्कुल सञ्चालन भएको थियो। तर, त्यो स्कुल जिल्ला शिक्षा कार्यालयको मिसिलमा लामो समय दबिएर बस्यो। शिक्षकको अभावमा सञ्चालन नभएको त्यस स्कुलको व्यवस्थापनको जिम्मा २०८० सालसम्म लिँदा कक्षा ५ सम्मको पठनपाठनको व्यवस्था मिलाइन्।
कामप्रति उनको समर्पण देखेर धेरै नेताहरूले उनलाई आईएनजीओमा आबद्ध हुन सल्लाह दिए। तर, उनले अस्वीकार गरिन्। उनी समाजसेवालाई पछिल्लो समय सबैले कुरूप बनाएको आरोप लगाउँछिन्।
कारागारभित्र रहेका महिलालाई तालिम दिन जाँदा उनीहरू भन्थे– आमा! अरूहरू आउँदा खानेकुरा र लुगा ल्याइदिन्छन्। तपाईं खालि सियो-धागो र कैँची मात्र बोकेर आउनुहुन्छ।
यतिबेला उनको प्रश्न हुन्थ्यो– एकदिन ल्याइदिएको खानेकुरा र लुगा लगाएर के गर्छौ? खाएको कुरा भोलिपल्ट मल भएर जान्छ। लुगा ६ महिनामा फाट्छ। मैले दिएको सीप फर्काउन सक्छौ?
जेलको त्यो संवाद सुनाउँदै उनी भन्छिन्, “यसपछि उनीहरू नाजवाफ हुन्थे। मैले १७ जना जेलरसँग काम गरेँ। सबै खुसी थिए। मैले उनीहरूलाई पैसा दिन सकिनँ, तर पैसा कमाउने सीप सिकाएँ।”
गोकर्णेश्वरमा बन्द अवस्थामा रहेको ग्राम सुधार आधारभूत सामुदायिक विद्यालयको व्यवस्थापन सम्हालेर पठनपाठनको व्यवस्था मिलाइन्। २०५१ सालमा स्थापना भएको त्यो स्कुल लामो समयदेखि बन्द अवस्थामा थियो। उनले आफ्नो एकल प्रयासमा त्यो स्कुल खुलाएर २० वर्ष व्यवस्थापकीय भूमिका निर्वाह गरिन्। पछि भारतीय दूतावासले स्कुलको भवन निर्माण गरिदियो। अहिले स्कुलको प्रगति देखेर दंग छिन्। “मलाई त्यो स्कुलको फेरिएको रूप देखेर सन्तोष लाग्छ,” उनी भन्छिन्।
कामप्रति उनको समर्पण देखेर धेरै नेताहरूले उनलाई आईएनजीओमा आबद्ध हुन सल्लाह दिए। तर, उनले अस्वीकार गरिन्। उनी समाजसेवालाई पछिल्लो समय सबैले कुरूप बनाएको आरोप लगाउँछिन्। उनको विचारमा समाजसेवा भनेको फुर्ती लगाउने विषय होइन। न अरूसँग पैसा उठाएर आफू महान् बन्ने विषय हो।
पछिल्लो समय नेपालीहरूमा कामप्रति बढ्दो अरुचि देखेर उनी चिन्तित देखिन्छिन्। “पहिले पहिले घट्टामा चामल पिसेर पीठो निकालेजस्तै काम सिक्नेबित्तिकै धनी बनिहाल्नुपर्ने सोच आमनेपालीमा पलाएको देख्छु। यो दुर्भाग्यपूर्ण छ। तालिम लिइसकेका व्यक्तिले पनि काम गरेर खान नसकेको देख्दा मन दुख्छ,” उनी भन्छिन्।
उनको जीवनको अन्तिम इच्छा छ– आफूले स्थापना गरेको संस्थालाई राज्यको नाममा समर्पण गर्ने। यसका लागि उनले थुप्रै सहयोगी हात पनि भेटिसकेकी छिन्। नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए एउटा भव्य सीपमूलक संस्था बनाएर राज्यलाई हस्तान्तरण गर्ने उनको योजना छ। तर, यो संयोग जुरेको छैन। “सबै नेपाली दिदीबहिनीलाई सीपमूलक तालिम दिलाउने ठूलो संस्थाको सोच बनाएको धेरै अगाडि हो। सरकारले एक टुक्रा जग्गा उपलब्ध गराए सानो उद्योग खोल्ने सपना हो। भयो भने ठीकै छ, नभए दुखमनाउ छैन,” उनी भन्छिन्।
उनले बुढ्यौलीमा पनि भविष्यको सपना देख्न छाडेकी छैनन्। भन्छिन्, “जिउ चलुन्जेल सपना देख्न छोडिन्न।” प्रतिकूल अवस्थामा पनि हार नमान्ने उनको बानीलाई सलाम!