काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

शैली

साहित्यलाई मानवीय संवेदनाको पूर्ण आकाशमा उडाउन महिला लेखनको स्वर, सुर र गतिको अनिवार्यता

७ चैत्र २०८२
प्रतिनिधि महिला लेखकहरू
अ+
अ-

बेलायती लेखक भर्जिनिया वुल्फले आफ्नो चर्चित निबन्ध ‘अ रुम अफ वान्स ओन’ (सन् १९२९) मा लेखेकी थिइन्‌– साहित्य लेख्न चाहने महिलाका लागि आफ्नो आम्दानी र आफ्नो कोठा हुनैपर्छ।

वुल्फको यो भनाइले प्रतिभा मात्र साहित्य सिर्जनाका लागि पर्याप्त नहुने कुरालाई इंगित गर्छ। लेखक भूषिता वशिष्ठ भन्छिन्, “लेखक बन्न प्रतिभा भए पनि फुर्सदिलो समय चाहिन्छ। त्यसका लागि आर्थिक स्वतन्त्रता चाहिन्छ। सबै साहित्य अतिरिक्त फुर्सदमा जन्मिन्छन्। तर, प्रश्न उठ्छ– हाम्रो समाजमा कुन लिंगको बढी फुर्सद छ?”

महिलालाई सधैँ काममा जोताउने र अदृश्य श्रमिकका रूपमा खुम्चाइने समाजमा अतिरिक्त फुर्सद पुरुषहरूलाई मात्र मिल्यो। महिलाहरू लेखक वुल्फले भनेजस्तै अवस्थामा अझै पुगिसकेका छैनन्। विभिन्न कारणले साहित्य वा लेखनमा लामो समय अनुपस्थित हुन बाध्य महिलाहरूको लेखनमा जे जति उपस्थिति रह्यो, त्यसको पनि पर्याप्त सोधखोज हुन बाँकी छ।

लेखक/प्रकाशक अर्चना थापाका अनुसार नेपालमा महिलालाई लामो समय ज्ञानबाट टाढा राखिएका कारण उनीहरूको शिक्षामा पहुँच कम भयो। “लेखनमा औपचारिक रूपमा रोक नलगाए पनि महिलाले लेख्न सक्छन् भन्ने सोच नै थिएन,” उनी भन्छिन्।

साहित्यमा पुरुषहरू महिलाभन्दा अघि त देखिए, तर उनीहरूको लेखनमा हुने महिला चित्रण समस्याग्रस्त बन्न पुग्यो।

शिक्षामा पहुँच बढ्न थालेपछि पनि महिलाप्रतिको दृष्टिकोण समस्यामूलक नै रह्यो। रूपान्तरणमा महिला पुस्तकमा अनुसन्धाता शेरा तामाङ लेख्छिन्, ‘आधुनिक पञ्चायती राज्य र अभिजात पुरुषहरूले महिलाको स्थान वैयक्तिक र पारिवारिक वृत्त (प्राइभेट स्फेयर) मात्रै हो भन्नेमा जोडबल गरेको र महिलालाई दिइने शिक्षा उनीहरूलाई असल आमा बनाउनेतर्फ उन्मुख थियो भन्ने प्रस्टै देख्न सकिन्छ।’

यही पृष्ठभूमिमा साहित्यमा पुरुषहरू महिलाभन्दा अघि त देखिए, तर उनीहरूको लेखनमा हुने महिला चित्रण समस्याग्रस्त बन्न पुग्यो।

वशिष्ठ भन्छिन्, “धेरै पुरुषहरूले लेखेका साहित्यमा महिलालाई कामोन्नत र भोग्य वस्तुका रूपमा मात्र देखाइयो। महिलाको दैनिक जीवन, श्रम, सीप र उपलब्धिलाई बेवास्ता गरियो।”

पुरुषलिखित साहित्यमा महिलालाई आदर्श आमा, दिदी, भाउजूको कर्तव्यपरायण भूमिकामा कि पुरुष आएर उद्धार गरिदिनुपर्ने पीडित भूमिकामा देखाउने दृष्टिदोष त्यसकै उपज हो।

लेखकहरूले साहित्य क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन लामै संघर्ष गर्नुपरेको विगत हामीसँग छ। त्यसैले २०४६ अघिसम्म साहित्य वा लेखनमा महिलाको सहभागिता नै ठूलो उपलब्धि मान्नुपर्ने स्थिति रहिरह्यो।

महिलाविनाको साहित्य एउटा मात्र पखेँटा भएको चराजस्तै हो, जसले उडान भर्न सक्दैन।

समीक्षक राजकुमार बानियाँ महिला आवाजविनाको साहित्यलाई अपूर्ण मान्छन्। “महिलाविनाको साहित्य एउटा मात्र पखेँटा भएको चराजस्तै हो, जसले उडान भर्न सक्दैन,” उनी भन्छन्, “साहित्यलाई मानवीय संवेदनाको पूर्ण आकाशमा उडाउन महिला लेखनको स्वर, सुर र गति अनिवार्य छ।”

२०४६ सालताकाको समाज महिलाप्रति कति पूर्वाग्रही थियो भन्ने बुझ्न कवि कुन्ता शर्माको ‘पोथी बास्नु हुँदैन’ कविताको यो अंश काफी छ–

तौलीतौली बोल्नुपर्छ
शब्दमा आदरभाव घोल्नुपर्छ
पाउमा निहुरिनुपर्छ
दासताको फूल सिउरिनुपर्छ
लक्ष्मणरेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन…

धरानवासी ८० वर्षीया कवि शर्मा चार दशक पुरानो यस कवितामा आफ्नो निजी र सामाजिक जीवनको मिश्रण रहेको बताउँछिन्।

विवाहअघि आफ्नो घरमा कुनै हिंसा नभोगेकी उनले विवाहपछि श्रीमान्‌को घरमा कुटपिट र यातना सहनुपर्‍यो। त्यसैबीच उनी बालविवाह, बहुविवाह, घरेलु हिंसा, पितृसत्ताजस्ता सामाजिक समस्याहरूसँग साक्षात्कार भइन्।

“सानोमा एउटा पोथी (कुखुरी)लाई मारिँदै गर्दा उसका चल्लाहरू छोड्न नसकेर उसकै वरिपरि घुमिरहेका थिए। पछि आफ्नो जीवन त्यही पोथीजस्तो लाग्यो। त्यही पीडा, त्यही अनुभूतिलाई पोथी बास्नु हुँदैन कवितामा व्यक्त गरेँ,” शर्मा भन्छिन्।

समाजमा महिलाहरूको आवाज पहिलेभन्दा अहिले बलियो भएको महसुस गरेकी शर्मा लेखनमा समेत उनीहरूको उपस्थिति बढेको बताउँछिन्।

२०६२/६३ को जनआन्दोलनपछि बजार र पुरस्कारको दौडमा समेत महिलाका कृतिहरू प्रतिस्पर्धी देखिएका छन्। यही अवधिबीच झमक घिमिरेको जीवन काँडा कि फूल, राधा पौडेलको खलङ्गामा हमला र नीलम कार्की निहारिकाको योगमायाले मदन पुरस्कार जित्नु यसको उदाहरण मान्न सकिन्छ।

समीक्षक बानियाँको नजरमा पनि २०४६ सालपछिको खुला परिवेशमा महिला लेखकहरू फैलिए। २०६२/६३ को जनआन्दोलनपछिको अवस्थामा यो अझै व्यापक हुँदै छ। बजार र पुरस्कारको दौडमा समेत महिलाका कृतिहरू प्रतिस्पर्धी देखिएका छन्। यही अवधिबीच झमक घिमिरेको जीवन काँडा कि फूल, राधा पौडेलको खलङ्गामा हमला र नीलम कार्की निहारिकाको योगमायाले मदन पुरस्कार जित्नु यसको उदाहरण मान्न सकिन्छ। पुस्तक चर्चा, पुस्तकको बिक्री र अन्य पुरस्कारहरूमा पनि महिला प्रभाव बढिरहेकै छ।

महिला लेखनको चर्चामा पारिजातको शिरीषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्नु ऐतिहासिक उपलब्धि मानिन्छ। २०४६ सालअघिका थुप्रै स्थापित लेखकमध्ये प्रेमा शाह, देवकुमारी थापा, माया ठकुरी, भगीरथी श्रेष्ठ, तोया गुरुङ, सुलोचना मानन्धर, भुवन ढुंगाना, कुन्ता शर्मा, बेञ्जु शर्मा, शारदा शर्मा केही प्रतिनिधि नाम हुन्।

त्यसयता महिला लेखन र समग्र साहित्यलाई हाक्ने दर्जनौँ लेखक तयार भइसकेका छन्। यसै वर्ष महिला लेखकका मात्र एक दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन्। सीमा आभासको उपन्यास महायुग, अर्चना थापाको अग्निगर्भा, उमा सुवेदीको परिधि, दीपा दाहालको विजयनी, ईन्दु थारुद्वारा अनूदित बुढनी, अनिता पन्थीको अनायोजित, अस्मिता विष्टको ब्ल्याकहोलमा गीतहरूलगायत कृति प्रकाशित भइसकेका छन्।

वशिष्ठ आफूलाई असाध्यै मन परेको भुवन ढुंगानाको उपन्यास परित्यक्ताको उदाहरण दिँदै महिलाका तगडा पुस्तकहरू आइरहेको बताउँछिन्। उनको गुनासो छ, “तर, ती किताबबारे यथेष्ट चर्चा गर्ने कुरामा हाम्रो दृष्टि पुगिरहेको छैन। राज्यले पनि महिलालाई क्यानोनाइज गरेन। यो राज्यको दृष्टिदोष हो।”

हुन पनि हो, महाकवि, जनकवि, युगकविजस्ता सबै विशेषण पुरुष लेखककै पोल्टामा पर्नु संयोग नहोला।

महिलाका लेखन कसरी फरक?

सरसर्ती हेर्‍यो भने, धेरै महिला लेखकको झुकाव महिलाकेन्द्रित लेखनतिरै देखिन्छ। सरस्वती प्रतीक्षाको नथियाँ होस् वा स्व, अमृता लम्सालको हजुरआमाको कथा होस् वा मिडिया, महिला र म

यस्तो झुकावलाई कतिपयले ‘महिलाका गन्थन’ भनेर टिप्पणी गरेको पनि सुनिन्छ। तैपनि महिलाले किन महिलाबारे नै लेख्छन् वा लेख्नुपर्छ? यो प्रश्नमा मन्थन नगरी यो विषयको बहस पूरा हुँदैन।

अर्चना थापा र आन्विका गिरी समकालीन महिला लेखन भाषा, प्रस्तुति, शिल्प, प्रयोग धेरै हिसाबले अग्रगामी छलाङ मार्ने तरखरमा पुगेको बताउँछन्।

कैलाश राई महिलाको भोगाइ, विचार र उनीहरूले परिकल्पना गरेको संसारबारे महिलाले जति प्रामाणिक रूपमा लेख्न नसक्ने बताउँछिन्। पुरुषले महिलालाई आफ्नो लेखनमा सधैँ कि महान् कि त बिचरा मात्र देखाएको उनको आरोप छ।

उनी भन्छिन्, “यी दुवै पितृसत्तात्मक दृष्टि हुन्। त्यसैले महिलाको लेखनमा जीवन्त र सन्तुलित अनुभव आउँछ।”

समीक्षक बानियाँ पनि सन्तुलनकै कुरा गर्छन्। महिला लेखनमा कोमलता र विद्रोहको सन्तुलन देख्छन् उनी।

“महिलाहरूले आफ्ना लेखनमार्फत महिनावारी, मातृत्व, घरेलु हिंसा, पितृसत्तात्मक दबाबजस्ता विषयलाई अनुभवमा आधारित भई अझ सूक्ष्म र प्रामाणिक रूपमा प्रस्तुत गरेका छन्,” उनको विश्लेषण छ।

अर्चना थापा र आन्विका गिरी समकालीन महिला लेखन भाषा, प्रस्तुति, शिल्प, प्रयोग धेरै हिसाबले अग्रगामी छलाङ मार्ने तरखरमा पुगेको बताउँछन्।

थापा महिला लेखनमा अझै दृश्य-अदृश्य श्रमशोषण, सम्पत्तिको अधिकार, आत्मसम्मान र आत्मपहिचानको संघर्षलगायत महिलालाई विभिन्न खालका विभेद भए पनि प्रस्तुतिमा परिवर्तन आएकामा सन्तोष मान्छिन्।

“पहिले महिला पीडित हुन्थे, उद्धारका लागि नायक चाहिन्थ्यो। अहिले महिला पात्र आफैँ प्रतिरोध गर्छन्, आफ्नै बलमा उभिन्छन्,” उनी भन्छिन्।

लामो समयसम्म पुरुष दृष्टिकोणबाट भनिएका कुरामाथि प्रश्न तेर्स्याउँदै इतिहास र साहित्यका कुरा लेख्नु महिला लेखनको आवश्यकताभित्र पर्ने कुरा हो।

घरायसी होऊन् वा ऐतिहासिक सन्दर्भ, नयाँ प्रयोगहरू भित्रिएको उनको दाबी छ।

आन्विका गिरी पनि हिंसा, समानता र अधिकारजस्ता विषय पुरानै लागे पनि कथ्य, प्रस्तुति र शैली फरक भएकामा थापासँग सहमत छिन्।

उमा सुवेदीको परिधिको उदाहरण दिँदै उनी भन्छिन्, “उमाजीले आफ्नो लेखनको ट्र्याक नै चेन्ज गरेर म्याजिकल रियालिज्मतिर जानुभएको छ। अन्य महिला लेखकहरूले समेत यस्तो शैलीगत प्रयोगहरूबारे सोच्न थालेको देखिन्छ।”

तथापि, कवि कुन्ता शर्मा २०४२ सालमा आफूले लेखेको ‘पोथी बास्नु हुँदैन’ को सान्दर्भिकता अझै बाँकी हुँदा दुःखी छन्। भन्छिन्, “म चाहन्छु, मेरो यो कविताको आयु सकियोस्। सान्दर्भिकता नरहोस्। तर, मपछिको पुस्ताले पनि यिनै विषयमा बोल्नु/लेख्नुपर्ने परिस्थिति विडम्बना नै हो।”

सीमा आभास सामाजिक परिवेशकै कारण महिलाहरू प्रतिरोधी लेखनमा लाग्नुपरेको बताउँछिन्। उनी भन्छिन्, “दुईतीन दशकदेखि हामी अधिकार, समानताको पक्ष र अन्यायविरुद्ध लेख्न बाध्य छौँ। किनकि, महिलाका पक्षमा कानुनहरू बनेका छन्, तर कार्यान्वयन कमजोर छ।” आन्विका थप्छिन्, “हामीलाई अझै समाजलाई झकझक्याउने खालको र्‍याडिकल लेखन चाहिएको छ।”

लामो समयसम्म पुरुष दृष्टिकोणबाट भनिएका कुरामाथि प्रश्न तेर्स्याउँदै इतिहास र साहित्यका कुरा लेख्नु महिला लेखनको आवश्यकताभित्र पर्ने कुरा हो।

भारतीय अमेरिकी लेखक चित्रा बनर्जीका उपन्यासहरूले मिथ तथा पौराणिक महाकाव्यहरूलाई महिलाको दृष्टिबाट पुनर्लेखन गरेर विशेष ख्याति कमाएका छन्। नेपाली आख्यान र गैरआख्यानमा ऐतिहासिक विषयवस्तुप्रति झुकाव बढिरहेको सन्दर्भमा नेपाली महिला लेखनले पनि यो बाटो पछ्याउने सम्भावना छँदै छ।

महिला लेखन सुरुआतदेखि नै अभियानकै एउटा रूप थियो। प्रतिकूल सामाजिक परिवेशमा एकलभन्दा सामूहिक प्रयत्नको खाँचो देखेरै होला, केही सामूहिक तथा संस्थागत प्रयत्नहरूमा महिलाहरू सचेत भए।

लेखक अर्चना थापा नारीवाद र नारीवादी चिन्तनलाई सार्वजनिक वृत्तमा ल्याउन अस्मिता प्रकाशन (२०४५)को ठूलो भूमिका देख्छिन्। गुञ्जनजस्ता नारी समूहहरूले पनि सामूहिक रूपमा कृतिहरूको प्रवर्द्धन र छलफललाई जोड दिए।

थापा स्वयंले आह्वान समूहको संयोजन गरिन्। महिला लेखकका कृतिहरूको समीक्षात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै महिला लेखकहरूलाई ‘भ्यालिडेट’ गर्ने काम गर्दै आएको छ।

यस्ता प्रयासहरूले साहित्यलाई भावनात्मक रूपमा मात्र नहेरी ज्ञान उत्पादन र प्रवर्द्धन गर्ने माध्यम माने।

थापा संस्थापक रहेको अक्षर क्रियसन्सले हालसम्म दुई दर्जन महिला लेखकका कृति प्रकाशन गरिसकेको छ। उनले आफ्नै संकलन तथा सम्पादनमा टेलिङ अ टेल, स्वअस्तित्वको खोज स्मृति कथामा सत्वजस्ता पुस्तक मार्फत महिला र अल्पसंख्यकका संस्मरणहरू बाहिर ल्याएकी छन्।

आन्विका बालसाहित्यको लेखन र प्रकाशनमा सक्रिय छिन्। लैंगिक सचेतना र संवेदनासहितका उनका पुस्तकहरूले महिला-पुरुषबीचका कतिपय भ्रम चिर्ने काम गरेका छन्। महिला र पुरुषमा मात्र केन्द्रित जेन्डर बहसमा आन्विकाका कामलाई फरक अभ्यास मान्न सकिन्छ।

करिब आठ वर्षअघि उनी नेपालयमा आबद्ध हुँदा भूषिताले पनि महिला लेखन शृंखला प्रकाशन सुरु गरेकी थिइन्। यही शृंखलामा सुधा शर्मा, भुवन ढुंगाना, दुर्गा कार्की, सरला गौतमलगायत स्रष्टाका पुस्तक प्रकाशित भए। तर, अपेक्षा गरेजति महिलाका पुस्तक प्रकाशन गर्न नसकिएको उनको भनाइ छ।

उनी भन्छिन्, “नेपालमा महिला साक्षरता दर बढे पनि साहित्य सिर्जना गर्न सक्ने जमात अझै पनि सानै रहेछ।”

लेखक सीमा आभास साहित्यमा महिला लेखकको उपस्थितिलाई निरन्तरतासँग जोडेर हेर्नुपर्नेमा जोड दिन्छिन्। विगतमा महिला सहभागिता हुँदाहुँदै थुप्रै महिलाले लेखनमा निरन्तरता दिन नसकेको उनको भनाइ छ।

सीमाका अनुसार कोरोनाकालपछि घरपरिवार सम्हालेर, बच्चा हुर्काएर एक किसिमले ‘सेटल’ भएका महिलाहरू लेखनमा फेरि फर्किएका छन्। अहिले स्थानीय तहमा खुलेका प्रज्ञा प्रतिष्ठानहरूमा यस्तै महिला लेखकहरूको उपस्थिति बाक्लो देखिन्छ। उनीहरू संस्थागत रूपमा समेत जोडिन थालेका छन्।

सीमा भन्छिन्, “उमेर समूहका हिसाबले बरु नयाँ पुस्ताका महिला लेखक जति आउनुपर्ने हो, त्यति आउन सकेका छैनन्।”

नेपालयले प्रकाशन गर्ने २५ वर्ष मुनिका लेखकहरूको रचना छनोटकर्तामध्ये एक भूषिता भन्छिन्, “जुरीमा बसेपछि जेन-जी पुस्ताका रचनाहरू पढ्ने अवसर पाएँ। तीमध्ये झन्डै आधा महिला थिए। महिला लेखनको निरन्तरतालाई पनि यसले संकेत गर्छ।”

मल्टिमिडियाको युगमा पढ्ने कथा अब हेर्ने कथा बनिरहेको अवस्था छ। आन्विका डिजिटल प्रविधिको प्रयोग बढेसँगै महिला तथा अल्पसंख्यकहरूको पहुँचको मुद्दा पनि पेचिलो बन्ने देख्छिन्।

थापा अन्तर्राष्ट्रिय स्तरमा ग्राफिक नोबेलदेखि इमोजी प्रयोग भएको समयमा नयाँ पुस्ताले फरक माध्यम रोज्न सक्ने सम्भावना देख्छिन्। उनी भन्छिन्, “नयाँ पुस्ताको सोच फरक हुन्छ, त्यसैले नयाँ लेखन पनि आउँछ भन्ने आशा छ।”