काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

बातचित

योगमायामा जनताको इतिहास छ, राजमातामा शासकको

१२ बैशाख २०८३
अ+
अ-

नेपाली भाषा, साहित्य तथा इतिहासको उन्नयनमा ओजपूर्ण मानिने मदन पुरस्कार (योगमाया, २०७४), पद्मश्री साहित्य पुरस्कार (चीरहरण, २०७२) र गंकी धुस्वां-बसुन्धरा पुरस्कार (द्रौपदी अवशेष, २०७८) बाट पुरस्कृत नीलम कार्की निहारिकाको भर्खरै राजमाता उपन्यास बजारमा आएको छ। दुई कवितासंग्रह, तीन कथासंग्रह र सात उपन्यासकी स्रष्टा निहारिकाले अमेरिकामा बसेर नेपाली भाषा-साहित्यको समृद्धिमा कलम चलाउँदै आएकी छन्। उनै निहारिकासँग नयाँ उपन्यास, समसामयिक लेखन र लेखन अनुभूतिका सम्बन्धमा नेपालन्युजका लागि ध्रुवसत्य परियारले गरेको भर्चुअल संवादको सम्पादित अंश :

भर्खरै यहाँको राजमाता उपन्यास आएको छ, यो उपन्यास लेख्ने सोच कसरी आयो? वा, यसको रचनागर्भ के हो?

कुरा योगमाया विमोचन भएको दिन (२०७४ साल) को हो। एउटा अनुष्ठान सम्पन्न गरेको दिन जस्तो हलुका महसुस भएको थियो, तर मनमा पात्रहरू उसैगरी थिए। यसरी भनूँ, म योगमायाको संसारबाट निस्किसकेकी भने थिइनँ।

विमोचनपश्चात् घर फर्किएको केही समयपछि आमाले भन्नुभयो– छोरी, अब तिमीले शासनसत्तामा योगदान दिएका त्यस्ता आमाका बारेमा पनि पढेर-बुझेर केलाएर अर्को उपन्यास लेख।

आमाले आँखाको ज्योति पूर्णतः गुमाउनुभएको केही दिन भएको थियो। म कता बसेकी छु, ठाउँतर्फ पहिल्याउन खोज्दै अगाडि भन्नुभयो– राजमाता लेख।

ममा उपन्यासको बीज रोपिदिँदै शीर्षक पनि जुराइदिनुभएको थियो आमाले। एउटा ठूलो कार्यभार पूरा गरेकै अर्थात् अनुष्ठानको सांगे गरेकै दिन अर्को अभिभारा दिनुभएको थियो आमाले।

मेरो लेखनमा आमाको निकै जिज्ञासा रहने गर्थ्यो, बेलाबेला उहाँ मलाई प्रश्नले उत्प्रेरित गरिरहनुहुन्थ्यो। यसपटक त झन् लेखनका लागि उहाँले मलाई सिंगै विषयवस्तु दिनुभएको थियो। योगमाया लेख्न मेरा गुरु यज्ञनिधिले सुझाउनुभएको थियो भन्ने आमालाई ज्ञात थियो। त्यसबारे त्यही दिन विमोचनमा पनि थप चर्चा भएको थियो। विषय दिएपछि लेख्छिन् भन्ने लागेर हुनुपर्छ, आमाले मलाई त्यसरी शीर्षकसहित विषय दिनुभएको।

त्यसै साँझ आमाले अर्को कुरा पनि भन्नुभएको थियो– अब तिमीले चीरहरण उपन्यासलाई हिन्दीमा अनुवाद गराउनुपर्छ। यी दुवै कामलाई साथसाथै लैजान म वचनबद्ध भएँ।

राजमाता लेख्न यहाँले के-कति अनुसन्धान गर्नुपर्‍यो?

दुवै कामलाई गति दिन भोलिपल्ट म रत्न पुस्तक भण्डार पुगेकी थिएँ। चीरहरण अनुवादका लागि गोविन्द श्रेष्ठ दाजुसँग भलाकुसारी गरेँ। उचित अनुवादकलाई सम्पर्क गर्ने जिम्मा दाजुले लिनुभयो अनि इतिहासका केही किताब बोकेर फर्किएँ।

योगमाया लेख्नुअघि घरमै पुगेर मैले इतिहासविद् ज्ञानमणि नेपाल सरलाई भेटेकी थिएँ। राजमाता लेख्नुअघि एक बिहान उहाँसँग टेलिफोन सम्पर्क गरेँ र आफ्नो भावी लेखनको योजना सुनाएँ। सरले मलाई अध्ययन गर्नुपर्ने केही पुस्तकका नाम सुझाउनुभयो। त्यसपछि पुस्तकालय र अन्य पुस्तक पसलमा पुगेँ। अनि प्रा. दिनेशराज पन्त सरलाई भेटेँ। उहाँको निजी पुस्तकालयबाट पनि पुस्तक प्राप्त गरेँ। दुइटा सुटकेसमा अट्ने जति पुस्तक जम्मा भएपछि म अमेरिका फर्कें र अध्ययनका लागि पलेटी कसेँ।

पढ्दै जाँदा बीचबीचमा निकै अल्झिन्थेँ। विभिन्न पुस्तकमा लेखकका मत बाझिएको पाउँथेँ र विज्ञ व्यक्तित्वसँग टेलिफोनबाट कुरा गर्थें। कहिलेकाहीँ चिन्तन गरी आफूलाई उचित लागेको बाटो रोज्थेँ, कहिले मध्यमार्गी बन्थेँ।

स्थलगत अध्ययनका निम्ति उपत्यकाका विभिन्न क्षेत्र अनि गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, सिन्धुली हुँदै नालापानीसम्म पुग्ने योजना बनाएकी थिएँ। नेपाल गएका बेला समय मिलाएर म स्थलगत अध्ययनका लागि पुग्थेँ। अध्ययनलाई नै मुख्य उद्देश्य बनाएर पनि म नेपाल पुगेँ। हरेक पटक सामग्री भेला पारेर फर्किन्थेँ, कति सामग्री बेलाबेला नेपालबाट साथीहरूले पठाइदिनुहुन्थ्यो। बीचमा कोभिड महामारीका कारण केही समय लेखनलाई थाती पनि राख्नुपर्‍यो। २०७४ सालदेखि अध्ययनमा पसेकी थिएँ, त्यो पाटो सकिएपछि माघ २०८० देखि कुनै कुराले विचलित नभएर लगालग लेखनतर्फ लागेँ।

राजमाता उपन्यासका प्रधानपात्रको मूल संघर्ष केसँग हुन्छ? यहाँको मदन पुरस्कारप्राप्त उपन्यास योगमायाकी योगमाया र राजमाताका राजमाताहरू देश, काल र परिस्थितिको कसीमा कति दूरीमा छन्?

मैले योगमाया लेख्नुअघि महाभारतमा आधारित ‘चीरहरण’ लेखेकी थिएँ। अनि जनताको इतिहास पहिल्याएर योगमाया लेखेँ। योगमाया आजभन्दा १५८ वर्षअघि जन्मनुभएको थियो। योगमाया उपन्यासमा तत्कालीन सामाजिक र राजनीतिक परिवेश छ। राजमाता उपन्यासको कथा ७०० वर्षअगाडि सुरु हुन्छ। योगमायामा जनताको इतिहास छ, राजमातामा शासकको। दुवैमा फरक कालखण्ड र फरक पृष्ठभूमि छ, नारीका संघर्षमा भने भिन्नताभित्र समानता छ। पीडाको कारण फरक होला, तर पीडाको पहाडको उचाइमा पृथक्‌ता छैन। तत्कालीन समाजले नारीलाई हेर्ने दृष्टिकोण दुवै समयमा उस्तै र दुरुस्तै पाएँ, दरबार र झुपडीका सुसेलीका कारुणिक लय एकै पाएँ, नारीको कार्यक्षमतामाथिको विश्वास-अविश्वास उस्तै र नारीले परिआएका बेला देखाएको कौशल र निभाएको अहं भूमिका पनि उस्तै।

तपाईंले आफ्ना आख्यानमा अहिलेसम्म जन्माएका वा नयाँ जीवन र जगत् दिएका पात्रमध्ये सबैभन्दा प्रिय कुन हो र किन?

यो निकै कठिन प्रश्न हो। छनोट गर्दाखेरि योगमाया मेरा निम्ति निकै प्रिय पात्र हुन्। त्यस्तै, अर्की आइमाईकी तरु, द्रौपदी अवशेषकी पेमा, चीरहरणकी द्रौपदी पनि उस्तै प्रिय पात्र हुन्। भर्खर लेखिसकेकाले पनि हुनुपर्छ राजमाताकी देवलदेवी आफ्नै वरिपरि भएजस्तो लाग्छ। एउटा मात्र छान्नुपर्ने अवस्थामा यतिबेला म राजमाताकी देवलदेवीलाई रोज्छु।

हामीले राजा जयस्थिति मल्लका बारेमा पढेका थियौँ– जयस्थितिलाई १४११ सालमा डोलाजी तुल्याएर भक्तपुर ल्याउने काम देवलदेवीले गरेकी थिइन्। उनले जयस्थितिको विवाह आफ्नी नातिनी राजल्लदेवीसँग गराइन् र जयस्थितिलाई राजपाठ सिकाइन्। राजल्लदेवीको मृत्युपछि मात्रै जयस्थिति आफ्नो नामले चिनिए, त्यसअघिसम्म उनलाई राजल्लदेवीका पति भनेर चिनिन्थ्यो।

त्यतिबेला उपत्यकामा द्वैत शासनको अभ्यास थियो। त्यस्तो बेला देवलदेवीले उपराजको गद्दीनजिक रहेर सत्ता सम्हालेकी थिइन्, यस्ती देवलदेवीबारे हामीलाई पाठमा पढाइएन, राज्यले त्यो जरुरी सम्झिएन। एउटी नारीले औपचारिक रूपमा ओहोदामा नबसीकन आफ्नो माइती राज्य नेपालमण्डललाई महत्त्वपूर्ण योगदान पुर्‍याएका थिइन्, यसलाई बिर्संदा हाम्रो इतिहास अपुरो रहन्छ।

मैले योगमाया या राजमाता लेखनका लागि अध्ययनका क्रममा के पाएँ भने, पुरुषले गरेका कामलाई सकेसम्म बढाएर बुझ्ने वा बुझाउने गरिँदो रहेछ; इतिहास र वर्तमानमा नारीले गरेका कामको श्रेय दिनु त दूरको कुरा, उच्चारण गर्नसमेत कन्जुस्याइँ भइरहेको देखिन्छ। जे भए पनि समाजमा योगदान पुर्‍याएकी योगमायाको परिचय केही हदसम्म नेपालमा स्थापित छ। अब देवलदेवीको योगदान पनि त्यसैगरी पढ्न, बुझ्न र मनन गर्न जरुरी छ। त्यसकारण म देवलदेवीलाई छान्छु।

अधिकांश पुरुष स्रष्टाले नायिकालाई रूपकी सुन्दरी नै प्रस्तुत गरेको पाइन्छ अर्थात् नारीको अंग-प्रत्यंगको वर्णन र प्रशंसा गर्छन्। यहाँको दृष्टिकोणमा कस्तो पुरुष पात्र सुन्दर हो?

त्यो नै सुन्दर पुरुष हो, जसले हरेक नारीको सम्मान गर्छ।

साहित्य लेख्दा समाज र आफन्तलाई के-कति वास्ता गर्नुहुन्छ? लेख्न बस्दा समाज वा आफन्तलाई सम्झन पुगी खुलेर लेख्न नसकेका कुनै प्रसंग छन् कि? अर्थात्, समाज र आफन्तलाई वास्ता गर्दा यहाँले चाहेको कुनै विषय लेख्न पाउनुभएको छैन कि?

वास्ता गरिन्छ, गर्नु पनि पर्छ। चाहेर पनि कलम कहिलेकाहीँ निस्फिक्री र बन्धनरहित हुन पाउँदैन। कुनै विषयमा ‘मेटाफोर’ को सहायता बढी लिनुपर्ने हुन्छ। कथाको उठान गर्दा कुनै समुदायले अपनाएको संस्कृतिमा आघात पुग्छ कि भनी सचेत हुनुपर्छ, त्यस विषयमा निकै अध्ययन गरी हरेक शब्द तौलेर लेख्नुपर्छ। जस्तो कि उपन्यास द्रौपदी अवशेषमा भिन्न संस्कृति बहुपति प्रथाको विषयभूमि थियो। त्यस विषयमा कथा बुन्न निकै गाह्रो भएको थियो।

तपाईंले आफ्नो संग्रहमा राखेको सबैभन्दा पुरानो वस्तु (पुस्तकबाहेक) कुन हो? त्यसलाई किन साँच्नुभएको छ?

मसँग पुरानो भनेको सम्झना (स्मृति) छ, त्यो पनि पुरानो हुन पाउँदैन, बोकी हिँडिरहेकी हुन्छु, बेलाबेला पत्र पत्र केलाउँछु। अर्को पुरानो वस्तु भनेको डायरी हो, जसमा लेखनका लागि आवश्यक केही बुँदा वा विषयवस्तु टिपिराखेकी छु।

बुवाको ४० वर्ष जति पुरानो ‘टेप रेकर्डर’ छ, अनि दाजुको भिडिओ क्यामेरा छ। न त्यो टेप रेकर्डर बज्छ, न अब त्यो क्यामेराले वर्तमानमा दृश्य खिच्छ, तर मैले सुरक्षित राखेकी छु यादलाई जस्तै।

तपाईंले साहित्य किन लेख्नुहुन्छ? तपाईंले नलेख्दा समाजलाई के फरक पर्छ?

सन्तुष्टिका लागि लेख्छु। लेखेपछि एक उत्तरदायित्व पूरा गरेँ भन्ने भावले मलाई अपार सन्तुष्टि दिन्छ। म जस्ता तमाम सर्जकले नलेख्ने हो भने समाजलाई अवश्य फरक पर्छ। पहिलो पुस्तक २०५१ सालमा प्रकाशित गरेँ, त्यसयता लेख्दै आएकी छु। कुनै बेला छाप्ने विशुद्ध रहरले मात्र लेख्थेँ होला, अहिलेको मेरो लेखनलाई रहर नै भन्ने हो पनि त्यो उत्तरदायित्व र जवाफदेहीसहितको रहर हो। इतिहास, कला र साहित्यविनाको समाज कल्पना गर्न सक्नुहुन्छ? सक्नुहुन्न नि! यी अति आवश्यक तत्त्व हुन् समाजका लागि। अनि कोही-कसैले यस क्षेत्रमा कलम चलाउनैपर्छ। हामी कलमधर्मीले स्वस्फूर्त कलम चलाइरहेका छौँ। सर्जकको धर्म हो सिर्जना, सर्जकले आफ्नो धर्म निभाउनुपर्छ।

यहाँका प्रायः कृतिमा ऐतिहासिक र पौराणिक पात्र आएका छन्, अब आउने कृतिको पात्रका बारेमा पनि निर्णय गरिसक्नुभएको छ कि?

अहिले मैले इतिहासका विभिन्न पुस्तक पढिरहेकी छु, प्रसंग र पात्रहरूलाई टिपोट पनि गर्दै छु। कुन पात्र र प्रसंगलाई लिएर लेख्ने भन्ने निर्णय गरिसकेकी छैन, सायद छिटै एउटा निर्णयमा पुग्छु होला।