काठमाडौँ। विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘म्युजिक फर पिस’ कार्यक्रम आयोजना गरिएको छ।
‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार आयोजित कार्यक्रममा संगीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो।
संस्थाका अध्यक्ष टीकाराम खड्काले शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई ‘युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्ने’ सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश सुनाउँदै रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले सङ्गीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमको रूपमा उद्धृत गरिन् । उनले रूस-नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको सन्दर्भमा यस कार्यक्रमलाई साझा मूल्य, सांस्कृतिक विविधता, एकता र शान्तिको प्रतीकका रूपमा लिएको उल्लेख गरिन्।
कार्यक्रममा वाद्यवादकहरू अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय तथा शान्तिप्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गरेका थिए।
यस्तै गायक तथा सङ्गीतकार सागर अधिकारी (शरद) ले ‘अहङ्कार टुटोस्’, बाल कलाकार आध्या रेग्मीले कथक नृत्य प्रस्तुत गरे।