काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

आवरण

‘सेफ करिअर’ को बाटोतिर फुटबलर

१३ बैशाख २०८३
बायाँबाट क्रमश: अञ्जन विष्ट, विशाल श्रेष्ठ, विराज महर्जन, विकेश कुथु र अनिल गुरुङ । तस्बिर : सामाजिक सञ्जाल
अ+
अ-

ललितपुरको लगनखेलस्थित बुद्धि विकास फुटबल मैदानमा हरेक बिहानैदेखि चहलपहल सुरु हुन्छ। १६ वर्षमुनिका बालबालिका कोही झोला खोल्न थाल्छन्, कोही बुट र जर्सी लगाउन।

केही आफ्नै अभ्यासमा तल्लीन हुन्छन्। कसैले पास मिलाउँछन्, कसैले प्रशिक्षकको निर्देशन ध्यानपूर्वक सुन्छन्। उनीहरूको लक्ष्य कुद्नु र दौडिनु मात्र हान्नु होइन‚ आफ्नो भविष्यको पाइला कतातिर मोडिन्छ त्यो अहिलेदेखि तय गर्नु पनि हो।

यही वातावरणलाई नजिकैबाट नियालिरहेकी हुन्थिन्, लेखिमा खिलवाल। विगतमा आफ्नै उमेरका साथीहरूसँग खेल्न त परै जाओस्, उनले फुटबल हान्नसमेत पाएकी थिइनन्।

“पहिले घरबाट पढ, पढ भन्ने गर्नुहुन्थ्यो। अहिले त आमाबाबु नै खेल, खेल भन्नुहुन्छ। उहाँहरू आफैँ खेलाउन ल्याउनुहुन्छ,” उनी भन्छिन्।

भर्खरै कक्षा चारमा अध्ययनरत ९ वर्षीया लेखिमालाई सानैदेखि फुटबलप्रति रुचि थियो। उनी नेपालकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीकी ठूलो फ्यान हुन्। भविष्यमा ‘साम्बा’ जस्तै राष्ट्रिय टोलीबाट खेल्ने उनको लक्ष्य छ। त्यसैले उनी नेपाली राष्ट्रिय पुरुष टोली ‘बी’का फरवार्ड अञ्जन विष्टको एकेडेमीले आयोजना गरेको ‘नेक्स्ट जेन बुट क्याम्प’ साढे आठ हजार रुपैयाँ तिरेर एक साता सहभागी भइन्।

एन्फा एकेडेमीमा देशभरबाट एकपटक खुला छनोट गरिन्थ्यो र त्यही छनोटमा परेका खेलाडी स्वतः राष्ट्रिय टोलीको दायरामा पुग्थे।

“मलाई पहिलेदेखि नै खेल्न मन पर्थ्यो। अवसर पाएकी थिइनँ। त्यसैले यसपटक खेल्न आएँ। मलाई सधैँ खेलिरहन मन पर्छ। पछि पनि खेल्ने हो,” उनी भन्छिन्।

पूर्वखेलाडी हरि खड्का र नीराजन रायमाझीले झैँ १३ गोल गरिसकेका अञ्जन विष्टको अझै सन्न्यास लिने उमेर भएको छैन। २७ वर्षीय यी फरवार्डले आफ्नो खेल जीवनसँगै नयाँ पुस्ता उत्पादन गर्ने उद्देश्यले २१ देखि ३० चैत २०८२ सम्म ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गरेका थिए। सोही क्याम्पमा लेखिमा पनि सहभागी हुने अवसर पाएकी हुन्।

अञ्जन विष्टको क्याम्पमा प्रशिक्षण गर्न आएका खेलाडी। तस्बिर : एबी

एन्फाले रोपेको बिउ
नेपाली फुटबल विश्लेषक सञ्जीव मिश्रका अनुसार नेपालमा फुटबल एकेडेमीको औपचारिक सुरुआत सन् १९९० को दशकको मध्य-उत्तरार्धदेखि भएको मानिन्छ। यसअघि पनि फुटबल खेलिँदै आएको भए पनि व्यवस्थित प्रशिक्षण दिने एकेडेमीको अवधारणा भने स्थापित भइसकेको थिएन।

यस्तो अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा विकासलाई प्राथमिकता दिँदै सन् १९९७ मा विभिन्न उमेर समूहका प्रशिक्षण कार्यक्रम सुरु गरेपछि एकेडेमी प्रणालीले गति लिन थाल्यो।

फिफा गोल प्रोजेक्ट आएपछि पूर्वखेलाडी राजुकाजी शाक्य, उमेश प्रधान र स्व. भीम थापा (टेक्निकल डाइरेक्टर) विभिन्न स्थानमा गएर खेलाडी खोज्न थाले। देशभरबाट ४० खेलाडी खोजेर ल्याएपछि एन्फा एकेडेमीको सुरुआत भएको थियो।

विशाल श्रेष्ठ। तस्बिर : नर्थ स्टार एकेडेमी

“पछि निजी क्षेत्र र क्लबस्तरबाट पनि विभिन्न फुटबल एकेडेमी खुल्न थाले। एन्फाले यही एकेडेमीबाट राष्ट्रिय टोलीमा उक्लिने खुड्किलोको जग हालेको थियो,” उनी भन्छन्। यही एकेडेमीका उत्पादन हुन् हेटौँडाका अञ्जन।

अञ्जनले विमल घर्तीमगर र अनन्त तामाङसँगै सन् २०११ देखि २०१४ सम्म एकेडेमीमा रहेर खेले। यही एकेडेमीले उनलाई राष्ट्रिय जर्सी लगाउने अवसर पनि जुरायो।

उनले सिनियर राष्ट्रिय टोलीबाट मात्र होइन, उमेर समूहअन्तर्गत नेपालको यू-१६, यू-२० र यू-२३ टोलीबाट पनि प्रतिनिधित्व गरेका छन्। उनले यही एकेडेमीको योगदानकै कारण स्पेनको मार्बेला एफसीको एकेडेमीमा खेल्ने अवसरसमेत पाएका थिए। त्यतिखेर फुटबलको निकै चलायमान थियो। तर, अहिले सुस्ताएको छ। सोही कारण फुटबललाई मर्न दिनुहुन्न भनेर आफैँ लागिपरेको उनी सुनाउँछन्।

“नेपाली फुटबल चुनौतीपूर्ण अवस्थामा छ। जबसम्म हामी छौँ, फुटबल पनि जीवितै रहन्छ। त्यसैले हामीले यो कार्यको थालनी गरेका हौँ‚’ उनी भन्छन्।

नेपाली फुटबलमा एक समय यस्तो अभ्यास थियो, जहाँ खेलाडीले बारम्बार आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यता थिएन। त्यसबेला एन्फा एकेडेमीमा देशभरबाट एकपटक खुला छनोट गरिन्थ्यो र त्यही छनोटमा परेका खेलाडी स्वतः राष्ट्रिय टोलीको दायरामा पुग्थे। यद्यपि, विशेष अवस्था, कमजोरी वा आवश्यकताका आधारमा घरेलु लिगबाट आफूलाई प्रमाणित गरिसकेका खेलाडीलाई पनि टोलीमा स्थान दिइन्थ्यो।

एजी टेनका मालिक अनिल गुरुङ (बायाँ)।

जनकसिंह थारू, सागर थापा, सुरेन्द्र तामाङ र राजेन्द्र तामाङजस्ता थुप्रै खेलाडी एकेडेमीमा नपरे पनि घरेलु लिगमार्फत आफूलाई प्रमाणित गर्दै उमेर समूहको राष्ट्रिय टोलीसम्म पुगेका उदाहरण हुन्। यिनैमध्ये धेरै खेलाडी पछि क्लबका विभिन्न उमेर समूहका टोलीमा सहायक प्रशिक्षक बन्दै क्रमशः प्रशिक्षकमा उक्लिने गरेका थिए।

हाल राष्ट्रिय टोली छनोट समितिमा रहेका राजुकाजी शाक्य पनि खेलाडी जीवनपछि प्रशिक्षणमा होमिएका व्यक्तित्व हुन्। उनी एन्फामा प्रशिक्षकका रूपमा रहेर राष्ट्रिय टोलीका सहायक प्रशिक्षकसमेत बनिसकेका छन्। त्यस्तै, जनक, सागर र सुरेन्द्रजस्ता खेलाडीले यो बाटोलाई निरन्तरता दिन सकेनन्। तर, राजेन्द्रले भने मनाङ मर्स्याङ्दी र एपीएफ क्लब सम्हाल्दै महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बन्ने अवसर पाए। उनको नेतृत्वमा नेपाली टोली वाफ च्याम्पियनसिप, त्रिदेशीय कप र साफ च्याम्पियनसिपका फाइनलसम्म पुगेको थियो। हाल उनी पुनः एपीएफमै आबद्ध छन्।

नेपालमा सक्रिय खेलजीवनपछि खेलाडीहरूले फुटबलमै निरन्तरता दिने वातावरण कमजोर बन्दै गएको यथार्थ पछिल्ला वर्षहरूमा अझ स्पष्ट देखिन थालेको छ। विशेषतः कोरोना महामारीपछि धेरै चर्चित खेलाडीहरू वैदेशिक रोजगारीतर्फ लागेका घटनाले नेपाली फुटबलको संरचनागत नै कमजोर रहेको देखाउँछ। अञ्जन र अनन्तजस्ता सीमित खेलाडी मैदानमा सक्रिय रहँदा विमल घर्तीमगर, सुजल श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी खेलाडी विदेश पलायन हुनु यस समस्याको प्रतिनिधि उदाहरण हुन्।

यही परिस्थितिमा केही पूर्वखेलाडीहरू भने फुटबललाई जोगाउने र नयाँ पुस्ता उत्पादन गर्ने प्रयासमा सक्रिय छन्। तीमध्ये एक हुन् पूर्वकप्तान अनिल गुरुङ। सहारा फुटबल एकेडेमीबाट आफ्नो खेल जीवन सुरु गरेका गुरुङले सन् २०२४ मा आफ्नै पहलमा एजी टेन फुटबल एकेडेमी स्थापना गरेका हुन्।

सुरुआतमा ८-१० बालबालिकाबाट सुरु भएको एकेडेमी अहिले डेढ सयभन्दा बढी खेलाडीको केन्द्र बनेको छ। यो वृद्धि संख्यात्मक उपलब्धि मात्र नभई नेपाली फुटबलको भविष्यप्रतिको सम्भावनाको संकेत पनि हो। गुरुङका अनुसार खेल जीवनबाट सन्न्यासपछि धेरै खेलाडी अब के गर्ने? भन्ने अन्योलमा पर्छन्। त्यही शून्यतालाई सम्बोधन गर्ने उद्देश्यले उनले एकेडेमीको अवधारणा अघि सारेका थिए, जसको प्रारम्भ लगनखेलबाट गरिएको थियो।

अहिलेको नेपाली फुटबल विकासमा संरचनागत असन्तुलन स्पष्ट देखिन्छ। एकातर्फ एन्फाजस्तो औपचारिक संरचना भए पनि अर्कोतर्फ निजी एकेडेमीहरूको संख्या बढिरहेको छ। तीमध्ये धेरैजसो फुटसलमा केन्द्रित छन्। खुला मैदानमा आधारित दीर्घकालीन खेलाडी विकास प्रणाली भने कमजोर छ। यसले पछिल्लो समयमा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ।

च्यासलमा प्रशिक्षण गर्न आएका एजी टेनका खेलाडीहरू। तस्बिर : एजी टेन

“कुनै बेला दक्षिण एसियामै बलियो रहेको नेपालको उमेर समूह अहिले कमजोर छ। साफ जित्न पनि सकेको छैन। अर्कोतर्फ एन्फाको एकेडेमी पहिलाजस्तो छैन। यस्तोमा यस्ता एकेडेमीहरूले रोल प्ले गर्न सक्छ‚” उनी भन्छन्।

एजी टेन फुटबल एकेडेमीले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता हासिल गरिसकेको छ। गत वर्ष डेनमार्कमा आयोजित यू-१४ डाना कपमा यस एकेडेमीको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो। फाइनलमा केन्याको टोलीलाई ३-० ले पराजित गर्नुलाई एकेडेमीको अर्को सफलता मान्न सकिन्छ। यस एकेडेमीमा खेलाडीहरूको अत्यधिक चाप छ। काठमाडौंमा धेरै एकेडेमी भए पनि पर्याप्त मैदान अभावका कारण प्रशिक्षण व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। त्यसैले भर्ना प्रक्रियामा सीमित सिट मात्र राख्नुपरेको छ। यही कारण शनिबार र आइतबार ललितपुरस्थित च्यासल मैदानमा अभ्यास गरिने गरेको प्रशिक्षक समीर विष्ट बताउँछन्।

खेलाडीलाई रणनीतिक जानकारी दिँदै एजी टेनका प्रशिक्षक समीर विष्ट।

“अहिले हामी ६ जना प्रशिक्षक छौँ। भविष्यमा यसलाई क्लबकै रूपमा विकास गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने लक्ष्य छ,” उनी भन्छन्।

अनिल सक्रिय खेल जीवनपछि एकेडेमीमा केन्द्रित भए पनि गोलकिपर विशाल श्रेष्ठले भने खेल्दै-खेलाउँदै एकेडेमी सञ्चालन गरिरहेका छन्। करिब १० वर्षसम्म नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई उछिन्न नसकेपछि उनले अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास लिएका थिए। हाल उनी मच्छिन्द्र फुटबल क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका छन्।

लामो समय बेन्चमा बस्दा नयाँ खेलाडीको विकासमा अवरोध भएको अनुभव गरेका विशाल अहिले आफैँ नयाँ प्रतिभा उत्पादनमा लागेका छन्। उनले काठमाडौँको बूढानीलकण्ठमा नर्थ स्टार फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन्।

नर्थ स्टार एकेडेमीमा प्रशिक्षण लिँदै महिला खेलाडी। तस्बिर : नर्थ स्टार एकेडेमी

विशाल व्यस्त खेलाडीका रूपमा परिचित छन्। तीन वर्षभन्दा बढी ‘ए’ डिभिजन लिग नभए पनि उनी मोफसलका प्रतियोगितामा सक्रिय छन्। साथै फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) मा पनि सहभागी हुन्छन्। प्रतिसिजन करिब डेढदेखि दुई लाखसम्म पारिश्रमिक पाउने भए पनि दीर्घकालीन सुरक्षाका लागि उनले एकेडेमीलाई ‘साइड करिअर’का रूपमा अघि बढाएका छन्। उनको एकेडेमीमा पनि अनिलको जस्तै आकर्षण देखिन्छ।

“हामीले फुटबलबाट जे पायौँ, त्यही एकेडेमीमार्फत फर्काइरहेका छौँ। आर्थिक पक्ष दोस्रो हो, तर सिकेका कुराहरू नयाँ पुस्तामा प्लेब्याक हुनुपर्छ,” उनी भन्छन्। यही सोचका कारण अहिले धेरै युवा खेलाडीहरू एकेडेमीतर्फ आकर्षित भइरहेका छन्।

अञ्जन विष्ट, अनिल गुरुङ र विशाल श्रेष्ठजस्ता खेलाडीहरूले एकेडेमी स्थापना गरे पनि प्रायः पूर्ण रूपमा प्रशिक्षणमा केन्द्रित भने छैनन्। उनीहरूले अन्य प्रशिक्षकहरू नियुक्त गरेर आफ्नो खेल करिअरलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्। त्यसैले अर्कोतर्फ रोजगारी पनि सिर्जना भइरहेको छ। यस्तोमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथू भने अपवाद हुन्। यी दुईले भने ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा आफैँले प्रशिक्षण दिँदै आएका छन्।

खेलाडीलाई प्रशिक्षण दिँदै विराज महर्जन।

विराजले सन्न्यास लिए पनि विकेश कुथू भने विशाल श्रेष्ठझैँ घरेलु फुटबलमा सक्रिय छन्। विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित विकेश नेपाल सुपर लिग (एनएसएल) मा पनि खेल्छन्। बाहिरी क्लबका खेलाडीहरूजस्तो करिअरको अस्थिरता नभए पनि विकेशले आफ्ना समकालीन खेलाडीहरूझैं एकेडेमीलाई नै दीर्घकालीन पेसाका रूपमा अघि बढाएका छन्।

काठमाडौँकेन्द्रित धेरै एकेडेमी भए पनि प्रतियोगिताको अवस्था भने शून्यजस्तै छ।

यी दुईले गत साता एनएसएफ मैदान, भेल्पामा समर फुटबल क्याम्प सञ्चालन गरेका थिए, जहाँ उनीहरू नै मुख्य प्रशिक्षकको भूमिकामा देखिए। १२ दिने प्रशिक्षणमा प्रति खेलाडी पाँच हजार शुल्क लिइएको थियो। यसमा ६० जना सहभागी भएका थिए।

त्यस्तै उनीहरूले हरेक शनिबार नियमित प्रशिक्षणसमेत सञ्चालन गरिरहेका छन्। यसको शुल्क तुलनात्मक सस्तो मान्छन्। पहिलो महिनामा प्रशिक्षण गर्न जानेले सात हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। दोस्रो महिनादेखि नै जम्मा २५ सय रुपैयाँ तिरे पुग्छ। “यो ग्रासरुट स्तरको पहल हो। राम्रो खेल्दै गए भविष्यमा राष्ट्रलाई प्रतिनिधित्व गर्ने खेलाडी जन्मिन सक्छन् भन्ने विश्वास छ। त्यसो नभए पनि अनुशासन सिकाउने हाम्रो मुख्य उद्देश्य हो,” उनीहरू बताउँछन्। प्रशिक्षण गरिरहेको एकेडेमीलाई सुरुआत गर्न यी दुई खेलाडीले आफ्नै गोजीको पैसा हाले। अहिले देश-विदेशबाट समेत आर्थिक सहयोग प्राप्त हुन थालेको छ।

टुभेल फुटबल एकेडेमीमा प्रशिक्षण लिइरहेका खेलाडी। तस्बिर : एकेडेमीको फेसबुक पेज

छैन प्रतियोगिता
अञ्जन, विमल र अनन्त खेलिरहेको समय उमेर समूहको नेपाली टोली निकै बलियो मानिन्थ्यो। उनीहरूकै पालामा नेपालले सन् २०१५ मा आफ्नै घरेलु मैदानमा सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसको अर्को वर्ष यू-१८ नाममा भुटानमा आयोजना भएको सोही प्रतियोगितामा पनि नेपालले उपाधि रक्षा गर्न सफल भयो।

त्यसपछि भने प्रदर्शन खस्कँदै गएको देखिन्छ। सन् २०२४ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यू-२० च्याम्पियनसिपमा फाइनल पुगेको उपलब्धिलाई अपवाद मान्ने हो भने पछिल्ला पाँच संस्करणमा नेपाल दक्षिण एसियाकै तुलनात्मक रूपमा कमजोर बन्दै गएको छ। सेमिफाइनलभन्दा माथि उक्लिन नसक्नु यसको अर्को प्रमाण हो। अझ कुनै समय कमजोर मानिएको भुटानले समेत पछिल्ला वर्षहरूमा नेपाललाई चुनौती दिन थालेको छ।

यस्तो अवस्थामा एन्फाले अनिल, विशाल, अञ्जन, विराज र विकेशजस्ता खेलाडीहरूले सञ्चालन गरिरहेका एकेडेमीलाई पर्याप्त ‘प्लेटफर्म’ दिन सकेको देखिँदैन।

एकेडेमीका खेलाडीसँग प्रशिक्षक विकेश कुथु र महिला टोलीकी गोलकिपर अञ्जना रानामगर। तस्बिर : टुभेल फुटबल एकेडेमी

काठमाडौँकेन्द्रित यति धेरै एकेडेमी भए पनि प्रतियोगिताको अवस्था भने शून्यजस्तै छ। भएका प्रतियोगिता पनि प्रायः सिनियर स्तरमा सीमित छन्। यद्यपि, एन्फाले पछिल्लो समय पुरुषतर्फ यू-१६ र यू-१८ लिग सञ्चालन गरिरहेको छ। ती लिगमा ‘ए’ डिभिजनका १४ क्लबले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ। त्यसैले यस्ता प्रतियोगितामा छिर्न चोरबाटो अपनाउन परिहरेको छ। त्यसको पछिल्लो उदाहरण हो, सिन्धुपाल्चोक एफसी।

भर्खरै ‘सी’ डिभिजनमा उक्लिएको यो क्लबले २०२४ मा एन्फा यू-१६ र यू-१८ लिग एफसी खुमलटारको नामबाट खेलेको थियो। खुमलटारको आफ्नै एकेडेमी नहुँदा सोही क्लबका सहायक प्रशिक्षकसमेत रहेका महेश श्रेष्ठको पहलमा यो क्लबले दुई लिग खेल्न पायो। अधिकांश सिन्धुपाल्चोकका खेलाडी लिएर मैदान उत्रिएको टोलीले खासै छाप छाड्न नपाए पनि एलिक श्रेष्ठजस्तो उमेर समूहको राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्ने खेलाडी जन्मायो। उनले साफ यू-१७ र यू-२० च्याम्पियन खेले। अहिले उनी विशालसँगै मच्छिन्द्रको फ्रन्ट लाइनमा खेलिहरेका छन्। गत वर्ष भने खुमलटारले सिन्धुपाल्चोकबाट नाम खोसेर काठमाडौँ किकर्सलाई दिँदा लिग खेल्न वञ्चित भयो। एन्फाको यस्तो नीतिले गर्दा बाहिरी एकेडेमी र साना क्लबका खेलाडीलाई अवसरबाट वञ्चित गरिरहेको ओसन क्लबका अध्यक्ष अमित खत्री बताउँछन्।

प्रशिक्षणपछि खेलाडीहरूसँग फोटो खिचाउँदै अञ्जन। तस्बिर : एबी

“सिनियर स्तरमा त मोफसलमा भए पनि प्रतियोगिता छन्, तर जुनियरका लागि भने निकै कम छ। एन्फाले पनि यसलाई बुझेर उमेर समूहका प्रतियोगिता गर्दिए राम्रो हुन्थ्यो। बुझ्ने मान्छे खोइ, त्यसैले हामीले नै सबै हेरिरहेका छौँ,” उनी भन्छन्। उनको क्लब ओसनले हरेक वर्ष ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता गराइरहेको छ। त्यसमा पनि मोफसलमा हुने एक-दुई प्रतियोगितामा लैजान अभिभावकले नमान्ने भएको कारण सबै एकेडेमीका खेलाडीले ‘म्याच एक्सपोजर’ पाउन नसकेको एन्फामा समेत काम गरिसकेका गोरखा जिल्लाका निलम्बित सदस्य अमित तर्क गर्छन्।

हुन त उनी आफ्नो क्लबमार्फत एकेडेमी सञ्चालन गरिरहेका छन्। निजी पहल भएकाले बाह्य सहयोग जुटाउन कठिन हुने हुँदा उनीहरूले आयोजना गर्ने प्रतियोगितामा सीमित टोलीलाई मात्र सहभागी हुन पाउँछन्। यस्तो अवस्था देख्दा खेल्दै फुटबलमा केही योगदान दियौँ भन्ने फुटबलरलाई हतोत्साही गरेको उनी तर्क गर्छन्। उनी प्रश्न गर्छन्, “कम्तीमा लगानी गरेका खेलाडीलाई पनि उचित स्थान दिए त बाहिरिन नपर्ने थियो होला नि?”