टिप्पणी
प्रकृतिलाई पूजा गर्ने किरातहरूले पछिल्लो समय पहिचान संरक्षणको नाममा मूर्ति निर्माण र स्थापनाको अभियान नै चलाइरहेका छन्, यस्तो विरोधाभासमा द्रव्यमोह प्रमुख कारण देखिन्छ।
तीन प्रसंगबाट यो लेखको उठान गर्नु सान्दर्भिक हुन्छ।
पहिलो, पूर्वमाओवादी नेता, पूर्वपर्यटनमन्त्री सुदन किराती गत २५ वैशाखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि चार वर्षअघिको भोजपुरको ‘मूर्तिकाण्ड’ का क्लिपहरू सामाजिक सञ्जालमा फेरि देखा परेका छन्। संघीय सरकारको बजेटबाट निर्माण गरिएका सुम्निमा-पारुहाङको मूर्ति मैयुङको हाँसपोखरीमा तोडफोड गरिएको अवस्थामा छ भने यलम्बरको मूर्ति टेम्केमैयुङ गाउँपालिका-१, सावामा शिक्षक प्रेम साम्पाङको घुर्यानमा राखिएको छ। २०७९ सालको स्थानीय, प्रदेश र संघीय तीनवटै तहको निर्वाचनमा सुम्निमा-पारुहाङ र यलम्बरको मूर्तिमा भ्रष्टाचार भएकोबारे दल र नेताहरू आरोप-प्रत्यारोपमा उत्रिएका थिए। सबैभन्दा चर्को भाषण गर्नेहरूमा तत्कालीन सांसद किराती र टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राई थिए। राई एमालेमा र किराती नेकपा (माओवादी केन्द्र)मा थिए। अहिले दुवै एउटै दल श्रम संस्कृति पार्टीमा आइपुगेका छन्।
दोस्रो, खोटाङको बुइपास्थित उद्यानमा अवस्थित यलम्बरको मूर्ति संसारकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ। कोसी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत बजेटमा ३० रोपनी जमिनमा फैलिएको पार्कमा निर्माण भएको १२० फिट अग्लो मूर्तिलाई ‘माझकिरातको सान’ भनिएको छ। तर, मूर्ति उद्घाटन गर्ने बेला मूर्ति निर्माणका अगुवाहरू नै दुई खेमामा विभाजित भएर झडपकै अवस्था सिर्जना भयो। त्यसपछि जिल्ला प्रशासन कार्यालय, खोटाङले गत १७ वैशाखमा उद्घाटन कार्यक्रम स्थगन गर्न पत्र काटेसँगै औपचारिक उद्घाटन रोकिएको छ।
तेस्रो, स्वतन्त्र अभियन्ताको पहिचानबाट धरान उपमहानगरको मेयरमा निर्वाचित भएपछि हर्क साम्पाङले सुम्निमा-पारुहाङको विशाल मूर्ति बनाउने घोषणा गरेर चन्दा अभियान थाले। धरान-२० को चिन्डेडाँडामा निर्माण हुने भनिएको मूर्ति बनाउने घोषणा गरेकै दिनदेखि देश-विदेशबाट चन्दाको ओइरो लाग्यो, सहयोग आउने क्रम अझै जारी छ। मूर्तिस्थल शिलान्यास पनि भइसकेको छ। किरातीहरूको आस्थास्थल भोजपुरको साल्पापोखरीको पानी र सिलिचुङको ढुंगा साम्पाङ आफैँले ल्याई मूर्तिस्थलमा राखेर शिलान्यास गरे। साम्पाङ श्रम संस्कृति पार्टी खोलेर संघीय सांसद पनि भइसकेका छन्। मूर्तिको काममा पनि लागिरहेकै छन्।

धरानको साकेला पार्कमा सुम्निमा-पारुहाङको मूर्ति। तस्बिर स्रोत : सामाजिक सञ्जाल
यी तीनवटै प्रसंगका अवधारणाकार, योजनाकार, अभियन्ता र हरहिसाबले ती मूर्तिसँग जोडिएका पात्रहरू किरात राई समुदायका छन्। किरात समुदाय आफूलाई प्रकृतिपूजक मान्छ र प्रकृतिलाई प्रकृतिकै रूपमा पुज्छ। खोलालाई कतिले भगवान्को नामबाट पुज्छन् भने किरातहरू खोलालाई खोलाकै रूपमा पुज्छन्। उनीहरूका अनुसार खोला पानीको प्रवाह हो र आफैँ शाश्वत, सत्य र शक्ति हो; आगो, ढुंगा, पानी (खोला, पोखरी), आकाश, हावालाई त्यही रूपमा पुज्ने हो। त्यसैले किरातहरूको परम्परागत पूजास्थलमा कुनै पनि मूर्ति हुँदैन। तर, गणतन्त्र स्थापनापछि किरात समुदायको पनि अलि बढी राई समुदायमा मूर्तिमोह निकै बढेको छ। किरात राई विश्वास, संस्कार र संस्कृतिसम्बन्धी पात्रहरू र सामग्रीहरूको मूर्ति बन्ने क्रम तीव्र छ। जसमा किरात मुन्दुमी पात्र सुम्निमा-पारुहाङ र राजनीतिक पात्र यलम्बरको मूर्ति सबैभन्दा धेरै बनेका छन्। त्यस्तै, रैछाकुले, माखी कुकुर, चिन्डो, ढोल, झ्याम्टा, सिलाम साक्मा, तीनचुला र हतियारहरूका मूर्ति छन्।
वर्षमा दुई पटक उँभौली र उँधौलीमा पुजिने साखेवा/साकेला थानमा एउटा चुच्चे ढुंगा ठड्याइएको मात्रै हुन्थ्यो। साखेवा थानलाई बेरबार गरेर बाहिरी संसारबाट अलग गर्नु पनि हुँदैन भन्ने शास्त्रीय मुन्दुमी मान्यता छ। तर, अहिले हरेकजसो साखेवा थानमा मूर्ति राख्ने क्रम तीव्र भएको छ।
भावनाभन्दा माथि मूर्ति
छिटपुटबाहेक समग्र किरात समुदायमा मृतकलाई जमिनमुनि गाड्ने परम्परा छ। मृतकलाई गाडेपछि चिनोका रूपमा ढुंगामाटोको सानो ढिस्को निकाल्ने वा सानो संरचना बनाउने पुरानै चलन हो। त्यसलाई चिहान र एउटै क्षेत्रमा धेरै वटा चिहान भएको स्थानलाई बोलीचालीको भाषामा चिहानघारी भनिन्छ। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४, बुइपा पन्चरदोबाटोको पाखामा बुइपाका किरात राईका पुर्खा र आफन्तका तीन हजार ६०० चिहान थिए। चिहानडाँडामा सहरबाट विकास आयो। विकासले मूर्ति ल्यायो। कसैले मूर्तिलाई नै विकास भने।
इतिहास भन्छ– काठमाडौँ उपत्यकामा शासन गर्ने पहिलो राजा यलम्बर किरात हुन्। अहिलेका किरातहरूले उनलाई आफ्नो पुर्खा माने। यद्यपि, अहिलेका किरात भनिने राई, लिम्बू, याक्खा, सुनुवार, धिमाल, हायुहरूसँग यलम्बरको कुनै सम्बन्ध नरहेको दाबीहरू पनि आइरहेका छन्। यलम्बर अहिलेका किरातको पुर्खा भनेपछि राईको पनि पुर्खा भइहाल्यो भन्नेहरू पनि छन्। राईको पुर्खा बुइपाका राईको पुर्खा नहुने कुरै भएन। यलम्बर सानोतिनो पुर्खा होइनन्, पाँच हजार वर्षअघिका राजा हुन्। आफ्नो पुर्खा राजाको मूर्ति आफ्नै ठाउँमा राख्ने कुरा त्यहाँका अगुवाहरूले ल्याए। सबैले माने। सरकारले पनि पत्यायो। पैसा दियो। तर, त्यत्रो अजंगको मूर्ति कसैको कोठेबारीमा राख्न भएन। पहाडका चोकहरू तराईका जस्ता फराकिला पनि हुँदैनन्। साँघुरो चोकमा अट्दैन। ठाउँ खोज्दै जाँदा त्यही चिहानधारी फेला पर्यो, जुन ठाउँलाई सयौँ वर्षदेखि त्यहाँका बासिन्दाका पूर्वज र आफन्तले मृत्युपछिको वास बनाएर बचाएका थिए।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाको पार्कमा रहेको यलम्बरको भव्य प्रतिमा। तस्बिर : सामाजिक सञ्जाल
डोजर आइहाल्यो। डोजर आउनुअघि नै मूर्ति बनेपछि गाउँमा विकासको मूल फुट्छ भनेर गाउँलेलाई सहमत गराइएको थियो। डोजरको दाराले आफन्तका वर्षौं पुराना अस्थिपञ्जर निकाल्न थालेपछि केहीले विरोध गरे। तर, कुनै सीप चलेन। मुटु मिचेर ती अस्थिपञ्जर हेर्नुबाहेक आफन्तजनको कुनै उपाय रहेन। चिहानडाँडामा १२० फिट अग्लो यलम्बरको अजंगको मूर्ति ठड्याइयो।
मूर्ति अगुवाहरूको भनाइ के छ भने, मूर्तिले बुइपालीको मात्र होइन, सम्पूर्ण किरातीको र किरातीको मात्रै पनि नभई सम्पूर्ण नेपालीको इज्जत संसारभरि अग्लियो, मूर्ति हेर्न पर्यटकको ओइरो लाग्छ र स्थानीयहरू आर्थिक रूपमा मालामाल हुनेछन्। संसारमा चिहानघारीलाई नै पर्यटनस्थलका रूपमा विकसित गरेका धेरै उदाहरण छन्। चिहान मात्रै हेर्न पनि मानिसहरू पुग्छन्। मृतकको सम्झना र सम्मानमा जिउँदाहरू चिहान जाने प्रचलन संसारभरि नै छ। राईहरूमा पनि छ।
चिहान ढुंगामाटो (अचेल रड र सिमेन्ट पनि)को निर्जीव भौतिक संरचना मात्रै होइन। सामान्य सांस्कृतिक कर्मकाण्ड थलो वा पहिचान मात्र पनि होइन, आफन्तको भावना हो। २०५० सालको दशकमा पाशुपत क्षेत्रको वनकालीको समाधिस्थलमा सरकारी डोजर चल्दा प्रतिकारको छाती थाप्ने किरातहरू आफैँ अहिले आफन्तको समाधिस्थल जोतेर बुख्याँचा जस्तो मूर्ति ठड्याउन लागिपर्नु विकासको आधुनिक सिद्धान्तअनुसार पनि ठिक होइन र पहिचानको मर्मसँग पनि मेल खाँदैन।
द्रव्यमोह
जताततै मूर्ति नै मूर्ति राख्ने तथा राख्न लालायित अगुवा किरातहरूको भनाइमा मूर्तिले किरातहरूको पहिचान झल्किन्छ। आफ्नो जातीय तथा सांस्कृतिक पहिचानकै लागि किरात सर्वसाधारणले धन र श्रम खर्चिएका छन्, खर्चिंदै छन्। त्यसमा राज्यले आफूहरूको पहिचान स्वीकार नगरेको भाष्य पनि मिसाइएको छ। जसका कारण आफ्नो समुदाय चिनाउने मूर्ति निर्माणका लागि आफ्नो सिरीखुरी सुम्पिनेहरू पनि भेटिन्छन्। तर, बाहिरबाट हेर्दा पहिचानको अभियान देखिए पनि मूर्ति निर्माण र स्थापनाको प्रयासभित्र द्रव्यमोह लुकेको छ।
जति पनि मूर्तिहरू बनेका छन्, ती कि त सिमेन्टका बनेका छन् या त प्लास्टिकका। अति महँगा छन्। न सौन्दर्यको पाटोबाट प्रशंसनीय छन्, न त टिकाउ नै छन्। २०७९ सालमा भोजपुरको तीन तहको चुनावलाई प्रभावित पार्ने उद्देश्यले मूर्तिहरू बनाउन सुटुक्क संस्कृति मन्त्रालयमा योजना बनेको थियो, सुटुक्कै बजेट पारेर मूर्तिकारलाई बनाउन लगाइएको थियो, सुटुक्कै काठमाडौँबाट लगिएको थियो र सुटुक्कै अभेग ठाउँमा राखिएको थियो। हाँसपोखरीमा मूर्ति राखिएको केही दिनमै कसैले छ्यास्स छुँदा हात भाँचिएको अवस्थामा छ। एक छुवाइमै ५० लाख झर्याम्म!
किरात बुद्धिजीवीहरूमा विरोधाभास देखिन्छ। उनीहरू किरातहरू प्रकृतिपूजक हौँ भनेर बोलिरहेका हुन्छन्। मूर्ति निर्माणको दौडधुपमा पनि उनीहरू नै अगाडि हुन्छन्। त्यसो हुनुमा उनीहरूको बुझाइको विरोधाभास कारण होइन, द्रव्यमोह मुख्य कारण हो। मन ठूलो भएका सर्वसाधारणलाई भावनात्मक रूपमा लट्याउने सबैभन्दा भरपर्दो साधन पहिचान बनेको छ र त्यो पहिचान मूर्तिले बोक्छ भनेपछि राज्यकोष र समुदाय दुवैबाट अगुवाहरूले भरमार आर्थिक लाभ पाइरहेका छन्। भनिन्छ, पैसाको मुख कालो हुन्छ। त्यही कालो चिजका लागि पहेँलो मूर्तिको विकासे खेती किरातबहुल क्षेत्रमा फस्टाउँदो छ। जुन प्रकृति पूजा र मुन्दुमविरुद्ध छ।