काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ।
६ दिने कार्यशालामा विभिन्न नौ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र कबड्डीका १५ प्रशिक्षक सहभागी थिए।
उनीहरूलाई विश्व एथलेटिक्स सीईसीएस लेभल २ लेक्चरर् सुशीलनरसिंह रानाले ल्याब प्राक्टिससम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिएका थिए। योगा शिक्षक पुष्करराज पन्तले योगसम्बन्धी प्रशिक्षण दिएका थिए।
सहभागीलाई राखेपका सदस्य सदस्य-सचिव रामचरित्र मेहताले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे। त्यस अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, उप-निर्देशक जगदीशप्रसाद भट्टलगायतको उपस्थिति थियो।