काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

साफ महिला फुटबल

भारतसँगको हारपछि मनोबल खस्किएको बाङ्लादेशविरुद्ध नेपाललाई बदलाको अवसर

१९ जेष्ठ २०८३
श्रीलंकाविरुद्ध बल बढाउँदै फरवार्ड मिना देउवा (बायाँ)। सबै तस्बिर : एन्फा
अ+
अ-

भारतका ठूला बहुउद्देश्यीय रंगशालामध्येको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा बुधबार साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण एसियाका दुई बलिया टोली नेपाल र बाङ्लादेश आमनेसामने हुँदै छन्। दुवै टोलीको लक्ष्य आक्रामक फुटबल खेल्दै फाइनल यात्रा सुनिश्चित गर्ने हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने आशाअनुरूप प्रदर्शन नभएको भन्दै आलोचनाको सामना गरिरहेका छन्। उता, बाङ्लादेशका मुख्य प्रशिक्षक पिटर बटलर पनि दबाबमुक्त छैनन्। धेरैको अपेक्षाविपरीत साबिक विजेता बाङ्लादेश समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो।

“पहिलो र दोस्रो खेल जस्तो प्रदर्शन गरेर पुग्दैन। बाङ्लादेशविरुद्ध उत्कृष्ट खेल्नुपर्छ,” न्यौपाने भन्छन्।

साफ खेलिरहेको नेपाली टोली।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १-० ले पराजित गरेको थियो। अघिल्लो संस्करणमा भुटानसँग इतिहासमै पहिलो पटक गोलरहित बराबरी खेलेको नेपालका लागि यो नतिजाले राहत दिएको थियो। यही जितकै कारण नेपाल लगातार तेस्रो संस्करणमा सेमिफाइनलमा भारतसँग भिड्नुपर्ने अवस्थाबाट पनि जोगिएको छ।

सन् २०२२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भारतलाई १-० ले हराउँदै फाइनलमा बाङ्लादेशसँगको भेट पक्का गरेको थियो। दुई वर्षपछि सोही मैदानमा भएको अर्को संस्करणमा निर्धारित समय १-१ को बराबरीमा सकिएको सेमिफाइनल खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै पुनः बाङ्लादेशसँगै फाइनलमा भिडेको थियो।

तर, अहिलेको भारत निकै फरक देखिएको छ। प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ११-० ले पराजित गरेको भारतले समूह चरणको अन्तिम खेलमा बाङ्लादेशविरुद्ध ३-० को स्पष्ट जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

बाङ्लादेशको प्रदर्शन अघिल्ला वर्षहरूको तुलनामा केही खस्किएकाले नेपाललाई केही राहत भने मिल्न सक्छ। “एएफसी महिला एसियन कप छनोट र अहिलेको साफमा बाङ्लादेशको खेल पहिलेको जस्तो प्रभावशाली देखिएको छैन। तर, शारीरिक रूपमा उनीहरू निकै बलिया छन्। त्यसैले हामीले अझ चलाख र अनुशासित भएर खेल्न आवश्यक छ,” न्यौपाने भन्छन्।

दबाबमा बाङ्लादेश

भारतसँग ३-० को पराजय बेहोरेपछि बाङ्लादेश टोली दबाब झेलिरहेको छ। यस टोलीले पछिल्ला दुई संस्करणका साफ च्याम्पियनसिपका समूह चरणमा भारतलाई ३-० र ३-१ ले पराजित गरेको थियो। तर, आइतबारको हारले उपाधिमा ह्याट्रिक गर्ने दाउमा रहेको बाङ्लादेशलाई झट्का दिएको छ।

भारतलाई हराउन असफल भएपछि बाङ्लादेश समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। अझ कतिसम्म भने, भारतले ११-० को जित निकालेको माल्दिभ्ससँग बाङ्लादेशले ४-२ को मात्र जित निकाल्न सकेको छ। योसँगै उसले यसपल्ट सेमिफाइनलमै नेपाललाई प्रतिद्वन्द्वी पाएको छ। सोमबार गोवामा टोलीको नियमित प्रशिक्षण राखिएको थिएन। त्यसको सट्टा खेलाडीहरूले रिकभरी सेसनमा सहभागिता जनाए, जुन सामान्यतया खेलको भोलिपल्ट आयोजना गरिन्छ।

टोलीले मंगलबार बिहान बाम्बेलिम एथलेटिक मैदानमा अभ्यास गर्ने तय थियो। तर, डिफेन्डर शिउली अजिमकी आमाको मृत्युको खबर आएपछि अभ्यास स्थगन गरेको बंगालदेश फुटबल फेडेरेसन (बीएफएफ)ले जनाएको छ।

अभ्यासका क्रममा रश्मि,गीता र मिना।

भारतसँगको लज्जास्पद हारपछि कुनै पनि खेलाडीले सञ्चारकर्मीसँग कुरा गरेनन्। तर, बीएफएफको मिडिया विभागमार्फत गोलकिपिङ प्रशिक्षक मसुद अहमेदले सबै विभागले राम्रो प्रदर्शन नगर्दा त्यसको मूल्य चुकाउनुपरेको स्विकारेका छन्। “हामीले योजनाअनुसार खेल्न सकेनौँ। भारत जस्तो टोलीविरुद्ध सबै विभागले सामूहिक रूपमा राम्रो प्रदर्शन नगर्दा त्यसको मूल्य चुकाउनुपर्छ, हामीसँग त्यही भयो,” उनले भनेका छन्।

हारपछि टोलीको मनोबल कमजोर भएको उनी बताउँछन्। त्यसैले नेपालविरुद्धको खेलअघि प्रत्येक खेलाडीसँग बेलायती प्रशिक्षक पिटर बटलरले छुट्टाछुट्टै कुरा गरिरहेका छन्। “हामी खेलाडीसँग निरन्तर छलफल गरिरहेका छौँ र समस्याहरू कसरी समाधान गर्ने भन्नेमा काम गरिरहेका छौँ। नेपालविरुद्धको खेलमा टोलीले राम्रो पुनरागमन गर्नेछ भन्ने आशा छ,” अहमेद भन्छन्।

पछिल्लो समय नेपाल र बाङ्लादेशबीचको घम्साघम्सी समान स्तरको छैन। सन् २०१० र २०१२ को सेमिफाइनलमा ३-० र १-० को जित निकाल्दै नेपाल उपाधिनजिक पुगेको थियो। २०१९ मा विराटनगरस्थित सहिद रंगशालामा भएको प्रतियोगिताको समूह चरणमा ३-० को जित निकालेको नेपाललाई २०२२ र २०२४ को संस्करणको फाइनलमा भने बाङ्लादेशले क्रमश: ३-१ र २-१ ले हराउँदै उपाधि उचालेको तितो सत्यको नेपाली फुटबलप्रेमी साक्षी छन्।

नेपाललाई ‘फिनिसिङ’ कै पिरलो

नेपालले विगतमा साफ क्षेत्रमा भारतबाहेकका टोलीमाथि आफ्नो दबदबा कायम राख्दै आएको थियो। तर, सन् २०२२ यता समीकरण केही परिवर्तन भएको छ। स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शन र केही नयाँ खेलाडीको आगमनसँगै नेपालले भारतलाई पनि चुनौती दिन थाल्यो।

सन् २०२२ को साफ च्याम्पियनसिपमा रश्मिकुमारी घिसिङको निर्णायक गोलको मद्दतमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यसपछि गत संस्करणमा पनि नेपालले भारतविरुद्ध प्रभावशाली प्रदर्शन दोहोर्‍यायो। भुटानी रेफ्री चोकी ओमको विवादास्पद निर्णय र साम्बाले खाली पोस्टमा गरेको गोल खारेज गरिएपछि ७० मिनेटभन्दा बढी समय रोकिएको खेलमा नेपाल १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्न सफल भएको थियो। योसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसको परिणाम नेपालको पक्षमा आयो। यसमा साम्बा र प्रीति राईको भूमिका मुख्य थियो।

यसपटक साम्बा र प्रीतिको अनुपस्थितिमा नेपालले विपक्षीविरुद्ध अपेक्षित आक्रमक र आत्मविश्वासी खेल प्रदर्शन गर्न सकेको छैन। भुटानविरुद्ध गीता रानाको निर्णायक गोलमा जित निकालेको नेपाललाई अर्को खेलमा श्रीलंकाविरुद्ध २-० को जित हात पार्न पनि निकै संघर्ष गर्नुपर्‍यो। गत संस्करणमा यही टोलीविरुद्ध नेपालले ६-० को एकतर्फी जित निकालेको थियो।

श्रीलंकाविरुद्ध गोल गरेपछि क्रमश: बायाँबाट रेखा, दीपा र रश्मि।

श्रीलंकाविरुद्धको जितमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी मिडफिल्डर रेनुका नगरकोटे अग्रपंक्तिमा साम्बाको अभाव भइरहेको बताउँछिन्। “साम्बा भएको भए योभन्दा राम्रो नतिजा निस्किन्थ्यो होला,” उनी भन्छन्।

साम्बा नहुँदा त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अनिता लम्जेलले भुटानविरुद्धकै खेलमा डेब्यु गरेकी थिइन्। तर, उनले प्रभावकारी प्रदर्शन गर्न नसक्दा दोस्रो खेलमा नेपाल पुलिस क्लबकी मिना देउवाले ‘रिप्लेस’ गरिन्। गत वर्ष बाङ्लादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्‍याउन सात गोल गरेकी मिना पनि मैदानमा भएको महसुस भएको छैन। सोही कारण उनलाई ६२औँ मिनेटमा अनिताले नै बेन्चमा फिर्ता ल्याइन्। यद्यपि, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रश्मि र ६२औँ मिनेटमा रेनुकाले गरेको गोल नै नेपाललाई यसपल्ट सेमिफाइनलमा पुर्‍याउन पर्याप्त बन्यो।

अहिले नेपाललाई अग्रपंक्तिमा समस्या हुँदा गोलको अवसर सिर्जना गर्ने मिडफिल्डर प्रीति राई टोलीमा थपिएकी छन्। उनको आगमनले टोलीलाई थप बल पुग्ने देखिन्छ। प्रीति नहुँदा नेपाली टोली राइट क्रसरमा निर्भर थियो। त्यसबाहेक लेफ्ट क्रसरले बक्सभित्र पुगेर दिएको बलले गोल भएका छन्।

हुन त प्रीति साफअगाडि नै टोलीमा जोडिनुपर्ने थियो। तर, कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीले ढिला ‘रिलिज’ गरेका कारण उनी सोमबार मात्र भारत पुगेकी हुन्।