शैली
आर्थिक भविष्य सुनिश्चित गर्न मैदानसँगै व्यवसायमा पनि होमिएका छन् खेलाडी
एक समय अविनाश बोहराका लागि क्रिकेट खेल मात्र थिएन, संसार नै थियो। बिहानदेखि साँझसम्म उनको समय र सपना सबै क्रिकेटकै वरिपरि घुम्थे। मैदानमा पसिना बगाउनु, विकेट लिनु र देशको जर्सी लगाएर खेल्नु नै सबैभन्दा ठूलो लक्ष्य थियो।
सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय र त्यसको एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दा धेरैले उनलाई नेपाली क्रिकेटको भविष्यका रूपमा हेरेका थिए। तीव्र गतिका बलर अविनाशसँग अपेक्षा पनि उत्तिकै थियो। तर, खेल जीवन उनले सोचे जस्तो सहज भएन। अवसर र प्रदर्शनबीच सन्तुलन कायम हुन नसक्दा उनको यात्रा अपेक्षित रूपमा अघि बढ्न सकेन।
यही क्रममा सन् २०२२ मा उनी अस्ट्रेलिया पुगे। बिदेसिए पनि क्रिकेटप्रतिको उनको लगाव भने कहिल्यै कम भएन। काम र व्यस्तताबीच पनि उनले खेललाई छोडेनन्। समय समयमा नेपाल फर्केर घरेलु प्रतियोगिता खेलिरहे र आफूलाई निरन्तर प्रमाणित गर्ने प्रयास गरिरहे।
उनको धैर्यले अन्ततः सन् २०२४ मा फेरि एक अवसर दियो। अमेरिकामा सम्पन्न टी-२० विश्वकपमा बाङ्लादेशविरुद्धको खेलमार्फत उनले राष्ट्रिय टोलीमा पुनरागमन गरे। लामो प्रतीक्षापछि आएको त्यो क्षण विशेष थियो। तर, मैदानमा उनले चाहे जस्तो प्रभाव छाड्न सकेनन्। एक ओभरमा १० रन खर्चिएका उनको पुनरागमनको कथा सुखद अन्त्यमा पुग्न पाएन। त्यसपछि उनी राष्ट्रिय टोलीमा परेनन्।
खेलाडी जीवन अनन्त हुँदैन भन्ने यथार्थ उनले बुझेका छन्। त्यसैले २९ वर्षीय अविनाश आफूलाई क्रिकेटमा मात्र सीमित राख्न चाहँदैनन्। क्रिकेटप्रतिको प्रेम र प्रतिबद्धता यथावत् रहे पनि उनले व्यावसायिक यात्रालाई पनि समानान्तर रूपमा अघि बढाउने सोच बनाएका छन्। त्यसैले सुरु गरेका छन्, ‘आर्मर ब्लेड’। “खेलाडी भएको कारण खेल क्षेत्रतिरकै काममा लागौँ न त भनेर जिमवेयरको ब्रान्ड सुरु गरेको छु। त्यसैले यतातिर लागेको हुँ,” उनी भन्छन्।

आर्मर ब्लेड ब्रान्ड प्रवर्द्धन।
अस्ट्रेलियामा स्वास्थ्यप्रति सचेत जीवनशैली व्यापक रूपमा विकसित भएको छ। त्यसकै प्रभावस्वरूप जिम जाने र नियमित रनिङ गर्ने संस्कृतिले पनि राम्रो स्थान बनाएको छ। नेपालमा पनि यस्तो संस्कृति बिस्तारै बढ्दै गएको छ। तर, अझै धेरै नेपालीलाई जिम वा रनिङका लागि उपयुक्त पोसाक र सामग्रीबारे पर्याप्त जानकारी छैन। धेरैजसो मानिस सामान्य हाफ पाइन्ट, टि-सर्ट र एउटा जुत्ताकै भरमा जिम वा रनिङमा जाने गरेका छन्।
यही आवश्यकता र सचेतनालाई मध्यनजर गर्दै अविनाशले ‘फिटनेस’ तथा ‘एक्टिभवेयर’ क्षेत्रमा केन्द्रित आफ्नै ब्रान्ड सुरु गरेका हुन्। उनका अनुसार आर्मरको अर्थ योद्धाको सुरक्षा कवच र बेल्डको अर्थ सुरक्षित गर्नु (सिल्ड वा प्रोटेक्ड) भन्ने भावसँग जोडिएको छ।
“भारतमा आर्मर एन्ड बेल्ड नामको ब्रान्ड रहेछ। त्यो नाम मलाई निकै मन परेको थियो। तर, ट्रेडमार्क दर्ताका कारण ठ्याक्कै त्यही नाम प्रयोग गर्न सम्भव भएन। त्यसैले मैले नामलाई केही परिमार्जन गरेर आफ्नै पहिचानसहित नयाँ ब्रान्ड निर्माण गरेको हुँ,” अविनाश भन्छन्।
विज्ञापनसँगै लगानी
एक समय खेलाडीको परिचय उनीहरूको खेल प्रदर्शनले निर्धारण गर्थ्यो। मैदानमा रन बनाउने, गोल गर्ने वा पदक जित्नु नै सफलताको मुख्य मापदण्ड मानिन्थ्यो। तर, समयसँगै खेलकुदको स्वरूप परिवर्तन भयो। खेलाडीहरू अब खेलमै सीमित छैनन्। उनीहरू ब्रान्ड, लगानीकर्ता, उद्यमी र व्यवसायीका रूपमा पनि स्थापित भइरहेका छन्। १९५० देखि १९८० को दशक खेलकुद इतिहासमा अत्यन्तै महत्त्वपूर्ण मोड मानिन्छ। द बिजनेस अफ स्पोर्टस्का अनुसार यही समयदेखि टेलिभिजनको तीव्र विस्तार र स्पोन्सरसिप संस्कृतिको सुरुआत भयो। योसँगै खेलाडीहरूको जीवनशैली, आम्दानीको स्रोत र करिअरको दिशामा ठूलो परिवर्तन ल्यायो। यस अवधिमा खेल मैदानमा सीमित गतिविधि मात्र नभई एक मनोरञ्जन उद्योगका रूपमा विकसित हुन थाल्यो। यसले खेलाडीहरूलाई पनि नयाँ अवसर प्रदान गर्यो।
टेलिभिजनको विस्तारले खेललाई घर घरमा पुर्यायो। खेल हेर्न रंगशालामा मात्र जानुपर्ने अवस्थाको अन्त्य भयो। लाखौँ दर्शकले एउटै समयमा खेल हेर्न थाले। यसले खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध बनायो। उनीहरूको लोकप्रियता बढेसँगै व्यावसायिक संस्थाहरूले उनीहरूलाई आफ्नो ब्रान्ड प्रचारका लागि उपयुक्त माध्यमका रूपमा प्रयोग गर्न थाले।
यसै समयमा स्पोन्सरसिपको अवधारणा बलियो हुँदै गयो। कम्पनीहरूले प्रतियोगिता, टोली र व्यक्तिगत खेलाडीलाई आर्थिक सहयोग दिन थाले। यसको बदलामा खेलाडीले ब्रान्डको उत्पादन वा सेवाको प्रचार गर्न थाले। यसले खेलाडीको आम्दानीमा मात्र वृद्धि गरेन, उनीहरूलाई आर्थिक रूपमा सुरक्षित हुने नयाँ बाटो पनि खोलिदियो।
विज्ञापन र ‘ब्रान्ड एन्डोर्समेन्ट’ पनि यही समयदेखि व्यवस्थित रूपमा विकसित हुन थाल्यो। खेलाडीहरू खेल प्रदर्शनका कारण मात्र होइन, आफ्नो व्यक्तित्व र लोकप्रियताका कारण पनि चर्चित बन्न थाले।
त्यसमध्ये एक उदाहरण हुन् विश्वप्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डन। सन् १९८४ मा उनले नाइकसँग सम्झौता गरेपछि उनको नाममा विशेष जुत्ता उत्पादन गर्न थालियो। त्यसको एक वर्षपछि पहिलो जोर्डन जुत्ता बजारमा ल्याइयो।

आर्मर ब्लेडको सपमा अविनाश र र्यापर मिस्टर डी (बायाँ।) तस्बिर : उनकै समाजिक सञ्जाल
माइकलको उत्कृष्ट खेल प्रदर्शन र लोकप्रियताका कारण यो जुत्ता संसारभर चर्चित बन्यो। समयसँगै जोर्डन जुत्ता खेलकुद सामग्री मात्र नभई फेसन र जीवनशैलीको प्रतीकका रूपमा पनि स्थापित भयो। त्यसपछि उनी आफैँले बास्केटबल र मोटर रेसिङ टोलीमा पनि लगानी गरे। खेलकुद क्षेत्रबाहेक रेस्टुराँ, प्रविधि तथा अन्य विभिन्न व्यवसायमा समेत उनको लगानी छ।
यही देखेका केही खेलाडीले आफ्नो लोकप्रियता र कमाइलाई दीर्घकालीन सुरक्षामा बदल्ने सोच पनि विकास गर्न थाले। त्यसपछि धेरै खेलाडीले आफ्नो पहिचानलाई व्यापारिक अवसरमा रूपान्तरण गर्न थाले। खेल सामग्री, रियल इस्टेट, फिटनेस उद्योग, रेस्टुराँ, प्रविधि तथा विभिन्न स्टार्टअपमा खेलाडीको लगानी बढ्दै गयो।
खेलाडीहरू व्यवसायतर्फ आकर्षित हुनुका पछाडि स्पष्ट कारण भनेकै सीमित समय रहेको माइकल बताउँछन्। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म ब्रान्ड स्थापित गर्नुलाई पहिला व्यवसायको रूपमा हेर्थें। तर, अहिले म यसलाई खेलका रूपमा हेर्छु।’ उनलाई नै पछ्याउँदै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो होटल, फिटनेस र फेसन व्यवसायमा संलग्न छन्। अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले फुटबल टिम, होटल तथा रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन् भने भारतीय क्रिकेट खेलाडी विराट कोहलीले फिटनेस, रेस्टुराँलगायत व्यवसायमा लगानी गरेका छन्।
फस्टाउँदो ‘ट्रेन्ड’
नेपालमा पनि पछिल्लो समय विदेशी खेलाडीलाई फलो गर्दै लगानी गर्ने चलन नबढेको होइन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सहकर्मी ज्ञानेन्द्र मल्ल र पूर्वप्रवक्ता छुम्बी लामासँग मिलेर काठमाडौँको बालुवाटारमा क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) स्थापना गरे। उनीहरूसँगै क्रिकेट खेलेका शक्ति गौचनले पनि बुटवलमा स्टार क्रिकेट एकेडेमी खोले।

सेभेन्टिन बिन्स क्याफेमा रोहित। तस्बिर : रोहितको सामाजिक सञ्जाल
तर, नेपाली राष्ट्रिय टोलीका कप्तान (ओडीआई) रोहितकुमार पौडेलले भने फरक बाटो समाए। हाल क्रिकेट एक्सिलेन्स सेन्टर रहेको स्थानमै पहिले रहेको बालुवाटार क्रिकेट एकेडेमीमा खेलेर हुर्किएका रोहित भने अहिले क्याफे व्यवसायी बनेका छन्। उनले काठमाडौँकै बुद्धनगरमा ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालन गरिरहेको पनि एक वर्ष पुगिसकेको छ। “क्रिकेट खेलेर आर्जन गरेको रकम कहाँ लगानी गर्ने भन्ने सोच सधैँ थियो। त्यसैले केही फरक र दीर्घकालीन काम गरूँ भन्ने लाग्यो। परिवार र साथीभाइको सल्लाहमा क्याफे व्यवसाय सुरु गरेँ,” रोहित भन्छन्।
रोहित आफैँ न कफीका विशेष पारखी हुन्, न त उनीसँग क्याफेमा धेरै समय बिताउने फुर्सद नै हुन्छ। तर, राष्ट्रिय टोलीसँग विभिन्न देशको भ्रमणमा जाँदा उनले क्याफे संस्कृतिलाई नजिकबाट अनुभव गरेका थिए। केही समय क्याफेमा बसेर आराम गर्न सकिने वातावरणले उनलाई आकर्षित गरेको थियो। त्यही अनुभवसँगै परिवार र साथीभाइको सुझावले उनलाई कफी सपमा लगानी गर्न प्रेरित गर्यो।
काठमाडौँमा हजारौँ कफी सप सञ्चालनमा छन् र रोहितको क्याफे पनि अवधारणाका हिसाबले अरूभन्दा धेरै फरक छैन। तर, उनको परिचय स्वयं एक स्थापित राष्ट्रिय क्रिकेटरको भएकाले क्याफेले स्वाभाविक रूपमा ध्यान तान्ने गरेको छ। उनलाई चिन्ने समर्थकहरू क्याफेमा पुगिरहेका हुन्छन्। यीबाहेक राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सनकुमार झा र सोमपाल कामीलगायत नियमितजसो आउने भएकाले यसको प्रचारप्रसार स्वतः भइरहेको छ। यही कारण रोहितलाई क्याफेको छुट्टै ब्रान्डिङ वा मार्केटिङमा धेरै खर्च गर्नुपरेको छैन।

यसको उदाहरण उनले गत १९ मेमा सन्दीप लामिछानेको जन्मदिनका अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडिओबाट पनि देखिन्छ। क्याफेमै खिचिएको उक्त भिडिओले ३२ हजारभन्दा बढी लाइक प्राप्त गरेको छ भने करिब चार लाख २५ हजार पटक हेरिएको छ। यस्ता सामग्रीले क्याफेलाई थप चर्चा दिलाइरहेका छन्।
“क्रिकेट जीवनभर खेल्न सकिँदैन। खेलाडीले भविष्यका लागि वैकल्पिक आयस्रोत पनि तयार राख्नुपर्छ। अहिले लगानी गर्ने सही समय हो जस्तो लाग्यो। भारतीय खेलाडीहरूले पनि विभिन्न व्यवसायमा लगानी गरिरहेको देख्दा म पनि प्रेरित भएँ,” उनी भन्छन्।
क्याफेको व्यवस्थापन रोहितको परिवारले सम्हाल्छ। उनी भने समय समयमा पुगेर सामाजिक सञ्जालमार्फत प्रचारमा सहयोग गर्छन्। त्यसैले व्यवसाय प्रवर्द्धनका लागि छुट्टै जनशक्ति राख्नुनपरेकाले क्याफेले अहिलेसम्म घाटा बेहोर्नुपरेको छैन। हाल रोहित काठमाडौँमै अर्को फ्रेन्चाइज क्याफे विस्तार गर्ने योजनामा छन्।
उनैलाई देखेर युवा क्रिकेटर पनि व्यवसायमा होमिन थालेका छन्। ती मध्ये एक हुन्, २० वर्षीय पेसर बलर हेमन्त धामी। उनले पनि शंखमूलमा ‘द फ्रेन्ड्स एन्ड भाइब्स’ क्याफे सञ्चालनमा ल्याएका छन्। “साथीहरूले नै मलाई क्याफे खोल्न सल्लाह दिए। त्यसैले यहाँ होमिएँ,” उनी भन्छन्।
एकेडेमी सञ्चालक फुटबलर
पछिल्लो समय नेपाली खेलाडी खेलकुदमा मात्र सीमित नरही व्यावसायिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन्। क्रिकेटर मात्र होइन, फुटबलरले पनि आफ्नै लगानीमा विभिन्न व्यवसाय सुरु गर्ने क्रम बढ्दो छ। विशेषगरी धेरै खेलाडीको रोजाइ एकेडेमी स्थापना गर्ने दिशामा केन्द्रित देखिन्छ। यस्ता अधिकांश एकेडेमी भने काठमाडौँकेन्द्रित छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले सञ्चालन गरेको एजी टेन फुटबल एकेडेमी स्थापना भएको दुई वर्षभन्दा बढी भइसकेको छ। युवा खेलाडीको प्रतिभा विकास र व्यावसायिक फुटबलतर्फ मार्गदर्शन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको यस एकेडेमीले पछिल्लो समय फुटबल प्रशिक्षणका क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ।

एजी टेनका मालिक अनिल गुरुङ (बायाँ)।
सुरुआतमा ८-१० बालबालिकाबाट सुरु भएको एकेडेमी अहिले डेढ सयभन्दा बढी खेलाडीको केन्द्र बनेको छ। गुरुङका अनुसार खेल जीवनबाट सन्न्यासपछि धेरै खेलाडी अब के गर्ने भन्ने अन्योलमा पर्छन्। त्यही अन्योललाई सम्बोधन गर्ने उद्देश्यले उनले एकेडेमीको अवधारणा अघि सारेका थिए, जसको प्रारम्भ लगनखेलबाट गरिएको थियो।
“कुनैबेला दक्षिण एसियामै बलियो रहेको नेपालको उमेर समूह अहिले कमजोर छ। साफ जित्न पनि सकेको छैन। अर्कातर्फ एन्फाको एकेडेमी पहिला जस्तो छैन। यस्तोमा यस्ता एकेडेमीहरूले रोल प्ले गर्न सक्छन् र आफूले पनि फुटबलमा केही योगदान दिन सकिन्छ भनेर यसमा लागेको हुँ‚” उनी भन्छन्।
अहिले उनलाई पछ्याउँदै गोलकिपर विशाल श्रेष्ठले भने खेल्दै-खेलाउँदै एकेडेमी सञ्चालन गरिरहेका छन्। करिब १० वर्षसम्म नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई उछिन्न नसकेपछि उनले अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास लिएका थिए। हाल उनी मच्छिन्द्र फुटबल क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका छन्।
नयाँ प्रतिभालाई अवसर दिन आवश्यक रहेको अनुभवबाट प्रेरित भएर धेरै नेपाली फुटबलरले अहिले खेल विकासमै लगानी गर्न थालेका छन्। लामो समय बेन्चमा बस्दा युवा खेलाडीको विकासमा अवरोध हुने अवस्थालाई नजिकबाट अनुभव गरेका विशाल अहिले आफैँ नयाँ प्रतिभा उत्पादन गर्ने अभियानमा जुटेका छन्। उनले काठमाडौँको बूढानीलकण्ठमा नर्थ स्टार फुटबल एकेडेमी सञ्चालन गरिरहेका छन्।
विशालसँगै राष्ट्रिय टोलीका खेलाडी अञ्जन विष्ट, विकेश कुथू र पूर्वकप्तान विराज महर्जनलगायतले पनि आफ्नै फुटबल एकेडेमी सञ्चालन गरिरहेका छन्। यही क्रममा राष्ट्रिय टोलीका फरवार्ड जगजित श्रेष्ठ पनि एकेडेमी व्यवसायमा जोडिने तयारीमा छन्। हाल अस्ट्रेलियामा रहेका उनले आफ्नै नाममा जगजित श्रेष्ठ फुटबल एकेडेमी सञ्चालन गरिरहेका छन्।

एजी टेनका मालिक अनिल गुरुङ (बायाँ)।
अब भने उनी नेपालमै लगानी गर्ने योजनामा छन्। त्यसका लागि काठमाडौँभन्दा बाहिरको सम्भावनायुक्त स्थान खोजिरहेका छन्। “काठमाडौँमा एकेडेमीहरू पर्याप्त छन्। त्यसैले सम्भावना र अवसर भएको नयाँ ठाउँबाट सुरु गर्ने सोचमा छु,” उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले एकेडेमी स्थापना गर्न उपयुक्त स्थानबारे सुझावसमेत मागिरहेका छन्।
यता, जर्जप्रिन्स कार्की र जिलेस्पीजंग कार्कीले काभ्रेको धुलिखेलमा डी इलिट फुटबल एकेडेमी सञ्चालन गर्दै आएका छन्। यसले पनि काठमाडौँबाहिर फुटबल प्रशिक्षणको पहुँच विस्तार गर्ने प्रयास गरिरहेको छ।
यद्यपि, सबै खेलाडीको रोजाइ एकेडेमी व्यवसाय होइन। फरक व्यावसायिक बाटो रोज्ने खेलाडीमध्ये मनीष डाँगी एक उदाहरण हुन्। नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर मनीषले खेल प्रशिक्षणभन्दा बाहिर विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनले ललितपुरमा क्याफे, जिम हल र फुटसलसहितको बहुउद्देश्यीय खेल तथा फिटनेस केन्द्र सञ्चालन गरिरहेका छन्। यसलाई उनले ‘जीएक्सजी (ग्राइन्ड एक्स ग्रेन)’ नाम दिएका छन्।
“खेलाडी भएको कारण स्वास्थ्यको महत्त्व राम्रोसँग बुझेको छु। आफू मात्र होइन, अरूलाई पनि स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरेको हुँ,” मनीष भन्छन्।
आवश्यक बाहिरी अनुभव
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वछनोटकर्ता दीपेन्द्र चौधरी नेपाल जस्तो देशमा खेलाडीको खेल करिअर धेरै लामो नहुने वास्तविकता स्वीकार गर्छन्। नेपालमा खेलकुदमा पूर्ण रूपमा व्यावसायिक संरचना छैन। अझ दीर्घकालीन सुरक्षाको ग्यारेन्टीसमेत कमजोर भएकाले खेलाडीहरू छिटै करिअर अनिश्चितताको अवस्थामा पुग्ने गर्छन्।
विशेषगरी चोटपटकको समस्या धेरै खेलाडीका लागि करिअर टर्निङ पोइन्ट बन्ने गरेको छ। “इन्जुरी भएपछि धेरै खेलाडी आफ्नो लय गुमाउँछन्, पुनः पहिलेको स्तरमा फर्किन सक्दैनन्। त्यसपछि करिअरलाई कहाँ लैजाने भन्ने ठूलो प्रश्न आउँछ,” उनी भन्छन्। यस्तो अवस्थामा खेलाडीलाई आर्थिक तथा मानसिक दुवै चुनौती एकैपटक सामना गर्नुपर्ने बाध्यता रहने उनको भनाइ छ।
यही कारणले धेरै खेलाडी अब के गर्ने, कसरी हातमुख जोड्ने भन्ने चिन्तामा परिरहन्छन्। खेलबाहिरको जीवनका लागि पर्याप्त तयारी नहुँदा खेल सकिएपछि उनीहरू कठिन परिस्थितिमा पुग्ने अवस्था देखिन्छ।

मनीषको जीएक्सजी।
तर, हालैका वर्षहरूमा अवस्था केही बदलिँदै गएको पनि उनी स्वीकार गर्छन्। अहिलेका खेलाडीहरू पहिलेको तुलनामा बढी सचेत र प्रतिभावान हुँदै गएका छन्। “अहिलेका खेलाडी के गर्ने/नगर्ने भन्ने कुरा पनि आफैँ सोच्न सक्छन्। त्यसैले उनीहरू इन अफ अप्सन खोजिरहेका हुन्छन्,” उनी भन्छन्।
अहिले खेलाडीहरूले खेलसँगै पढाइ, व्यवसाय वा अन्य सीप विकासतर्फ पनि ध्यान दिन थालेका छन्। यसले उनीहरूलाई भविष्यमा सुरक्षित बनाउन मद्दत गर्छ। खेलबाहिरको यस्तो तयारीले खेलाडीको आत्मविश्वास बढाउने मात्र होइन, खेल मैदानभित्रको प्रदर्शनमा पनि सकारात्मक प्रभाव पार्ने उनी बताउँछन्।
व्यवसाय वा अन्य पेसामा संलग्न हुँदा खेलाडीमा दबाब व्यवस्थापन गर्ने क्षमता पनि बढ्ने उनको तर्क छ। बाहिरी अनुभवले मानसिक रूपमा मजबुत बनाउँदा प्रतिस्पर्धात्मक खेलमा राम्रो निर्णय क्षमता विकास हुन्छ। “यदि सक्रिय खेलाडीलाई खेलसँगै वैकल्पिक करिअर निर्माणमा प्रोत्साहन गरियो भने उनीहरूलाई दीर्घकालीन रूपमा ठूलो सहयोग पुग्छ। यसले खेलाडीको भविष्य सुरक्षित गर्नुका साथै नेपाली खेलकुद प्रणालीलाई अझ व्यावसायिक र दिगो बनाउन मद्दत गर्छ,” उनी भन्छन्।
यो पनि पढ्नुहोस्