काठमाडौँ। आगामी आवका लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।
नगरसभाको सोमबार बसेको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो।
यसअघि आइतबार बसेको नगरसभा बैठकमा कार्यवाहक प्रमुख सुनीता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
महानगरपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत भएको घोषणा गर्दै डंगोलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि महानगरको बजेट ४ असारमा प्रस्तुत गर्ने जानकारी दिइन्।
महानगरको यस वर्षको नीति तथा कार्यक्रममा नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटनलगायतलाई प्राथमिकतामा राखिएको छ।