बुटवल। बुटवल कुनैबेला पहाडबाट घ्यु, जडिबुटी, काम्लो लिएर आउने र नुन, मट्टितेल, कपडा, साबुन र चिनी लिएर फर्किने थलो थियो।
तिनाउ नदीको पश्चिम गणेश मन्दिरबाट जितगढी किल्लासम्म बटौली बजार थियो। त्यही बजारमा पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, वाग्लुङलगायतका जिल्लाबाट घ्यु, जडिबुटी, काम्लो लिएर आउनेहरुको भीड हुन्थ्यो।
पैदलै आउने उनीहरु आफुलाई चाहिने नुन, मट्टितेल, कपडा, साबुन र चिनी लिएर फर्किन्थे। हालको बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ मा त्यसबेला खस्यौली बजार थियो। सोही बजार विस्तार हुँदै हालको बुटवल शहर बनेको हो।
बुटवलको यो इतिहास र वास्तविकता आधुनिक बनेको शहरबाट विस्मृतिमा जाँदैछ भन्ने महसुस गरेर बुटवलको नयाँ बसपार्कनजिकैको पर्खालमा बुटवलका पूराना स्मृतिका चित्रहरु कोरिएका छन्।
२ सय वर्षअघिको नेपाल अंग्रेजबीचको युद्ध, युद्धमा प्रयोग भएका हतियार, युद्धको नेतृत्व गरेका उजिरसिंह थापा, बुटवल र पाल्पामा राज्य सञ्चालन गरेका राजा मणिमुकुन्दसेन, बुटवलमा आएका ढाक्रेहरु, यहाँका कलासंस्कृति र परम्परासमेतलाई चित्रमा उतारिएको छ।
कलाकारहरुले ३० जेठदेखि ३ दिनको मेहनतमा यहाँका भित्ताहरुमा सौन्दर्य, ईतिहास, सम्पदा र गौरवको गाथा चित्रमा उतारेका हुन्।
बुटवलको ऐतिहासिक, धार्मिक, कला संस्कृति र पुरानो बुटवलको चित्रसहितको भित्ते चित्रलेखन कार्यक्रम अन्तरगत आदिमानव रामापिथेकसको बंगरा भेटिएको ठाउँ, नेपाल अंग्रेज युद्धमा विजयी हासिल गरेको जितगढी किल्ला, पुरानो बुटवलमा नून साट्ने थलोदेखि नयाँ र आधुनिक बुटवलसम्मको यात्रालाई चित्रको माध्यमबाट उतारिएको छ।
बुटवल उपमहानगरको आयोजना र नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीको सहकार्यमा सिंगारिएका यी भित्ताहरु पढेर यहाँ आउने जो कोहीले चित्रका माध्यमबाट बुटवलको इतिहास जान्न पाउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए।
बुटवल बजारको सौन्दर्यीकरण अभियानअन्तर्गत हाललाई बुटवलको नयाँ बसपार्क अगाडि भुड्की चोकदेखि सडक डिभिजन कार्यालयको गेटसम्म भित्ते चित्रलेखन कार्यक्रम गरिएको उनले बताए। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बिस्तार गर्ने योजना रहेको उनको भनाई छ।
नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीका अध्यक्ष दीलिप रसाइलीले यस्तो कार्यले बुटवलको सौन्दर्यीकरण हुनुका साथै स्थानीय कलाकारको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार भित्ते चित्रलेखन कार्यमा स्थानीय २१ जना कलाकारको सहभागिता थियो।

