काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

पूर्वाधार समिति बैठक

२ असार २०८३
अ+
अ-

काठमाडौँ। सांसदहरूले बढ्दो सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने जनाएका छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सार्वजनिक यातायात व्यवस्थापनका विषयमा भएको छलफलका क्रममा उनीहरूले सार्वजनिक यातायातका क्षेत्रलाई सुधार गर्न राज्यको ध्यान नपुगेकाले सडकमा दुर्घटना बढेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले यातायात क्षेत्रको सुधारका लागि राज्यको प्रभावकारी नीति नभएको बताइन्। उनले सडकमा हुने दुर्घटना न्यूनीकरणजस्तो गम्भीर विषयमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल उपस्थित नभएकोप्रति आपत्ति जनाइन्। सांसद थापाले निर्माण व्यवसायीविरुद्ध दिएको मन्त्री लम्सालको अभिव्यक्ति आपत्तिजनक भएको समेत बताइन्।

त्यस्तै सांसद धनेन्द्र कार्कीले यातायात मन्त्रालय हटाउँदा अन्योल भएको बताए। उनले नयाँ सार्वजनिक सवारीको दर्ता रोकिँदा पुरानै सवारीसाधन सञ्चालन गर्नुपर्ने भएकाले पनि दुर्घटना हुने जोखिम बढेको उल्लेख गरे।

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारको कमजोर नीतिका कारण सार्वजनिक यातायात क्षेत्र धरासायी हुँदै गएको बताए। उनले सार्वजनिक यातायात क्षेत्र अपहेलित हुँदा चालक नै नपाउने अवस्था भएको उल्लेख गरे।

त्यस्तै अन्य यातायात व्यवसायीहरूले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनको खाँचो रहेको धारणा राखेका थिए। समिति सभापति आशिष गजुरेलले सडक सुरक्षाका लागि आवश्यक ऐन-कानुन ल्याएर भए पनि सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिए।