काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अन्तिम सुनुवाइ नभएसम्म दुवैलाई कारागारमा राख्न बुधबार आदेश दिएको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको सुनुवाइ जारी रहेकाले उनीहरूलाई थुनामा पठाउने निर्णय गरिएको हो।

यो मुद्दामा कुल ३९ प्रतिवादी छन्। जसमा ३४ जना व्यक्ति र पाँच कम्पनी समावेश छन्। अभियोजन पक्षले दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरेको छ भने सुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै अर्का प्रतिवादी शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो माग गरिएको छ।

प्रहरीले अनुसन्धानका क्रममा भट्टलाई १९ चैत, अग्रवाललाई २२ चैत तथा गोल्छालाई १० वैशाखमा पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि दायर अभियोगपत्रमा भट्टले आर्थिक वर्ष ०७४/७५ मा घरजग्गाको पुनर्मूल्यांकनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी सम्पत्ति थप गरेको उल्लेख छ।

अभियोगपत्रअनुसार भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष ०७७/७८ मा ४५ करोड रुपैयाँ र ०७९/८० मा थप नौ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको देखिएको छ। उक्त रकम बैंकिङ कसुर र कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको आशंका अनुसन्धानमा उल्लेख गरिएको छ।

हाल उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बिमा कसुरसम्बन्धी मुद्दा र पाटन उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन्।