काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशमा पार्टी अधिवेशन अघि बढ्न नसकेको विषयमा त्यहाँका सांसदहरूसँग छलफल गरेका छन् ।
बुधबार बिहान भएको छलफलमा मधेशका जिल्ला तथा प्रदेश तहका संगठन निर्माण, अधिवेशन रोकिएको अवस्था र देखिएका आन्तरिक समस्याबारे सांसदहरूले सभापति लामिछानेलाई जानकारी गराएका हुन् ।
छलफलमा सहभागी सांसदहरूले मधेश प्रदेशका सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संगठन सञ्चालनमा एकलौटी प्रवृत्ति देखिएको आरोप लगाएको बताएका छन् । केही सांसदहरूले यादवले क्षेत्रीय राजनीतिक प्रभाव स्थापित गर्न खोजेको टिप्पणीसमेत गरेका थिए ।
सांसदहरूका अनुसार प्रदेश नेतृत्वले जातीय आधारमा संगठन सञ्चालन गर्न खोजेको गुनासो पनि छलफलमा उठेको थियो । उक्त छलफलमा प्रदेश सभापति यादव भने उपस्थित थिएनन् ।
मधेशमा अधिवेशन रोकिएको प्रमुख कारणमध्ये सदस्यता वितरण प्रणाली पनि रहेको सांसदहरूले बताएका छन् । अनलाइन माध्यमबाट मात्र सदस्यता लिने प्रक्रिया मधेशको स्थानीय अवस्था अनुकूल नभएको उनीहरूको धारणा थियो ।
कतिपय अवस्थामा अनलाइन प्रक्रिया बुझ्न नसक्ने व्यक्तिको नाममा अरूले सदस्यता फाराम भरेर संगठन कब्जा गर्ने प्रयास भएको आरोप सांसदहरूले सभापतिसमक्ष राखेका छन् ।
निर्वाचनका बेला पार्टी गतिविधिमा सक्रिय रहेका पुराना सदस्य र पछिल्लो समय थपिएका नयाँ सदस्यबीच समन्वयको समस्या देखिएको विषय पनि छलफलमा उठेको थियो । प्रचारप्रसार तथा संगठन निर्माणमा भूमिका खेलेका व्यक्तिहरूलाई भन्दा नयाँ सदस्यहरूलाई प्राथमिकता दिँदा विवाद बढेको सांसदहरूको भनाइ थियो ।
मधेशका आठ जिल्लामध्ये पर्सामा मात्र अधिवेशन सम्पन्न भएको र अन्य जिल्लामा प्रक्रिया सुरु भएर पनि नेतृत्व चयन हुन नसकी रोकिएको जानकारी सभापति लामिछानेलाई गराइएको छ ।
छलफलपछि सभापति लामिछानेले मधेशका जिल्लामा अधिवेशन सम्पन्न गर्न केन्द्रीय तहबाटै पहल गर्ने बताएका छन् । उनले आवश्यक परे आफैँ सहभागी भएर सहमतिमार्फत नेतृत्व चयनको वातावरण बनाउने प्रतिबद्धता जनाएको छलफलमा सहभागी सांसदहरूले बताएका छन् ।