काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

खेल

सुरुआती चरणमै एसियाली टोलीले प्रतिद्वन्द्वीविरुद्ध देखाएको प्रदर्शनले एउटा प्रश्नलाई जन्म दिएको छ। त्यो हो– के अब विश्व फुटबलको परम्परागत शक्ति सन्तुलन परिवर्तनको सँघारमा छ?

४ असार २०८३
नेदरल्यान्ड्सविरुद्ध टोलीको दोस्रो गोलको खुसीयाली मनाउँदै जापानी टोली। तस्बिर : एपी फोटो
अ+
अ-

फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको डलास रंगशालामा १४ जुनमा भएको खेलमा जापानले दुई पटक पछाडि परिसकेको अवस्थामा सानदार पुनरागमन गर्दै नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेल्यो। विश्वकपमा हालसम्म अन्तिम १६ भन्दा माथि पुग्न नसकेको जापानले तीन पटक फाइनल खेलिसकेको युरोपेली शक्तिविरुद्ध यस्तो नतिजा निकाल्नु आफैँमा अर्थपूर्ण थियो।

यो नतिजाको महत्त्व विगतसँग तुलना गर्दा अझ स्पष्ट हुन्छ। सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा नेदरल्यान्ड्सले समूह चरणमा जापानलाई १-० ले पराजित गरेको थियो। त्यसअघि ५ सेप्टेम्बर २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेदरल्यान्ड्सले ३-० को सहज जित निकालेको थियो। तर, यसपटकको भेटमा जापान प्रतिस्पर्धी मात्र देखिएन, उसले नेदरल्यान्ड्सलाई दबाबमा पनि राख्यो।

बराबरीपछि नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले जापानको संगठित खेल, प्राविधिक दक्षता र जित्ने मनोविज्ञानको खुलेर प्रशंसा गरे। “हामी तेस्रो गोल गर्न सक्थ्यौँ, तर जापान दोस्रो गोल गरेपछि रक्षात्मक भयो। त्यसैले मेरो निर्णयमा पछुतो छैन,” उनले भने।

जापानविरुद्ध हेडिङ गर्दै चेक रिपब्लिकका खेलाडी। तस्बिर : फिफा

विगतमा युरोपेली मुलुकका प्रशिक्षकहरू एसियाली टोलीसँग अंक गुमाउँदा त्यसलाई ‘निराशाजनक नतिजा’ बताउँथे। तर, अहिले जापान जस्ता टोलीविरुद्ध बराबरी हुनु अस्वाभाविक परिणाम मानिँदैन।

६ टोली अपराजित

हालसम्म एसियाका १३ राष्ट्रले विश्वकप खेलिसकेका छन्। यसअघि यो विश्वकप खेलिरहेका नौबाहेक कुवेत, यूएई, चीन र इन्डोनेसिया (१९३८ मा डच इस्ट इन्डिजका रूपमा)ले पनि खेलेका थिए। तीमध्ये सबैभन्दा धेरैपल्ट विश्वकप खेल्ने राष्ट्र दक्षिण कोरिया हो।
सन् २००२ मा जापानसँग संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। त्यसयता एसियाली टोलीले यस्तो लोभलाग्दो नतिजा हात पार्न सकेका छैनन्। सोही प्रतियोगितामा जापान भने अन्तिम १६ बाट बाहिरिएको थियो।

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकप २०२६ मा यसपल्ट टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याएको छ। यसले एसियालाई अभूतपूर्व अवसर प्रदान गर्‍यो। सन् २०२२ को विश्वकपमा आयोजक कतारसहित ६ एसियाली टोली सहभागी भएका थिए। तर, यसपटक त्यो संख्या बढेर नौ पुग्यो।

मेक्सिको सिटीमा भएको विश्वकप समूह ‘के’ को फुटबल खेलमा कोलम्बियाका लुइस डियाज (बायाँ) उज्बेकिस्तानका अब्दुकोदिर खुसानोभ विरुद्ध बल नियन्त्रण गर्दै। तस्बिर : एपी फोटो

जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, साउदी अरब, कतार, जोर्डन, उज्बेकिस्तानसहित आठ राष्ट्र छनोट खेल्दै सिधै विश्वकपमा पुगे। इराक भने अन्तरमहादेशीय प्लेअफ खेल्दै आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो।

यस संस्करणको सबैभन्दा प्रेरणादायी कथा उज्बेकिस्तान र जोर्डनले लेखे। दुवै राष्ट्रले इतिहासमै पहिलोपटक विश्वकपमा स्थान बनाए। विशेषगरी उज्बेकिस्तानले लामो प्रतीक्षापछि विश्वकपमा पुग्दै आफ्नो घरेलु संरचनाको फुटबल सफल भएको प्रमाण प्रस्तुत गर्‍यो। जोर्डनले पनि पछिल्ला वर्षमा गरेको लगानी र संरचनात्मक सुधारको प्रतिफल प्राप्त गर्‍यो।

इराकको पुनरागमन पनि कम महत्त्वपूर्ण थिएन। दक्षिण अमेरिकी टोली बोलिभियालाई प्लेअफमा पराजित गर्दै ४० वर्षपछि विश्वकपमा फर्कियो। लामो समय राजनीतिक र सामाजिक अस्थिरताले प्रभावित फुटबल प्रणालीका लागि यो उपलब्धि उल्लेखनीय रह्यो। तर, सबैलाई आशंका भने यी टोलीले युरोपका बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्लान् त भन्ने नै थियो। जसको जवाफ पहिलो राउन्ड सकिँदै गर्दा एसियाली मुलुकहरूले दिएका छन्।

विश्वकपको पहिलो साताका नतिजाका आधारमा निष्कर्ष निकाल्न अहिले निकै हतार हुन सक्छ। तर, विश्व फुटबलको शक्ति सन्तुलनमा आइरहेको परिवर्तनका प्रारम्भिक संकेत भने देखिन थालेका छन्।

प्रतियोगितामा अहिलेसम्म दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ र अस्ट्रेलियाले टर्किएलाई २-० ले हराएको छ। कतारले स्विजरल्यान्ड, इरानले न्युजिल्यान्ड, साउदीले उरुग्वेसँग अंक बाँडेका छन् भने जापान नेदरल्यान्ड्सलाई रोक्न सफल भएको छ। यी पाँच टोलीले सकारात्मक नतिजा हात पार्दा इराकले नर्वे, जोर्डनले अस्ट्रिया र उज्बेकिस्तानले कोलम्बियासँग हार बेहोरेका छन्। यद्यपि, पाँच टोलीले लगातार अंक हात पारिरहँदा एसियाली फुटबलको स्तरबारे नयाँ चर्चा सुरु भएको छ।

यस विश्वकपका अहिलेसम्मका दुई ठूला खेल ब्राजिल-मोरक्को र नेदरल्यान्ड्स-जापान रहे। दुवै बराबरीमा टुंगिए। रोचक के भने, दुवै खेलमा उदाउँदा टोली मोरक्को र जापानले खेलमा बढी प्रभाव जमाए। मोरक्कोले आत्मविश्वासपूर्ण पासिङ र आकर्षक खेल प्रस्तुत गर्‍यो भने जापानले तीव्र आक्रमण, फिल्ड रोटेसन र सटीक संयोजनमार्फत नेदरल्यान्ड्सलाई निरन्तर दबाबमा राख्यो। यद्यपि, जापानसँग ४० प्रतिशत मात्र बल नियन्त्रण थियो।

सबैभन्दा महत्त्वपूर्ण त जापानी खेलाडी कुनै बेला पनि हतास देखिएनन्। खेलाडीमा यही मनोविज्ञान विकास गर्न प्रशिक्षक हाजिमे मोरियासुले हालैका महिनामा काम गरिरहेका थिए। उनी अन्तिम १६ को चरण पार गर्न नसक्ने आफ्नो खेलाडीको मानसिकतालाई बदल्न टोलीले आफूलाई विश्वकपको दाबेदारका रूपमा हेर्नुपर्ने बताइरहेका छन्।

नेदरल्यान्ड्सका भर्जिल भान डाइक जापानविरुद्ध पहिलो गोलको खुसीयाली मनाउँदै। तस्बिर : एपी

विश्वकपको पहिलो साताका नतिजाका आधारमा निष्कर्ष निकाल्न अहिले निकै हतार हुन सक्छ। तर, विश्व फुटबलको शक्ति सन्तुलनमा आइरहेको परिवर्तनका प्रारम्भिक संकेत भने देखिन थालेका छन्।

यसको सुरुआत दक्षिण कोरियाले चेक रिपब्लिकालाई पराजित गर्दै गरेको थियो। चेक टोली सुस्त र पुरानो शैलीमा सीमित देखियो भने दक्षिण कोरियाले उत्कृष्ट पासिङ र गतिशील खेलमार्फत विपक्षीलाई दबाबमा राख्यो। यदि कप्तान सोन ह्युङ–मिन आफ्नो पुरानो उत्कर्षपूर्ण लयमा रहेका भए कोरियाको जित अझ फराकिलो हुन सक्थ्यो।

अर्को खेलमा अस्ट्रेलियाले टर्किएलाई पराजित गर्दै एसियाली टोलीको सफलतालाई निरन्तरता दियो। यद्यपि, टर्किएले खेलभर ३० प्रहार गरेको थियो। हुन त विश्वकपअघि अमेरिकाका पूर्वखेलाडी एलेक्सी लालासले एक पडकास्टमा अस्ट्रेलियालाई औसत टोली भनेका थिए।

तर, सोही टोलीका गोलरक्षक प्याट्रिक बिचले असाधारण प्रदर्शन गर्दै आफ्नो टोली त्योभन्दा माथि रहेको प्रमाणित गरिदिए। उनले आठ महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाए। अस्ट्रेलियाका युवा खेलाडी नेस्टोरी इरानकुन्डा टर्कीविरुद्धको खेलमा आफ्नो टोलीलाई कम आँकेको बताउँछन्। “धेरैले हामीलाई कमजोर मानेका थिए। तर, हामी फुटबल खेल्न सक्छौँ भनेर देखायौँ,” पहिलो जितपछि उनी भन्छन्,” टर्किएले बल धेरै राख्यो। तर, गोल कसले गर्‍यो? हामीले गर्‍यौँ।”

कतारले स्विजरल्यान्डसँग निकालेको बराबरी भने फरक प्रकृतिको थियो। कतार अधिकांश समय रक्षात्मक शैलीमा सीमित रह्यो। यता, स्विजरल्यान्डले सिर्जना गरेका धेरै अवसर सदुपयोग गर्न सकेन। स्विजरल्यान्डले पोस्टमा २६ प्रहार गर्दा कतारले ६ प्रहार गरेको थियो। अन्तिम समयमा आएको आत्मघाती गोलले कतारलाई अंक दिलाए पनि खेलको प्रवाह हेर्दा त्यो नतिजा अप्रत्याशित जस्तै थियो।

हारमा पनि गर्व

पछिल्ला तीन खेलमा एसियाली राष्ट्रले राम्रो नतिजा ल्याउन सकेका छैनन्। तीमध्ये दुई त यसपल्ट नै डेब्यु गरेका जोर्डन र उज्बेकिस्तानकै हुन्। मेक्सिकोको ऐतिहासिक एज्टेका रंगशालामा बिहीबार भएको समूह ‘के’ को पहिलो खेलमा उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित भयो। योसँगै लगातार पराजित हुने तेस्रो एसियाली राष्ट्र उज्बेकिस्तान बन्यो।

विश्वकपमा पुनरागमन गरेको कोलम्बियाले लुइस डियाजको उत्कृष्ट प्रदर्शनको मद्दतमा जित हासिल गर्‍यो। सन् २०२२ को विश्वकप गुमाएको कोलम्बियाले यसपटक पहिलो हाफको अन्त्यतिर ड्यानियल मुनोजको गोलमा सुरुआती अग्रता लिएको थियो। तर, उज्बेकिस्तानले हार मानेन र दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभले गोल गर्दै खेल बराबरीमा ल्याए।

तर, त्यसपछि कोलम्बियाले पुनः नियन्त्रण लियो। डियाजले अर्को गोल गर्दै टोलीलाई अघि बढाए भने वैकल्पिक खेलाडी जामिन्टन क्याम्पाजले इन्जुरी समयमा गोल गर्दै ३-१ को जित सुनिश्चित गरे।

उज्बेकिस्तानका मुख्य प्रशिक्षक फाबियो कानाभारोले आफ्नो टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गर्छन्। “हामी सानो टोली हौँ। ३-१ को हार ठूलो अन्तर हो जस्तो लाग्छ। तर, मैले मैदानमा जे देखेँ, त्यो मन पर्‍यो,” उनी भन्छन्।

इटालियन प्रशिक्षकको प्रशिक्षणमा रहेको उज्बेकिस्तानले अब ह्युस्टनमा पोर्चुगलसँग खेल्नेछ। यता समूह ‘के’ को शीर्षस्थानमा रहेको कोलम्बियाले ग्वाडालाहारामा डीआर कंगोको सामना गर्नेछ। पोर्चुगल र डीआर कंगोबीचको खेल १-१ को बराबरीमा सकिएको थियो।

हुन त उनीजस्तै खुसी जोर्डनका क्राउन प्रिन्स हुसेन बिन अब्दुल्लाह द्वितीय पनि छन्। उनले विश्वकपको पहिलो खेलमा आफ्नो राष्ट्रिय टोलीले देखाएको प्रदर्शनको प्रशंसा गरेका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, ‘एक क्षणका लागि पनि यो जोर्डनको पहिलो फिफा विश्वकप खेल हो जस्तो लागेन। तपाईंहरूले हामीलाई वीरतापूर्ण र गर्व गर्नलायक प्रदर्शन दिनुभयो। यो सुरुआत मात्र हो। अझ ठूला अवसरहरू छन्।”