काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ।
पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी २६, २७ र २८ मंसिरमा काठमाडौँमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका पनि परिमार्जनसहित पारित गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए।
केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले जानकारी दिए।
उनले भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएकोसमेत बताए।