काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध  रहेको बताएका छन्। उनले सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढिरहेको पनि बताए।

प्रतिनिधिसभा बैठकमा बिहीबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले मुलुकको समृद्धि र विकासका लागि संविधानद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्बन्धको ढाँचाभित्र रही काम गरिरहेको दाबी गरे।

विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा आबद्ध गर्न समन्वय गर्ने तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रित गरिने उनले बताए।

उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन र सुपरिवेक्षण गर्ने प्रमुख दायित्व वहनका लागि केन्द्रीय निकायका रूपमा परराष्ट्र मन्त्रालय र यसको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरिवेक्षणमा रही विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र सम्बन्धको कार्यान्वयन गरिरहेको धारणा राखे।

परराष्ट्र मन्त्रालयलाई समान-समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले भने‚ “सोहीअनुसार बजेट र साधन स्रोतको व्यवस्थापन प्राथमिकतामा परेको छ।”

उनले विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका काम मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी बजेटमार्फत नेपाली डायस्पोरा ग्लोबल नेटवर्क स्थापना तथा सञ्चालनका लागि प्रस्ताव गरिएको उनले बताए।

परराष्ट्रमन्त्री खनालले आगामी आव सगरमाथा संवादको दोस्रो संस्करण आयोजना गर्ने प्रस्ताव पनि राखेको जानकारी दिए।