बैतडी। बैतडीको दशरथचन्द नगरपालिका ४‚ साईलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १० यात्रु घाइते भएका छन्।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द छन्। घाइतेमध्ये पाँचजनाको अवस्था सिकिस्त छ।
प्रहरीका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस शुक्रबार साँझ सडकबाट करिब ३० मिटर तल खसेको छ। उक्त बसमा चालकसहित १२ जना यात्रारत थिए। प्रहरीले गाडी चालक केशवसिंह महरालाई भने नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीबाट प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरको कमान्डमा तथा अस्थायी मनसुन प्रतिकार्य बेस छेला बैतडीको साथै सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो। घाइतेहरूलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।