काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

एक करोडबाट ३० लाखमा झारियो बजेट

८ असार २०८३
कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदै हेमोफेलियाका बिरामी र अपांगता भएका व्यक्तिहरू। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हेमोफेलिया भएका व्यक्तिहरूको उपचारका लागि विनियोजित बजेटमा कटौती गरेपछि बिरामी र तिनका आफन्त आन्दोलित भएका छन्।

राष्ट्रिय अपांग महासंघ नेपाल, कोसी प्रदेशको अगुवाइमा विराटनगरस्थित स्वास्थ्य मन्त्रालयको परिसरमा सोमबार उनीहरूले धर्ना दिए।

विगतका वर्षहरूमा एक करोड रुपैयाँ विनियोजन हुँदै आएकामा आगामी आवका लागि सरकारले जम्मा ३० लाख रुपैयाँ मात्र छुट्याएपछि बिरामीहरू थप जोखिममा परेका हुन्।

आन्दोलनको नेतृत्व गरिरहेका राष्ट्रिय अपांग महासंघ नेपाल, कोसी प्रदेशका अध्यक्ष नवीन ढुंगेलका अनुसार कोसीमा मात्रै १५५ जना हेमोफेलिया भएका बिरामी पहिचान भएका छन्। “विगतमा ९० जना बिरामी हुँदा एक करोड बजेटले पनि उपचार धान्न गाह्रो थियो। अहिले बिरामी बढेर १५५ पुग्दा बजेट घटाएर ३० लाखमा झारिएको छ,” ढुंगेलले भने, “यो कुन तथ्य र आधारमा गरियो? हामीले पटक-पटक मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदा पनि हाम्रो मागलाई बेवास्ता गरियो।”

हेमोफेलिया एक यस्तो गम्भीर अवस्था हो जसमा चोट लाग्दा रगत बग्न रोकिँदैन। यसका लागि प्रयोग गरिने औषधि (फ्याक्टर) अत्यन्तै महँगो हुने ढुंगेल बताउँछन्।

‘‘एउटा औषधिको मूल्य २० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्छ, जसले जम्मा ८ देखि १२ घण्टा मात्र काम गर्छ,’’ उनले भने, ‘‘सरकारले निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था भए पनि बजेट अभाव देखाएर बिरामीलाई मृत्युको मुखमा पुर्‍याइँदै छ।’’

बिरामीहरू ओछ्यानमै थला
औषधि अभावका कारण धेरै बिरामी आन्दोलनमा आउनसमेत नसकेको अवस्था छ। ‘‘हाम्रा आधाभन्दा बढी साथीहरू औषधि नपाएर ओछ्यानमै थला परेका छन्, कोही मरणासन्न अवस्थामा छन्,” अध्यक्ष ढुंगेलले थपे, “कोही ओछ्यानबाट उठेर शौचालय जानसमेत नसक्ने अवस्थामा पुगेका छन्। उनीहरूको जीवनरक्षाका लागि हामी बाध्य भएर सडकमा आउनुपरेको हो।’’

बिरामीहरूले हेमोफेलियाका बिरामीको बजेट कटौती फिर्ता गर, बिरामीको जीवन रक्षा गरजस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोध प्रदर्शन गरेका थिए।

आन्दोलन थप कडा बनाउने चेतावनी
महासंघले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ। सोमबारको धर्नापछि पनि सरकार गम्भीर नभए मंगलबारदेखि रिले अनशन र त्यसपछि आमरण अनशन बस्ने उनीहरूको तयारी छ।

अध्यक्ष ढुंगेलका अनुसार कोसीमा मात्र होइन, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि बजेट कटौती गरिएको छ। देशभर झन्डै पाँच हजार हेमोफेलियाका बिरामी हुनसक्ने अनुमान गरिए पनि हाल एक हजार मात्र पहिचान भएका छन्। औषधि प्रयोग गर्न नपाउँदा धेरैले अकालमा ज्यान गुमाइरहेको र पहिचान हुन नसकेका बिरामीको अवस्था झन् भयावह रहेको महासंघको ठहर छ।

स्वास्थ्य मन्त्रालय कोसी प्रदेशका सचिव डा. यधुचन्द्र घिमिरले गत वर्षको औषधी बाँकी रहेकाले यस वर्ष ३० लाख रुपैयाँ बजेट राखिएको बताए। ‘हामी औषधीको अभाव हुन दिने छैनौँ। यदि अहिले छुट्याएको बजेटले पुगेन भने हामी रकम अन्तर गरेर भएपनि औषधी खरिद गर्नेछौँ,” उनले भने, “हामी हेमोफेलिया भएका बिरामीलाई समस्या हुने दिने छैनौँ।”