काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
प्रदेश खेलकुद विकास बोर्डले नियुक्त गरेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा उपाध्यक्ष। तस्बिर : नेपालन्युज
अ+
अ-

विराटनगर। कोसी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेका १२ जिल्ला खेलकुद विकास समितिमा नयाँ नेतृत्व नियुक्त गरिएको छ।

सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि बोर्डले रिक्त रहेका जिल्लामा अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको हो।

बोर्डको बुधबार बसेको बैठकको निर्णयानुसार बिहीबार दुवै दलले ६-६ जिल्लाको नेतृत्व पाउने गरी नियुक्तिपत्र प्रदान गरिएको छ। जसअनुसार एमालेले धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, इलाम र झापाको नेतृत्व पाएको छ। कांग्रेसको भागमा सुनसरी, ओखलढुंगा, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुर परे।

मोरङ र खोटाङको नेतृत्वमा भने तत्काल कुनै फेरबदल गरिएको छैन। मोरङमा हाल इन्द्र लामा अध्यक्ष छन्, जो उच्च अदालतको आदेशबाट पुनर्बहाली भएका हुन्। त्यस्तै खोटाङका अध्यक्ष रमेश राईलाई पनि तत्काल यथावत् राख्ने सहमति भएको बोर्डले जनाएको छ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव विप्लव घोषले रिक्त रहेका जिल्लामा पदाधिकारी नियुक्त भएसँगै खेलकुद गतिविधिले थप गति लिने बताए। “लामो समयदेखि नेतृत्वविहीन रहेका जिल्लाहरूमा नयाँ पदाधिकारी आएसँगै प्रदेशको खेलकुद क्षेत्र सक्रिय हुनेछ,” उनले भने।

यी हुन् १२ जिल्लाका नवनियुक्त अध्यक्ष
एमालेको तर्फबाट धनकुटामा मनोजकुमार राई, ताप्लेजुङमा चन्द्रबहादुर थेबे, संखुवासभामा लक्ष्मण लिङथेव, सोलुखुम्बुमा अर्जुन रोक्का, इलाममा यतिराज काफ्ले (सुमन) र झापामा शेखर कर्णेल अध्यक्ष नियुक्त भएका छन्।

यस्तै कांग्रेसको तर्फबाट सुनसरीमा केशव कार्की, ओखलढुंगामा अमृतबहादुर गुरुङ, पाँचथरमा सन्तोष मुक्ताङ, भोजपुरमा दउप्रकाश राई, उदयपुरमा धीरज खड्का र तेह्रथुममा राजकुमार नेपालले नेतृत्व पाएका छन्।

६ जिल्लाका उपाध्यक्षहरूको पनि टुंगो लागेको छ। जसमा ताप्लेजुङमा अन्जना कडरिया, इलाममा सुशीला गुरुङ, धनकुटामा प्रीति राई, झापामा लक्ष्मी देवान, सोलुखुम्बुमा कृष्ण तामाङ र संखुवासभामा कल्पना मगर छन्। बाँकी ६ जिल्लाका उपाध्यक्षको नाम भने छिटै टुंगो लगाइने बोर्डले जनाएको छ।

जिल्लासँगै प्रदेश खेलकुद विकास बोर्डमा पनि नयाँ सदस्य नियुक्त भएका छन्। एमालेको कोटाबाट प्रवीणकुमार कार्की, अनिरुद्र चौधरी र कविता घले सदस्यमा नियुक्त भएका हुन्। योसँगै बोर्डको सदस्य संख्या १४ पुगेको छ।

सरकारले प्रदेश खेलकुद ऐन २०७६ लाई अध्यादेशमार्फत संशोधन गरेर बोर्डको संरचना विस्तार गरेपछि पदाधिकारी र सदस्यहरूको संख्या थपिएको हो। २१ सदस्यीय रहने बोर्डमा बाँकी ७ सदस्य पनि एमाले र कांग्रेसबीचको भागबन्डाका आधारमा छिटै नियुक्त गर्ने तयारी छ।

सामाजिक विकासमन्त्री रामप्रसाद महतोले राजनीतिक सन्तुलन मिलाउन एमाले र कांग्रेसका प्रतिनिधि समेटेर बोर्डलाई पूर्णता दिन लागेका हुन्। यद्यपि राजनीतिक भागबन्डा मिलाउन अध्यादेश ल्याएर ‘जम्बो’ टोली बनाइएको भन्दै खेलकुद क्षेत्रमा आलोचनासमेत सुरु भएको छ।