काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

पुस्तक वार्ता

१४ असार २०८३
सञ्जीव उप्रेती। तस्बिर सौजन्य : केशव थापा
अ+
अ-

साहित्य सिर्जना र प्राज्ञिक कर्मसँगै सञ्जीव उप्रेती नागरिक आन्दोलनका अग्रमोर्चाहरूमा समेत भेटिने अनुहार हुन्। ‘घनचक्कर’ र ‘हंस’ आख्यानका सर्जक उप्रेतीको गैरआख्यान कृति ‘सिद्धान्तका कुरा’समेत प्रकाशित छ। सांस्कृतिक समालोचक तथा राजनीतिक विश्लेषकका रुपमा विविध विषयमा लेख्ने बोल्ने उप्रेती समतामूलक समाज र सामाजिक न्यायका पक्षधर हुन्। बृहत् नागरिक आन्दोलनमा आबद्ध उप्रेतीले संरचनागत विभेदका विभिन्न सवालमा आवाज उठाउँदै आएका छन्।

उप्रेतीको नयाँ पुस्तक ‘संरचनात्मक लाभांश’ आजदेखि सार्वजनिक हुँदैछ। आत्मआलोचनात्मक गैरआख्यान भनिएको यस पुस्तक मार्फत लेखकले नेपाली समाजमा जात, लिंग, वर्ग, वर्ण, धर्म, यौनिकताजस्ता आधारमा हुने विभेदलाई वैयक्तिक-राजनीतिक कोणबाट हेर्ने प्रयत्न गरेका छन्। ‘देवेन्द्रराज पाण्डे प्रवचन शृङ्खला’ अन्तर्गतको यो पहिलो पुस्तकलाई अक्षर क्रियसन्सले प्रकाशनमा ल्याएको हो। नयाँ पुस्तक ‘संरचनात्मक लाभांश’को सेरोफेरो लेखक-अभियन्ता उप्रेतीसँग प्रभाकर गौतमले गरेको संवाद:

‘संरचनात्मक लाभांश’ कस्तो अवधारणा हो? 

समाजमा प्राय: सबैलाई कुनै न कुनै किसिमको लाभांश उपलब्ध हुन्छ। जातका आधारमा, वर्गका आधारमा, लिंगका आधारमा, भूगोलका आधारमा, भाषाका आधारमा, शारीरिक क्षमताका आधारमा तथा प्रविधि पहुँचका आधारमा। यस्ता लाभांश प्राप्त गर्न मानिसले मिहिनेत गर्नु पर्दैन। ती जन्मको संयोगसित जोडिएर आएका हुन्छन्। मानिसले मिहिनेत र प्रतिभाको संयोगले जीवनमा उपलब्धि हासिल गर्छ भन्ने कुरा अस्वीकार गरेको होइन। मिहिनेत महत्त्वपूर्ण हुन्छ र प्रतिभाको पनि उत्तिकै महत्त्व छ। तर, मिहिनेत र प्रतिभाबाहेक व्यक्तिले पाएका उपलब्धिलाई विभिन्न किसिमका संरचनात्मक लाभांशले समेत सघाउँदै आएका हुन्छन्।

नेपालको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा यस अवधारणाको महत्त्व किन छ?

हामी लोकतन्त्र र सामाजिक न्यायलाई स्विकार्ने देशमा बस्छौँ भन्छौँ। तर, केही मानिसका लागि लोकतन्त्रले ठिकठाक काम गरिरहेको जस्तो लाग्छ भने ‘लोकतन्त्र’ र ‘सामाजिक न्याय’ जस्ता शब्दहरू कैयौँका लागी खोक्रा बनेका छन्। बृहत् नागरिक आन्दोलनमा सहभागी भएर समाजलाई हेर्दा मैले बुझेँ– न्याय सबैका लागि समान रूपमा उपलब्ध छैन। भ्रष्टाचार अपराधमा मुछिएका ठूला माछा समातिए पनि प्राय: चाँडै छुट्छन्। थुप्रै मिटर ब्याज साहुलाई राजनीतिक संरक्षण प्राप्त हुन्छ। तर, मिटर ब्याजपीडित तथा सुकुम्बासी र अन्य सीमान्तीकृत समुदायका लागि लोकतन्त्र र सामाजिक न्यायको प्रत्याभूति दुष्कर छ।

अर्को शब्दमा भन्दा, जसलाई जति बढी संरचनात्मक लाभांश प्राप्त हुन्छ, उसलाई न्याय पाउन सजिलो छ। लोकतन्त्रको प्रत्याभूति गर्न पनि बढी सहज छ। कांग्रेस, माओवादी र एमालेका सरकार हुँदा तिनका नेताले समाजवाद, लोकतन्त्र र न्यायबारे भाषणबाजी मात्र गरे। अहिलेको नयाँ सरकार समेत ‘एलिटिस्ट’ देखिएको छ। नेताहरूमा आफूले पाउँदै आएका विभिन्न किसिमका लाभांशप्रतिको सचेतना देखिँदैन, न उक्त लाभांश नपाएकाप्रतिको संवेदना नै देखिन्छ। नेताहरूमा मात्र नभएर सबै नागरिकमा त्यस किसिमको सजगता र संवेदना विकसित भएमा मात्र लोकतन्त्रको सही अभ्यास हुन्छ। अनि मात्र न्यायमूलक लोकतान्त्रिक अभ्यासको प्रत्याभूति प्रत्येक नागरिकले गर्छन्।

यस पुस्तकलाई आत्मालोचनात्मक गैरआख्यान भन्नुभएको छ। सार्वजनिक रूपमा आफूलाई प्रश्न गर्न किन आवश्यक ठान्नुभयो?

हालका आधुनिक कहलिएका समाजहरूको (नेपालमा मात्र होइन) समस्या नै आत्मालोचना गर्ने क्षमता हराउँदै जानु हो। हामी अरूको आलोचना गर्न हतारिन्छौँ, तर आफैँलाई असहज प्रश्न गर्न हच्कन्छौँ। म मध्यम वर्गीय, उच्च कहलिएको जातमा जन्मेको, काठमाडौँमा बस्ने शिक्षित पुरुष भएकाले मैले वर्ग, जात, भूगोल, लिंगलगायत थुप्रै लाभांश पाएको छु। ती लाभांश नपाएको भए मैले जीवनमा घेरै संघर्ष गर्नुपर्थ्यो। आन्दोलनहरूका दौरान मैले भेटेका सुकुम्बासी, मिटर ब्याजपीडित, नेपालगन्जबाट न्याय खोज्न आएका महिला र दलित समुदायका व्यक्ति मभन्दा कम मिहिनेती थिएनन्। सायद सबैका आआफ्नै किसिमका नैसर्गिक प्रतिभा पनि थिए होलान्। तर, किन उनीहरू सधैँ आर्थिक-राजनीतिक संरचनाको पिँधमा परिरहनुपर्ने? र, किन म जस्ताहरूका लागि सफलताका भर्‍याङ सहजै उपलब्ध हुने?

आफैँसित यस्ता प्रश्न गर्न थालेपछि मात्र आत्मालोचनाको सही अभ्यास हुन्छ। नत्र आत्मालोचना समेत ‘कम्फर्ट जोन’ मा गरेर बस्ने बानी हुन्छ। यस किसिमको ‘सजिलो आत्मालोचना’ ले ‘उदारवादी किक’ त देला, तर त्यो आत्मरूपान्तरणको वाहक बन्न सक्दैन। आन्दोलनहरूमा आबद्ध भएपछि लाग्यो– यो कुरा मेरो व्यक्तिगत अनुभव मात्र होइन, सामाजिक न्याय र लोकतन्त्रमा विश्वास राख्ने सबैको कथा हो। त्यसैले सार्वजनिक रूपमा आफैँलाई प्रश्न गर्न थालेँ।

अरूलाई आलोचनात्मक दृष्टिले हेर्ने प्राज्ञिक तथा अभियन्ताहरूले आफैँलाई त्यही दृष्टिले हेर्नु किन आवश्यक छ?

नेपालका सबै ठूला दलका वरिष्ठ नेताहरू कुनै न कुनै आन्दोलनसित जोडिएका थिए। तीमध्य केहीले सशस्त्र विद्रोहको अगुवाइ गर्दै क्रान्तिको सपनासमेत बाँडेका थिए। उनीहरू पछि सरकारमा पुगे, सांसद, मन्त्री, प्रधानमन्त्रीसमेत बने। तर, देशमा नयाँ संविधान बनेपछि पनि महिला, दलित, मधेसी, आदिवासी-जनजातिलगायतको स्थितिमा नेताहरूले गरेको वाचाअनुरूपको परिवर्तन आउन सकेन। भुइँतहका धेरै नागरिकलाई न्याय पाउन आज पनि गाह्रो छ। भ्रष्टाचारको जालो देशभरि फैलँदै गयो। राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउने कुरो संविधानमा सुनिश्चित गरिए पनि अपवादबाहेक महिलाको प्रतिनिधित्व टोकनका रूपमा मात्रै गराइयो। निर्णयकर्ताको आसनमा कथित ‘उच्च जात’ का पुरुषहरू नै रहिरहे। रुकुममा दलित युवाहरूको सामूहिक हत्या हुँदासमेत संरचनात्मक लाभांश प्राप्त नेताहरूले सार्वजनिक वृत्तमा आफ्ना असंवेदनशीलता व्यक्त गरे। यी सबका विभिन्न कारणमध्ये एउटा कारण जात, वर्ग, भूगोल, लिंगसित गाँसिएका प्रशस्त संरचनात्मक लाभांश प्राप्त ‘उच्च’ कहलिएकाहरूले संरचनात्मक लाभांश कम पाएका वा नपाएकाहरूबारे आत्मालोचनात्मक चेतको विकास नगर्नु वा गर्न नचाहनु पनि थियो।

यो सबैले संकेत गर्छ, संसारमा आन्दोलन र विद्रोहको नेतृत्व गर्ने नेताहरूको मनभित्र आन्दोलनको आँधी चल्न सकेन। तिनले आन्दोलनलाई बाह्य संसार र जगत् रूपान्तरणको उपकरण मात्र सम्झिए। अन्तर्मनको संसारमा पितृसत्ता र सामन्तवादको वैचारिकीले जरा गाडेकाले लोकतन्त्र र सामाजिक न्यायको समेत सही अभ्यास हुन सकेन। बहुदलीय व्यवस्था, आवधिक चुनाव, ‘स्वतन्त्र न्यायपालिका,’ संसद् र आयोगहरूसहितको लोकतान्त्रिक अभ्यास, संरचना र संस्थाहरूको उपस्थितिले गर्दा लोकतन्त्रको आवरण त रहिरह्यो, तर देवेन्द्रराज पाण्डेले भनेझैँ लोकतन्त्रको ‘प्राणप्रतिष्ठा’ विलुप्त भयो।

यस पाटोलाई बुझ्न र समाधानका लागि सचेत रहेका आन्दोलनकारीहरूले आफ्ना विभिन्न किसिमका लाभांशप्रति निरन्तर सजग रहनुपर्छ। हामी सामाजिक न्यायको पक्षमा लेख्छौँ, बोल्छौँ भने हामी आफैँले के-कस्ता लाभांश उपभोग गर्दै छौँ र ती लाभांशले हामीलाई लेख्ने, बोल्ने स्थानमा पुर्‍याउन कसरी मद्दत गरे  भन्नेमा सजग भई आफ्नो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ। अर्को शब्दमा, आन्दोलनलाई सडकमा मात्र नभएर आफ्नै मनमस्तिष्क र व्यवहारमा चलाउन आवश्यक छ। आत्मालोचनात्मक चेतको प्रयोगमार्फत आफैँलाई झकझकाइरहन जरुरी छ।

 संरचनात्मक लाभबारेको स्वीकारोक्तिपश्चात् लेखक वा अभियन्ताका रूपमा आफैँमा कस्तो रूपान्तरणको अपेक्षा राख्नुभएको छ?

एकताका म नागरिक आन्दोलनमा निकै सक्रिय थिएँ। हुन त नागरिक आन्दोलनको कुनै औपचारिक नेता हुनु हुन्न भन्नेबारे हामी प्रस्ट थियौँ, तर व्यावहारिक दृष्टिले कोही न कोही अघि नसरी नहुने रहेछ। युग पाठक अन्य काममा लागेपछि र नारायण वाग्ले तनहुँको कृषि फार्ममा व्यस्त भए पनि म बढी सक्रिय हुन पुगेँ।

पछि मैले आफैँलाई प्रश्न गर्न थालेँ– आन्दोलनमा सक्रिय भइरहन नारायण र म जस्ता उच्च कहलिएको जात र मध्यम वर्गका पुरुषलाई किन सहज भयो? किन दलित, महिला र अन्य सीमान्तीकृत समूहका साथीहरूलाई निरन्तर सक्रियता जनाइरहन गाह्रो भयो? के यो पनि हामीले पाउँदै आएका विभिन्न किसिमका संरचनात्मक लाभांशको कारणले थिएन र? यसै पछि हामीले ‘पासिङ द माइक’ को अवधारणालाई व्यवहारमा ल्याउँदै महिला, जनजाति, दलितलगायत सीमान्तीकृत समूहका साथीहरूलाई अघि सार्दै आफू सहयोगीको भूमिकामा रहने अभ्यास गर्‍यौँ। यो बाटो सहज छैन, किनकि समाजको संरचनामै असमानता छ। त्यसैले हाम्रो प्रयासले आंशिक सफलता मात्र पाउन सक्यो। जेन-जी आन्दोलनपछि चाहिँ केही सकारात्मक परिदृश्य देखिएको छ। थुप्रै युवा साथीले नेतृत्व गर्न थाल्नुभएको छ।

एउटा नागरिकका रूपमा म रूपान्तरणको बाटोमा हिँडिरहन प्रयत्नशील छु। आजका दिनमा म आफ्ना संरचनात्मक असंवेदनशीलता सबै सकिए र म ‘स्वतन्त्र’ भइसकेको छु भन्ने दाबी गर्दिनँ। मेरा असंवेदनशीलता अझै हुन सक्छन्। ती बुझ्ने र समाधान गर्ने प्रयत्नमा छु। संरचनात्मक लाभांश कुनै शाश्वत ज्ञानको चुचुरामा बसेर लेखिएको होइन। परिवर्तित भइरहने विचार, जीवन-अनुभव र अनुभूतिका गोरेटाहरूमा हिँड्दाहिँड्दै लेखिएको हो।

पुस्तक लेख्ने क्रममा तपाईंले आफ्नो कुनै पूर्वधारणामा पुनर्विचार गर्नुपर्ने क्षण पनि आयो कि?

यस्ता थुप्रै क्षणहरू आए। पुस्तकमा संरचनात्मक लाभांश (सैद्धान्तिक अवधारणा) र आत्मालोचनात्मक चेत (पद्धति वा विधि)को संयोजन भएकाले विश्लेषणको लेन्स बाह्य जगत्‌तिर मात्र नभएर आफ्नै जीवन-अनुभवहरूतिर तेर्स्याइरहनुपर्ने आवश्यकता थियो। आफ्नै वर्ग, जातजाति, लिंग र भूगोलसित जोडिएका आत्मपरिचयहरूलाई लगातार प्रश्न गरिरहनुपर्ने आवश्यकता थियो। आफूले प्रयोग गर्ने शब्दबारे समेत प्रश्न गरिरहनुपर्‍यो। कहिलेकाहीँ भाषा नै संरचनात्मक असंवेदनशीलताको अभिव्यक्ति बन्न पुग्दो रहेछ। म कुनै बेला ‘संरचनात्मक असंवेदनशीलता’ को साटो ‘संरचनात्मक अन्धता’ पदावली प्रयोग गर्थें। तर, सुर्खेतको एउटा कार्यक्रममा एक दृष्टिविहीन महिलाले मलाई प्रश्न गरिन्– के तपाईंले प्रयोग गरेको संरचनात्मक अन्धता भन्ने शब्दावलीले देख्न नसक्नेहरूप्रति अन्याय गर्दैन र?

उहाँको कुरा सही लाग्यो। संरचनात्मक असंवेदनशीलताबारे व्याख्या गर्ने क्रममा चयन गरेको शब्दले मेरै असंवेदनशीलता झल्काइरहेको रहेछ।

आत्मप्रशंसालाई प्रोत्साहन दिने आजको डिजिटल युगमा आत्मालोचनासहितको बौद्धिक बहसका चुनौती के हुन्?

आजको एल्गोरिदमिक डिजिटल युगमा मानिस झन् बढी आत्मकेन्द्रित बन्दै छन्। सामाजिक सञ्जाल मा ‘लाइक’ र ‘रिट्विट्स’ र ‘फलोअर्स’ गन्दै बस्ने मानिस सञ्जालमा अरूलाई मनग्य गाली त गर्छ, तर आत्मालोचना गर्दैन। मैले सबै जानेको छु भनेर सोचेमा आफूलाई प्रश्न नै गर्नु परेन। मैले जे जानेको छु, मेरो विचार आंशिक र अपूर्ण छ, समयअनुसार मेरा विचारमा समेत परिवर्तन आउन सक्छ भनेर सोचेमा त्यसले व्यक्तिगत अहंकारलाई कम गर्छ र मानिसलाई विनम्र बनाउँछ। आफ्नो ज्ञानको सीमितताको स्वीकारोक्तिले बौद्धिक बहसका लागि समेत सही धरातल निर्माण गर्छ। मैले यस ब्रह्माण्डका आदिदेखि अनन्तसम्मका सबै रहस्य बुझेको छु, मेरो विचार सर्वकालीन, अपरिवर्तनशील छ र उच्च छ भन्ने सोचेमा त बौद्धिक बहस नै हुन सक्दैन।

अनि अर्को कुरा, हाम्रा विचार प्राय: गरेर मौलिक नभएर समाजमा चलायमान विभिन्न किसिमका भाष्य वा आइडियोलजीबाट निर्मित हुन्छन्। यस सन्दर्भमा २०११ मा प्रकाशित मेरो पुस्तक सिद्धान्तका कुराका अन्तिम हरफहरू उद्धृत गर्न चाहन्छु, ‘के कस्ता आइडियोलजीले हाम्रा मनोभावना र मौलिक कहलिएका विचारलाई भित्रभित्रै निर्देशित गरिरहेका हुन्छन् भन्ने बुझेर मात्र हामी वास्तवमै मुक्त हुन सक्छौँ। आइडियोलजीका तहहरूलाई प्याजका पत्रलाई झैँ एक एक गर्दै उप्काउँदै गएमा मात्र आफैँसँग साक्षात्कार गर्ने जमर्को गर्न सकिन्छ। चलिआएका विचार मान्यताका तहहरू उप्कँदै जाँदा उत्पन्न भएको शून्यताले त्रास पनि उत्पन्न गर्न सक्ला। आफ्नो वर्गीय, जातीय, लैङ्गिक तथा संस्थागत परिचयलाई खलबलाउला कि भन्ने डर पनि उब्जाउन सक्ला। तर, त्यो शून्यता आफैँलाई खोज्ने प्रयासको पहिलो चरणसमेत बन्न सक्छ। सायद त्रासको पल्लो पारी स्वतन्त्रताको सम्भावना छ’ (२०६८ : ३३०)। आत्मालोचनासहितको बौद्धिक बहस पनि यसै बिन्दुबाट सुरु हुन्छ।

यो पुस्तकका लक्षित पाठक को हुन्? ती पाठकसँग तपाईंको कुनै अपेक्षा छ कि?

 यो पुस्तक सामाजिक न्यायको आदर्शप्रति प्रतिबद्ध सबैका लागि हो। मलाई लाग्छ, संरचनात्मक लाभांश, संरचनात्मक असंवेदनशीलता तथा आत्मालोचनात्मक चेत जस्ता अवधारणा भविष्यमा झनै सान्दर्भिक बन्दै जानेछ। जति जति नयाँ प्रविधि विकसित हुनेछन्, नयाँ किसिमका लाभांश पनि देखिनेछन्। यसबारे मैले पुस्तकमा ‘सांस्कृतिक र डिजिटल पुँजी’ तथा ‘वैश्विक अर्थतन्त्रको सीमान्तमा प्राविधिक लाभांश’ जस्ता उपशीर्षकअन्तर्गत केही छलफल गरेको छु।

मलाई लाग्छ, लोकतन्त्रको सही अभ्यास अन्ततः आत्मालोचनात्मक नागरिकमा निर्भर छ। त्यस्तो नागरिक जसले आफ्नो अनुभवलाई सम्पूर्ण सत्य ठान्दैन। जसले आफ्नो लाभांशलाई पहिचान गर्न सक्छ र आफ्ना सीमा स्वीकार गर्न सक्छ। लोकतन्त्रका लागि यस्ता नागरिक नेता र सांसदभन्दा कम महत्त्वपूर्ण छैनन्। संस्थाहरूले लोकतन्त्रलाई संरचना दिन्छन्। तर, नागरिक चेतनाले लोकतन्त्रलाई आत्मा दिन्छ।