काठमाडौँ। गएको साताभर ओरालो यात्रा समाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको सुरुआत पनि घटेरै बन्द भएको छ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले ओरालो लागेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १६.५४ अंकले घटेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.६२ प्रतिशतले घट्दै नेप्से २६३२.९६ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.८४ अंकले घटेर ४५५.८३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४० प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.५६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ प्रतिशतले घटेको छ।
सेयरबजारमा सोमबार ३५१ कम्पनीको ४४ हजार ९४२ पटकको कारोबारमा ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज २९ कम्पनीका मात्र सेयरमूल्य बढे। २४० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक ओरालो लागे।

राताम्मे बनेको नेप्सेमा सोमबार वाणिज्य बैंक ०.०९‚ विकास बैंक ०.७९‚ फाइनान्स १.१३‚ होटेल तथा पर्यटन १.१४‚ जलविद्युत् ०.७२‚ लगानी ०.८१‚ जीवन बिमा ०.६९‚ उत्पादन तथा प्रशोधन १.१४ र लघुवित्त समूहको सूचक ०.५९ प्रतिशतले ओरालो लागे। यस्तै म्युचुअल फन्ड ०.२४‚ निर्जीवन बिमा १.३९‚ अन्य ०.५१ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशले घटेको छ।
नेप्सेमा सोमबार टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने ५.८३ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको आठ करोड ८३ लाख ६२ हजार ५७८ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन ८०-२० म्युचुअल फन्ड अगाडि रह्यो। सोमबार यसको १० लाख ३६ हजार ९८१ युनिट कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट ११.३५ रुपैयाँ कायम रह्यो।