नियात्रा

बन्दीपुरबाट दमौली सदरमुकाम सार्ने क्रममा समुदायले भोगेको सास्ती

२७ असार २०८३
अ+
अ-

गण्डकी क्षेत्रका घरपरिवारको बसाइँसराइमा पहिलो रोजाइ हुन्थ्यो चितवन जिल्ला। यसरी लमजुङ-तनहुँबाट चितवन झर्नेहरूको उल्लेख्य उपस्थिति छ हाम्रो भेगमा। भरतपुर महानगरपालिकाअन्तर्गत हाल वडा नं ७ को कार्यालय रहेको ठाउँलाई शमीको चौतारो नामले चिनिन्छ। त्यहाँबाट अलिक पर छ, १३ साल चोक। २०१३ सालमा चितवन झरेकाहरूको बाहुल्य रहेकाले चोकको नाम नै १३ साल राखियो। चाडबाडको सँघारमा नाचगान प्रतियोगिता हुन्थ्यो; शमीको चौतारो, १३ साल चोक, बुद्ध चोक आदि ठाउँमा। कम्मर मर्काईमर्काई मगरभेषमा सजिएका युवायुवतीले गीतमार्फत बसाइँसराइँको झल्को दिन्थे :

जाऊँ न नानी चितौने फाँटैमा
के पो छ र पहाडे काँठैमा।

सायद समथर फाँट र सहज जीवनयापनको खोजीमा हाम्रो परिवार लमजुङबाट चितवन बसाइँ झरेको थियो। यसैगरी तनहुँबाट हाम्रा छिमेकी बन्न आएका थिए मावली बाजे-बज्यै, सपरिवार। मावली घरका चेलीबेटी सबैलाई मुखाग्र थियो एउटा गीत :

ल्याउन त ल्याए बाबा, बुल्ली खोला तरेर
भाटको छोरो निर्मलको ज्यानै मारेर

तीजको सँघारमा यो गीत बेस्सरी रन्किन्थ्यो। मीठो स्वरमा विरही भाका हाल्थे उनीहरू। सानो छँदा गीतका गेडामा निहित अन्तर्य के थियो? चासो रहने कुरै भएन। पछि पछि सोचिल्याउँदा यस गीतले ऐतिहासिक कुनै भयंकर घटनालाई बोकेर हिँडेझैँ लाग्थ्यो। खासगरी बुल्ली खोला र व्यक्ति निर्मलको प्रसंग कहाँनेर जोडिन्छ भन्ने कौतूहल थपिन्थ्यो। गएको तीजमा दिदीबहिनीसँगको बसिबियाँलोका क्रममा यस गीतको प्रसंग फेरि उठ्यो। तर, यसबारे हाम्रा नजिकका कसैलाई जानकारी रहेनछ।

बन्दीपुरबाट सदरमुकाम दमौली सार्ने प्रशासनिक निर्णय भएछ। तर, बन्दीपुरेहरूले कुनै हालतमा सार्न नदिने अडान राखेछन्। यता दमौली, गुणादी, कमलबारी अनि आसपासका जनता उर्लेर आएछन्, उक्लिहाले बन्दीपुर। अड्डाका मालमत्ता सबै निकालेर दमौली लान जुर्मुराएछन्।

केही महिनाअघि दमौली घुम्दै गर्दा माथिको गीतमा प्रयुक्त बुल्ली खोलासँग साक्षात्कार हुनगयो। बुल्ली त खासमा बुल्दी रहेछ। अझ पहिले त बुल्डी भनिन्थ्यो रे। मगर भाषामा डीको मतलब पानी रहेछ। बुल्दी खोला तनहुँकोे सदरमुकाम दमौलीसँगै टाँसिएको छ। सदरमुकाम दमौलीको नजिकै अवस्थित छ भादगाउँ। पृथ्वी राजमार्गलाई चिरेर बग्छ बुल्दी खोला, अनि यहीँको अर्को बस्ती भादगाउँतिर लाग्छ। अन्त्यमा मिसिन पुग्छ मादी नदीमा। यसैबीच मलाई माथिको गीतांशमा रहेका दुई शब्द बुल्दी खोला र निर्मलबीचको सम्बन्ध जान्ने हुटहुटी बढ्दै गयो।

बुल्दी खोला।

हालसालै दमौली जाने काम पर्‍यो। केही दिनको बसाइमा म यस गीतको जरासम्म पुग्ने कोसिस गर्दै थिएँ। एकदिन बिहानै बजार घुम्दै गर्दा भादगाउँनजिकै भेटिए दीर्घबहादुर दरै। त्यहाँ उनको खिच्रिङमिच्रिङ पाइने किराना पसल छ। चिया खाँदै थिए उनी, आँगनमा उभिएर। बुल्दी खोलाले बोकेको त्यही विरही भाका सुनाएँ उनलाई। सोधेँ– के छ यसभित्रको गाथा?

उनी घोत्लिन थाले, २०२५ कात्तिक महिनाको अन्तिम हप्ता सम्झँदै। त्यतिखेरसम्म तनहुँको सदरमुकाम बन्दीपुर रहेछ। २०२३ सालमा चीनको सहयोगमा पृथ्वी राजमार्ग खुलेछ। काठमाडौँ-चितवनलाई पोखरासँग सिधा जोड्ने गरी योजना-सर्भे थालिएछ। यही कारण बन्दीपुरबाट सदरमुकाम दमौली सार्ने प्रशासनिक निर्णय भएछ। तर, बन्दीपुरेहरूले कुनै हालतमा सार्न नदिने अडान राखेछन्। यता दमौली, गुणादी, कमलबारी अनि आसपासका जनता उर्लेर आएछन्, उक्लिहाले बन्दीपुर। अड्डाका मालमत्ता सबै निकालेर दमौली लान जुर्मुराएछन्। बन्दीपुरे जसरी पनि रोक्न खोज्दै थिए।

माथिबाट इँटा, ढुंगा, मुढा र भएभरका सामान बर्साउन थालेछन् बन्दीपुरेले। त्यही किच्चाघानमा परेर १५ वर्षे किशोर निर्मलको ज्यान गएछ। सोही घटनाको रापतापमा जन्मेछ तीजको विरही गीत– निर्मललाई सम्झँदै।

बन्दीपुरे र अड्डा दमौली सार्न तम्सेकाहरूबीचे भिडन्त सुरु भएछ। बन्दीपुर समुद्री सतहबाट १,३४४ मि. उचाइमा छ। माथिबाट इँटा, ढुंगा, मुढा र भएभरका सामान बर्साउन थालेछन् बन्दीपुरेले। त्यही किच्चाघानमा परेर १५ वर्षे किशोर निर्मलको ज्यान गएछ। उनी रहेछन् रानाभाट थरका। सोही घटनाको रापतापमा जन्मेछ तीजको विरही गीत– निर्मललाई सम्झँदै। अनि बुल्दी खोलाको यो सुस्केरा मादीको प्रवाहसँगै नारायणी नदीको बाटो समाउँदै चितवनका घरगाउँमा समेत गुन्जिन पुगेछ।

सदरमुकाम सार्ने क्रममा अनाहकमा मारिए निर्मल। तर, पनि धेरैको मानसपटलमा बसेका रहेछन् अझै। तिनै निर्मलको सम्झनामा स्थानीयले सदरमुकामछेउ निर्मल मावि चलाएका रहेछन्। दीर्घ दाइले नै निर्मल स्कुलको कुरा निकाले।

त्यही अपराह्न म उक्त स्कुल हाता प्रवेश गरेँ। फुटबल प्रतिस्पर्धा चलिरहेको थियो, विद्यार्थी केटाहरूको दुई टोलीबीच। अधिकांश दर्शक पुरुष थिए। खेल हेरिरहेका र घरीघरी थपडी मारिरहेका पाँच जनाको शिक्षक टोलीसँग परिचय भयो। उनैमध्येका एक थिए सूचना प्रविधि सिकाउने शिक्षक दीपक पन्थ। दीपक सरले नजिकैको सालिकछेउ लगे अनि भने– यिनै थिए निर्मल र यही सालिकसँगै बाँचेका छन्। अनि सम्झाइरहेछन् एउटा नमीठो विगत।

निर्मल रानाभाटको सालिक।

‘…….तनहुँ जिल्ला जामुने गाविस वडा नं ३ थानसिङ निवासी स्व. पिता लाल बहादुर र स्व. माता जुठी मायाँ रानाभाटका माइला सुपुत्र स्व. निर्मल रानाभाटले २०२५/०७/२५ गते तनहुँ जिल्ला सदरमुकाम दमौलीमा स्थानान्तरण गर्ने क्रममा बन्दीपुरमा सहादत प्राप्त गर्नुभएको हुँदा….’

७ फागुन २०७० मा अनावरण गरिएको अर्धकदको उक्त सालिकको तल लेखिएको माथिको व्यहोरा त्यो समयको एउटा त्रासदीको साक्षी बनिरहेको छ अद्यापि।

दीपक सरबाटै थाहा लाग्यो, सदरमुकाम सार्नका लागि त्यतिखेर दमौली र आसपासका क्षेत्रका हरेक घरबाट एक जना बन्दीपुर जानैपर्ने अन्यथा ५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी जारी भएछ। २०२५ सालतिर ५०० भनेको मनग्ये रकम थियो। सामान्य परिवारका लागि त्यति रकम हर्जाना तिर्नु पक्कै सहज थिएन। निर्मलका बाबुआमा घरमा थिएनन्, कतै तीर्थमा गएका थिए। निर्मल रानाभाट परिवारका माइला छोरा। उनका दाइ पनि घरमा रहनेछन्। अरू सानै थिए। तसर्थ उनी घरको प्रतिनिधित्व गर्दै मिसिएछन् बन्दीपुर जानेहरूमा। यसरी सदरमुकाम सार्दाका सहिद बन्न पुगे यी किशोर।

प्रचारप्रसार र प्रवर्द्धनको कमीले होला, तनहुँ र सदरमुकाम दमौली प्राथमिकतामा विरलै छ, पर्यटकीय गन्तव्यका लागि। बन्दीपुर भने धेरै पर्यटकको रोजाइमा छ सधैँ, पुरानो नेवार बस्ती र सुरम्य भूगोलका कारण।

उनी मरेको खबर फैलिएपछि बन्दीपुरेहरू हच्किएछन्। अनि विनारोकटोक सदर अड्डा दमौली पुगेछ। यो घटनापछि कतिपय बन्दीपुरे त लाखापाखा लागेछन्। पृथ्वी राजमार्ग प्रयोगमा आएपछि त दमौली व्यापारिक थलोका रूपमा मौलाउँदै गयो। अनि बन्दीपुर झन् ओझेल पर्न थाल्यो। फलस्वरूप अलिक सम्पन्न बन्दीपुरेहरू नजिकैको डुम्रे बजार तथा चितवनको नारायणगढमा गएर व्यापार-व्यवसाय थालेछन्। तर, त्यो घटना घटेको निकै वर्षसम्म दमौलीमा बन्दीपुरे साहुहरू भेटिँदैनथे रे।

निर्मल स्कुल उनको मृत्युको लगत्तैजसो खुलेको रहेछ। यो स्कुलमा निर्मलको नाममा छात्रवृत्तिको व्यवस्थासमेत गरिएको बताउँछन् शिक्षक दीपक पन्थ। हरेक वर्ष निर्मल स्मारिका प्रकाशित गरिन्छ। २०७५ सालको स्मारिका चाहिँ उनकै संस्मरण अंकका रूपमा प्रकाशित रहेछ। यसरी कलिलै उमेरमा मारिएका यी किशोर स्थानीयवासीको अग्रसरतामा बाँचिबसेका छन्; स्मारकमा, सालिकमा अनि गीतमा समेत।

साँझपख दमौली बजारको पूर्वी भाग।

आवागमनको केन्द्र चितवन जिल्लाको नारायणगढमा साहित्यिक गतिविधि बाक्लै हुन्छन्। कास्कीको पोखरा त सुन्दर नगरी भइगयो, आन्तरिक तथा बाह्य पर्यटकको भ्रमणको अग्र रोजाइमा पर्छ सधैँ। नारायणगढ र पोखराबीच अवस्थित तनहुँको दमौली उतिसारो गुलजार छैन, सिर्जनात्मक तथा व्यापारिक दुवै कोणले। खोंचमा रहेको यो बजार हिउँदमा मानहुँकोटलगायत वरपरका डाँडाहरूले ढाकिएर सेपिलो रहन्छ। अबेरसम्मै घाम देख्न मुस्किल पर्छ।

सदरमुकामबाट सात किमि दूरी र समुद्री सतहबाट १,०८० किमिमा रहेको मानहुँ डाँडा भने दमौलीलाई ड्याम्मै ढाकेर आफू पर्यटनको स्थानीय गन्तव्यमा परिणत भइरहेको छ यतिखेर। स्थानीयहरूको रोजाइको सेल्फी डाँडो भएको रहेछ। भानुभक्त र घाँसीलाई सम्झाइरहने घाँसीकुवाभन्दा अलिक तलको एउटा रमाइलो ठाउँ छ, घुमन्तेहरूको आकर्षक स्थल बनेको रहेछ हालसालै भाइरल डाँडाको रूपमा।

दमौलीमा जस्तै दुल्लुबाट दैलेख बजार (हालको नारायण नपा) सदरमुकाम सार्ने क्रममा हात हालाहाल, कुटाकुट, भागाभाग भएको घटना सुनाउँथे नगरवासीहरू।

त्यसबाहेक ऐतिहासिक तनहुँसुर पनि एक-डेढ घण्टामा पुग्न सकिन्छ। सदरमुकामनजिकै छ व्यास गुफा। तर, प्रचारप्रसार र प्रवर्द्धनको कमीले होला, तनहुँ र सदरमुकाम दमौली प्राथमिकतामा विरलै छ, पर्यटकीय गन्तव्यका लागि। बन्दीपुर भने धेरै पर्यटकको रोजाइमा छ सधैँ, पुरानो नेवार बस्ती र सुरम्य भूगोलका कारण।

त्यतिबेला दमौली बजारमा दराईहरूको बाहुल्य रहेछ। दमौली जस्तै रत्यौली, खर्काैली, अत्रौली यस्ता थुप्रै नामहरू छन् रे यता। सबै दराई भाषाबाट प्रचलनमा ल्याइएका, आधिकारिकता थप्दै थिए दीर्घ दाइ। सदरमुकाम सार्दाका सकस र यससँग जोडिएको ऐतिहासिकताबारे यहाँका पुराना बासिन्दा सबै जानिफकार रहेछन्।

दमौली बजार।

सदरमुकाम सार्ने क्रममा भएका यस्ता दंगा-वारदात अन्यत्र पनि होलान्। २०५५ सालतिर खानेपानीको काममा दैलेखको सदरमुकाम पुग्दा त्यहाँको पुरानो सदरमुकाम दुल्लु पुग्ने मौका मिलेको थियो। केही पुराना रजौटाका खण्डहर दरबार र केही अवशेष मात्र थिए त्यहाँ। दमौलीमा जस्तै दुल्लुबाट दैलेख बजार (हालको नारायण नपा) सदरमुकाम सार्ने क्रममा हात हालाहाल, कुटाकुट, भागाभाग भएको घटना सुनाउँथे नगरवासीहरू।

माझ किरात क्षेत्रको जिल्ला खोटाङको त नामकरण नै पुरानो सदरमुकामबाट भएको रहेछ। पहिले खोटेहाङ थियो सदरमुकाम, २०२५ सालतिर दिक्तेल सरेको सुनाउँछन्, खोटाङ मूलथलो बताउने हाल काठमाडौँ, कपनवासी नवनिधि दाहाल। उनले जनाए, ‘तर सदरमुकाम स्थानान्तरण सहज रूपमा सम्पन्न भएको थियो रे। कुनै अप्रिय घटना भएको सुनेको छैन।’

तनहुँको छिमेकी जिल्ला लमजुङको पनि पुरानो सदर अड्डा त कुन्छा रहेछ, पछि बेसीसहर सारिएछ। दमौलीमा अटोरिक्सा चलाएर गुजारा गरिबसेका लमजुङ मूलघर भएका भवी न्यौपाने सुनाउँदै थिए एक साँझ। तर, खासै नराम्रो घटना नभएको सम्झन्छन् उनी।

देशका अन्य जिल्लाका सदरअड्डाहरू पनि विभिन्न कालखण्डमा परिवर्तन भएको इतिहास छ। पञ्चायतकालमा उसरी नै शाही फर्मानमा बदलिएका छन् सदरमुकाम। बदली हुँदाका ती पेचिला समय पक्कै असहज थिए होलान् कतिपय ठाउँमा। सदरमुकाम परिवर्तन गर्दा भएगरेका अन्य घटनावलीको फेहरिस्तको यस्तै पेटारो बिस्तारै खुल्दै जाला।