दृष्टिकोण
सिन्धुबाट हिन्दुमा परिवर्तन हुने क्रममा कुनै बेला भूगोलको अर्थ दिने शब्दले मध्यकालमा आएर धर्म-पन्थको अर्थ ग्रहण गरेको हो।
हिन्दु शब्द अहिले धर्म-पन्थविशेष वा उक्त धर्म मान्ने धर्मावलम्बीको अर्थमा प्रयुक्त छ। प्राचीन कालदेखि यही अर्थमा यो शब्द चल्दै आएको जस्तो देखिए पनि त्यस्तो होइन। भूगोलका रूपमा प्रचलित सिन्धु शब्द कालान्तरमा उच्चारण फेरिएर हिन्दु बनेको हो।
यो शब्द कुनै पनि प्राचीन हिन्दु धर्मग्रन्थमा उल्लेख नभएको, अन्य धर्मग्रन्थमा पनि कतै नआएको भन्दै अनेक प्रश्न र टिप्पणी हुने गरेको छ। पक्ष-विपक्ष सबैले आफूअनुकूलको अर्थ लगाउने गरेको पनि पाइन्छ। तर, यो प्राचीन शब्द नै हो र यसको प्राचीनतालाई प्रकाशनमा ल्याइएन भने यससम्बन्धी अन्त्यहीन बहस अनेकौँ तहमा बहकिइरहने देखिन्छ।
हिन्दु धर्म-दर्शनका कुरा संस्कृत भाषामा लेखिएका हुन्छन्, तर ती धार्मिक ग्रन्थमा ‘हिन्दु’ शब्दको प्रयोग पाइँदैन। यही भएर ‘हिन्दु’ नयाँ धर्म भएको अवधारणा राख्नेहरू पनि पाइन्छन्। तर, आलोचकहरूले भन्ने गरे जस्तो यो दुईतीन सय वर्ष मात्रै पुरानो होइन। वैदिक कालदेखि प्रचलनमा रहेको वैदिक धर्मलाई नै पछि हिन्दु नामकरण गरिएको हो।
प्राचीन शब्द ‘सिन्धु’ लाई नै कालान्तरमा ‘हिन्दु’ भन्न थालिएकोबारे चर्चा गरौँ। सिन्धु शब्दबाट हिन्दुको उत्पत्ति भूगोल र उच्चारणको परिवर्तनका कारण भएको हो। सिन्धु नदीको किनारमा बसोबास गर्ने मानिसहरू र उनीहरूको सभ्यतालाई सिन्धु शब्दले जनाउँथ्यो, समयक्रममा त्यसलाई नै हिन्दु भनियो।
पर्सियन विद्वान् अल-बिरुनीको आफ्नो ग्रन्थ किताब-उल-हिन्द (लगभग १०३० ईस्वी)मा ‘हिन्दु’ शब्दलाई सिन्धु नदीपारिका बासिन्दाहरूको सांस्कृतिक र धार्मिक पहिचानका रूपमा प्रयोग गरेका छन्।
प्राचीन वैदिक ग्रन्थहरूमा उल्लिखित सिन्धु नदी (आधुनिक समयमा ‘इन्डस’)को नामबाट यस क्षेत्रका बासिन्दाको पहिचान गरिन्थ्यो। प्राचीन पर्सियन भाषामा संस्कृतको ‘स’ ध्वनि ‘ह’ मा परिवर्तन हुने प्रवृत्ति थियो। उदाहरणका लागि संस्कृतको ‘सप्त’ पर्सियनमा ‘हप्त’ हुन्छ। यही प्रक्रियाबाट ‘सप्ताह’ लाई ‘हप्ता’ भनिएको हो। त्यसैगरी ‘सिन्धु’ शब्द पर्सियनमा ‘हिन्दु’ बनेको हो।
यस शब्दले सुरुमा सिन्धु नदी र आसपासका क्षेत्र (आधुनिक पन्जाब, सिन्ध र उत्तर-पश्चिम भारत)लाई मात्र जनाउँथ्यो। पर्सियनहरूले सिन्धु नदीलाई सिमाना मानेर त्यसपारिको केही निश्चित क्षेत्रलाई ‘हिन्दुस्तान’ (हिन्दुहरूको भूमि अर्थात् सिन्धुहरूको भूमि) भन्न थालेका हुन्। पछि हिन्दु शब्दले सम्पूर्ण भारतीय उपमहाद्वीपलाई बुझाउन थाल्यो।
‘सिन्धु’ शब्दको प्रयोग ऋग्वेदमा १५० पटकभन्दा बढी उल्लेख भएको पाइन्छ। सिन्धु नदी र यस क्षेत्रलाई जनाउन त्यसरी उल्लेख भएको हो। त्यहाँ ‘सिन्धु’ धार्मिक पहिचानका रूपमा प्रयोग भएको छैन। अन्य वैदिक साहित्यमा पनि विशेषतः सामवेद, यजुर्वेद र अथर्ववेदमा पनि ‘सिन्धु’ शब्द भौगोलिक सन्दर्भमा मात्र प्रयोग भएको पाइन्छ।
हिन्दु शब्दले धार्मिक सन्दर्भ वा अर्थ ग्रहण कहिलेबाट गर्न थाल्यो भन्ने सन्दर्भ महत्त्वपूर्ण र रोचक छ। कुनै बेला भूगोलको अर्थ दिने यस शब्दले मध्यकालमा आएर मात्रै धर्मको अर्थ ग्रहण गरेको हो।
पर्सियन धर्म (जोरोआस्ट्रियनिज्म)को मूल ग्रन्थ अवेस्तामा ‘हप्त हिन्दु’ को उल्लेख छ। यो शब्दावली संस्कृत भाषाको ‘सप्त सिन्धु’ को पर्याय हो। यसले सिन्धु नदी र यसका सहायक नदीहरूलाई जनाउँछ। अवेस्ताको ‘यस्ना’ खण्डमा ‘हिन्दु’ शब्दको उल्लेख पाइन्छ। दारियस प्रथम (ईसापूर्व ५२२-४८६)को शिलालेखहरूमा ‘हिन्दुश’ शब्द प्रयोग भएको पाइन्छ। सिन्धु नदी क्षेत्रलाई बुझाउनकै लागि यो शब्दको प्रयोग गरिएको हो। यसमा भौगोलिक र प्रशासनिक सन्दर्भ बुझिन्छ।
हिन्दु शब्दले धार्मिक सन्दर्भ वा अर्थ ग्रहण कहिलेबाट गर्न थाल्यो भन्ने सन्दर्भ महत्त्वपूर्ण र रोचक छ। कुनै बेला भूगोलको अर्थ दिने यस शब्दले मध्यकालमा आएर मात्रै धर्मको अर्थ ग्रहण गरेको हो। मध्यकालमा विशेषगरी इस्लामिक आक्रमण र शासनको समयमा (आठौँ-११औँ शताब्दी) यसले धर्म सम्प्रदायका रूपमा मूर्त रूप लियो।
पर्सियन विद्वान् अल-बिरुनीको आफ्नो ग्रन्थ किताब-उल-हिन्द (लगभग १०३० ईस्वी)मा ‘हिन्दु’ शब्दलाई सिन्धु नदीपारिका बासिन्दाहरूको सांस्कृतिक र धार्मिक पहिचानका रूपमा प्रयोग गरेका छन्। उनले हिन्दु शब्द वेद, पुराण र अन्य दार्शनिक परम्परामा विश्वास गर्ने समुदायका रूपमा वर्णन गरेका छन्। उनले हिन्दु शब्द धार्मिक समुदायका रूपमा प्रयोग भएकोबारे सबैभन्दा विस्तृत अध्ययन गरेका छन्। अल-बिरुनीले हिन्दु धर्मका विभिन्न पक्ष जस्तै कर्म, मोक्ष र मूर्तिपूजाको वर्णन गरेका छन्।
आठौँ शताब्दीमा अरबी आक्रमणकारीहरू (जस्तै, मोहम्मद बिन कासिम) र पछिका तुर्की शासकहरूले सिन्धु र पन्जाबका बासिन्दालाई ‘हिन्दु’ भनेर सम्बोधन गरे। तर, त्यस समयमा हिन्दु भनेर भारतका बासिन्दा भन्ने अर्थमा पनि प्रयोग हुन्थ्यो।
आर्य समाजका संस्थापक स्वामी दयानन्द सरस्वतीले हिन्दु धर्मभन्दा बरु वैदिक धर्म भन्नु उपयुक्त हुने कुरा अगाडि ल्याएका थिए। अर्थात्, हिन्दु धर्म र वैदिक धर्म एउटै हो, संज्ञा मात्रै फरक परेको हो। तर, हिन्दु शब्द नै प्रचलनमा आयो।
औपनिवेशिक काल (१८औँ-१९औँ शताब्दी)मा बेलायती र अन्य युरोपेली विद्वान्हरूले भारतीय उपमहाद्वीपका गैरमुस्लिम, गैरइसाई, गैरजैन र गैरबौद्ध समुदायका लागि समेत ‘हिन्दु’ शब्द नै प्रयोग गरेका थिए। खासमा ब्रिटिसहरूले भारतमा जनगणना सुरु गर्दा हिन्दु धर्मको स्पष्ट परिभाषा नभएका कारण उनीहरूले धेरै समयसम्म जैन, शिख र बौद्ध धर्मलाई पनि हिन्दुअन्तर्गत नै राखेका थिए। यो शब्दले वैदिक, शैव, वैष्णव, शाक्त, आदि विभिन्न सम्प्रदायलाई एकीकृत रूपमा बुझाउन थाल्यो। हिन्दु समुदायका रूपमा जसलाई भनिएको थियो, तिनीहरूले यो शब्दलाई सहर्ष स्वीकार गरेको पाइन्छ।
हिन्दु धर्मको परिभाषा गर्ने काम १९औँ शताब्दीमा स्वामी विवेकानन्द (१८६३-१९०२), दयानन्द सरस्वती (१८२४-१८८३), राजा राममोहन राय, केशवचन्द्र, आदिले गरे। आर्य समाजका संस्थापक स्वामी दयानन्द सरस्वतीले हिन्दु धर्मभन्दा बरु वैदिक धर्म भन्नु उपयुक्त हुने कुरा अगाडि ल्याएका थिए। अर्थात्, हिन्दु धर्म र वैदिक धर्म एउटै हो, संज्ञा मात्रै फरक परेको हो। तर, हिन्दु शब्द नै प्रचलनमा आयो।
स्वामी विवेकानन्दले हिन्दु धर्मलाई सार्वभौम आध्यात्मिकता र सहिष्णुताका रूपमा परिभाषित गर्दै वेदान्त दर्शनलाई हिन्दु धर्मको मूल आत्मा माने। उनले सन् १८९३ मा अमेरिकाको सिकागोमा सम्पन्न धर्म संसद्मा हिन्दु धर्मको सार्वभौमिकता, सहिष्णुता र सबै धर्मप्रति सम्मान व्यक्त गर्दै विश्वमञ्चमा प्रस्तुत गरेका थिए।
उनका अनुसार हिन्दु धर्म एक जीवनशैली हो, जसले आत्मा र ब्रह्मको एकताको अनुभूति गराउँछ। अन्य विचारकहरूले पनि हिन्दु धर्ममा व्यापक सुधार गरी शिक्षा र नैतिकतामा जोड दिँदै आधुनिक रूपमा व्याख्या गरे। उनीहरूले जातिवाद, सतीप्रथा, बालविवाह जस्ता सामाजिक विकृतिविरुद्ध आवाज उठाउनु र धर्मलाई सामाजिक सुधारको साधन माने।
पुनर्जागरणकालका रूपमा लिन सकिने समयमा अरू कसैले भौगोलिक नाम सिन्धुलाई हिन्दु बनाए पनि र भौगोलिक अर्थ दिने ‘हिन्दु’ लाई अर्थान्तरण गरी धर्मका रूपमा चिनाए पनि सम्बन्धित समुदायले त्यसलाई ग्रहण गरिसकेपछि बाह्य पक्षले त्यसलाई सोही रूपमा लिनुको विकल्प छैन। तत्कालीन हिन्दु चिन्तकहरूले हिन्दु धर्मको नयाँ व्याख्या गर्दै यसलाई दर्शन, नीति र अध्यात्मसँग जोडेर आधुनिक सन्दर्भमा प्रस्तुत गरेका थिए। यसले उहिले उहिले हिन्दु धर्म भन्ने नै थिएन, यो त हिजोआज मात्रै विकसित भएको नयाँ धर्म हो भन्ने धारणालाई खण्डन गर्छ। हिन्दु धर्म नाम दिइनुअघि वैदिक धर्म थियो भन्ने बुझ्नुपर्छ। तर, हिन्दु नाम ग्रहण गर्ने बेलासम्ममा यसले आफूलाई धेरै परिमार्जन गरेको र जैन तथा बौद्ध धर्मदर्शनको प्रभावमा परेको भनेर बुझ्नु धार्मिक इतिहासको अर्को पाटो हो।