परिकार

धेरैले अनिकालको आहारा भनेर व्याख्या गरिएको सिप्लिगान होस् वा कोइरालो, हाम्रा परम्परागत खानालाई बाह्रै महिना बाह्रै काल पस्किँदै छ, घाम-छाया। सँगै जोगाइरहेको छ, खाद्य संरक्षणको हाम्रो परम्परागत ज्ञानलाई।

२ श्रावण २०८३
खानाको परिकार। तस्बिरहरू : राजेश घिमिरे
अ+
अ-

कुनै खानेकुराको तृष्णाले पनि गजबको छटपटी हुन्छ। कामका लागि लमजुङको बेसीसहर बसेको धेरै भएको थियो। काठमाडौँको सम्झना आउन थालेको थियो। सहरभन्दा पनि काठमाडौँको खानेकुरा बढी याद आइरहेका थिए। त्यसमध्ये मम एउटा थियो। ममको तृष्णाले छटपटिएको देखेर स्थानीय भ्लगर साथी आरिफले भन्यो, ‘म त जान मिलेन। मम खाने ठाउँ चाहिँ दाइलाई देखाइदिउँला।’

स्थानीय, मुस्लिम, त्यसमाथि शाकाहारी, आरिफ छिर्ने कुरा भएन, उसको घरनजिकै भीमसेनथानमा रहेछ उसले भनेको ठाउँ– एक ढोके मम घर। तर, बाहिरियाले नदेख्ने खालको, भित्रपट्टि। गाडीबाट उतारेर ठाउँ देखाउँदै आरिफले भन्यो, ‘केटाहरूले सबैभन्दा बेस्ट मम पाउने ठाउँ भन्छन्, ट्राई मार्नु न।’

तर, त्यहाँ केटाहरू मात्र थिएनन्, तरुनातरुनीदेखि हजुरबाआमा सबै थिए। कोही सुपसहित ममको मजा लिँदै थिए भने कोही सुपविना अचारसँग मात्र। काठमाडौँका कतिपय मम पसलमा जस्तो पहिल्यै पैसा तिर्न पर्ने हो कि भनेर काउन्टरनजिक केही बेर उभिएको देखेर पसलका भाइले भने– बस्नु न, के लिनुहुन्छ?

‘बफ’ मुखबाट सानो स्वर निक्लियो। उसले सँगै मम पकाइरहेकी महिलालाई भन्यो– एक प्लेट बफ मम। भरिभराउ टेबलहरूका बीचमा एक जना बस्ने ठाउँ देखेर त्यतै गएँ। त्यसमा बसेका भाइले पनि आफूलाई अलि कुनातिर सारे। उनीहरू तीन जना चिसो बियरसँग ममको मजा लिइरहेका थिए।

एक ढोके मम घरमा बनेको मम।

अर्को टेबलमा दुई किशोरीहरू गुलियो पेयसँग अचारको पिरोले र्‍याल निकाल्दै ‘हाहाहुहु’ गर्दै मम खाँदै थिए, टेबलमा ममको प्लेटसँगै थियो मुख पुछेको न्यापकिनको चाङ। अगाडिपट्टिको एउटा टेबलमा आमाबाबु आफ्नो गुथुले बच्चालाई टेबलमाथि नै राखेर मम खान सिकाउँदै थिए।

केही अघिसम्म काठमाडौँ सहर र त्यहाँको खानाको न्यास्रो लागिरहेको आफ्नो मन भने रमाउन थालिसकेको थियो। मम आयो, चटनी आयो। उम्दा खालको मम रहेछ, पिठो पातलो खोल, नरम र रसिलो मासु, पिरो-अमिलो अचार अनि ठिक्क पाकेको मम। मजा आयो। चाटचुट पारियो चटनीसमेत। अनि पैसा तिरेर बाटो लागियो। साँच्चै त्यसै ‘बेस्ट मम’ भनिएको होइन रहेछ।

स्वादिलो मुख र आनन्दित मन लिएर बाटोमा लखरलखर हिँड्दा फेरि भेट भए, बेंसीसहरको घलेगाउँ होटल एन्ड लजका प्यारा भाइ ओमप्रकाश गुरुङ। सबैले ओम्पे भन्ने आफूभन्दा आधा उमेरका यी भाइसँग केही वर्षअघि उनकै होटलमा बस्दा दोस्ती भएको थियो। बिहान भर्खर चिया खान भेटेका ओम्पे भाइले ‘भोलि बिहान भात खान आउनु है, १२ बजेतिर’ भनेर आदेशात्मक निम्तो दिएर हिँडे। उनले पनि बिहान सायद मेरो अनुहारमा निराशा देखेका थिए कि?

लोकल चिकेन।

भोलिपल्ट बिहान लुखुरलुखुर गएँ, गजब स्वागत गरे, तातो भात, चटनी, गाडेको अचार, तरकारी कालो दाल, अनि स्वादिष्ट, रसिलो खसीको मासुले। केही वर्षअघि यस होटेलमा सातआठ दिन बसेर तीन छाकै खाएका हुनाले घर जस्तै लाग्छ। त्यतिबेलाको खानाको स्वाद फेरिएको रहेनछ। मस्त खाइयो, पेट त भरियो तर मन भरिएन। तैपनि ओम्पे भाइलाई धन्यवाद दिँदै सोँफ चपाउँदै आफ्नो कामतिर लागियो।

कोइरालो।

त्यसको अर्को दिन ओमप्रकाश भाइ र विक्रम न्यौपाने भाइसँग पहिलो पटक गइएको थियो- घाम-छायामा। नाम खुब सुनेको तर जान मौका नमिलेको ठाउँ थियो यो। उत्तरी बेसीसहरमा मनाङे चौताराबाट सहजी खोलातिर ओर्लंदै गर्दा आउँछ, सहजी रंगशाला र बेसीसहरको आधिकारिक बसपार्क। त्यसैको ठिक्क अगाडि छ, घाम-छाया रेस्टुरेन्ट। त्यहाँ मस्तसँग दिवा भोज खाइयो। खाँदाखाँदै ओम्पे भाइ भन्दै थिए, ‘दाइले भातै खान्न, आफूलाई थप्नै लाज हुने, पैसै असुल हुन्न।’ खासमा त थालको बीचको भातभन्दा पनि त्यसवरपर राखिएका सागसब्जी, अचार र चटनीको पो महत्त्व हुने हो नि। घाम-छायाले भातसँग मौसमअनुसारका सबै खालका तरकारी र चटनी दिएको थियो। मन त्यसैमा रमाइरहेको थियो। यो ५-६ महिनाअघिको कुरा थियो।

कोइरालाको अचार।

अघिल्लो साता बेसीसहर जाँदा फेरि मौका जुर्‍यो घाम-छायामा भात खाने। भाउजू कमला श्रेष्ठले भात पस्केर टेबलमा राखेपछि पो याद भयो, वसन्त ऋतुमा मात्र पाइने सिप्लिकान र कोइरालो बडा सानले बसेका थिए त्यस थालमा। इथ्नोबोटानिकल (वनस्पतिविज्ञान र मानवशास्त्रको संयुक्त) अध्ययनहरूले चाहिँ सिप्लिकान र कोइरालोलगायतलाई नेपाल र भारतमा अनिकालको आहाराका रूपमा हेरेका छन्।

सन् २०१२ तिर ली-बर्डले चेपाङ समुदायले खाने वनस्पतिबारे गरेको एक अध्ययनले खेतीपातीको उब्जनीबाट नपुगेपछि उनीहरूले जीवन धान्न वनबाट संकलन गर्ने मुख्य स्रोतमध्ये सिप्लिकान, कोइरालो, गिठ्ठाभ्याकुर प्रमुख भएको देखाएको छ। जर्नल अफ एप्लाइड ठेस्साइन एन्ड बायोटेक्नोलोजीमा प्रकाशित राजी समुदायमा गरिएको एथ्नोबोटानिकल सर्वेक्षणले पनि घरको अन्नभण्डार शून्यमा पुग्दा उनीहरूले कोइरालाको फूललाई तरकारी वा अचारका रूपमा खाएर छाक टार्ने गरेको देखाएको छ।

हामी नेपालीले जसरी सिप्लिकानका कलिला पात र मुन्टा अन्यत्र कमै खाइँदो रहेछ। साह्रै तितो हुने भएकाले अनिकाल परेपछि मात्र यसको तरकारी खाइएको हो कि? दक्षिणी भारतको चेन्चु जनजातिले हामीले जसरी नै खाँदो रहेछ। दक्षिणी चीनको युनान प्रान्तका दुई जिल्लामा पनि सिप्लिकान खाइँदो रहेछ। त्यस्तै  चीनमा चाहिँ सिप्लिकानका कलिला पात र मुनाहरू संकलन गरेर खस्रो नुनमा मिसाएर अचार जस्तो ‘सुतोउ चाई’ बनाइन्छ, जसको अर्थ ‘रुखको टुप्पोबाट टिपिएको तरकारी’ हुन्छ। बाँकी संसारमा त आयुर्वेदले वरुण भनेर वर्णन गरिएको सिप्लिकानका औषधीय गुणका लागि यसका बोक्रा, फल, जरा, फूल र पातको प्रयोग हुने हो।

सिप्लिकान।

आफ्नै थालमा अनिकालको आहारा, त्यो पनि वर्षाको बेलामा देख्दा तीनछक पर्नु स्वाभाविक हो। त्यसमाथि वसन्त अर्थात् चैत-वैशाख महिनाभरि काठमाडौँ सहरमा बसे पनि कुन्नि कताबाट ल्याउँथे हाम्रा बाले, हरेक छाकमा सिप्लिकानको तरकारी पाक्थ्यो, अनि कोइरालोको अचार बन्थ्यो। त्यसैले पनि घाम-छाया रेस्टुरेन्टको थालीमा पस्किएको सिप्लिकानको स्वाद लिनासाथ बालापनका स्वादहरू मनभरि उर्लेर आए, अनि ‘अलि तितो हुन्छ, खाने कि नखाने’ भन्दै आमाले भातमाथि प्यात्त सिप्लिकान हालेको याद आयो। त्यसमाथि बजारमा कतै कहीँ टुसा देखिएको थिएन तर घाम-छायाको थालीमा सानदार तरिकाले टुसा र हरियो भटमासको तरकारी पस्किइएको थियो, कलिला टुसा, कतै कुनै रेसोधर्सो दाँतमा नअड्किने सुरुसुरु चपाएर स्वाद लिन सकिने टुसा।

भटमास र टुसाको तरकारी।

यी सबै कुरा जुटाउन घाम-छाया रेस्टुरेन्टका सञ्चालक तुलसीनारायण श्रेष्ठले निकै मिहिनेत गर्न पर्छ। उनी भन्छन्, ‘वरपरका सब गाउँतिर चहार्ने हो। भेटे जतिको तरकारी खोजेर ल्याउने हो। कति त पुराना सम्पर्ककाले पनि ल्याइदिन्छन्।’

हिसाब नै गर्दा पनि यसपालि करिब ४० हजार रुपैयाँको त सिप्लिकानका मुन्टा मात्र किनेछन्। तुलसीनारायण भन्छन्, ‘सिप्लिकान र कोइरालो चाहिँ किनेर ल्याएपछि सफा गर्ने अनि बफाउने र सुकाएर संरक्षण गर्छौ हामी। अनि चाहिएको बेलामा तातोपानीमा भिजाउने र तरकारी वा अचार बनाउने हो।’

टुसा र न्युरो चाहिँ त्यसरी भण्डारण गरेका छैनन्। प्राकृतिक रूपमा नै अलि लामो समय पाइने भएकाले त्यति साह्रै आवश्यक देखिएको छैन। तुलसीनारायण भन्छन्, ‘थरी थरीका जातका न्युरो त भदौ-असोजसम्म नै पाइन्छ।’ बरु घाम-छायामा तामा चाहिँ वर्षभरिलाई अमिल्याएर जोगाएर राखिन्छ।

एक ढोके म म घर।

त्यही भएर बेसीसहरमा घाम-छाया रेस्टुरेन्टको ख्याति चाहिँ समयमा नै अर्डर गर्नुपर्छ, जस्तै खाना पनि बनाइदिन्छन् भन्नेमा छ। दोर्दी किसेदी खुदीतिरबाट असला माछा हुन् कि गाउँतिर घाँस मात्र खाएका खसी, सबको व्यवस्था हुने रहेछ। तुलसीनारायणको यो काम विगत २३ वर्षदेखि निरन्तर छ। तुलसीनारायण र कमला श्रेष्ठको जोडीले सुरुमा मनाङे चौतारामा ६ वर्ष जति होटल चलाए। त्यसपछि सहजी बसपार्क अगाडि आए र अहिले १७ वर्षदेखि निरन्तर रूपमा हराउन लागेका नेपाली खाना खुवाउँदै बसेका छन्।

सञ्चालक तुलसीनारायण श्रेष्ठ र कमला श्रेष्ठ।

घाम-छाया रेस्टुरेन्टका सञ्चालक तुलसीनारायण श्रेष्ठ घाम-छायाका बारेमा कतै प्रचारप्रसार नगरेको बताउँछन्। जहाँको खानाले आफैँ प्रचार गर्न थाल्छ त्यहाँका साहुले प्रचार नै किन गर्न पर्‍यो र? मिठो खाना खाने लालसा पूर्ण भएपछि बेसीसहरतिर उकालो लाग्दै गर्दा लाग्यो– उनले प्रचारप्रसार नगरे पनि बेसीसहर आउँदा रैथाने खानेकुरा र हाम्रो मौलिक खानपान संस्कृतिका लागि जानैपर्ने एउटा गन्तव्य बनिसकेको छ, घाम-छाया।