पर्यटन
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा मोटरबाटो विस्तार, स्थानीयलाई सुविधा तर पदयात्रा पर्यटनमा असर
पोखरा। केही वर्षअघिसम्म म्याग्दीको घोडेपानी पुग्न पाँच दिन पैदल हिँड्नुपर्थ्यो। अहिले पोखराबाट जिप चढेपछि केही घण्टामै पुगिन्छ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोडेपानी–पुनहिल पदमार्ग चैत–वैशाखमा लालीगुराँस र शरद् ऋतुमा हिमाल हेर्न आउने पर्यटकको रोजाइमा पर्छ। कुनैबेला पदयात्री मात्र हिँड्ने यस बाटोमा अहिले जिप गुड्छन्। पदयात्री पनि बर्खामा हिलो छिचोल्दै र हिउँदमा धुलो झेल्दै त्यही मोटरबाटोमा हिँड्न बाध्य छन्।
सडक सञ्जालबाट घोडेपानी–पुनहिल पदयात्रा मात्र प्रभावित भएको छैन, अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकांश परम्परागत पदमार्ग सडकसँग जोडिएका छन्। सडकले स्थानीयको आवागमन सहज बनाएको छ। बिरामीलाई अस्पताल पुर्याउन र दैनिक उपभोगका सामान ढुवानी गर्न सजिलो भएको छ। तर, सडकले विश्वप्रसिद्ध पदयात्राको दूरी छोट्याउनुका साथै यसको अनुभव र आकर्षण पनि खुम्च्याएको छ।
कुनैबेला लमजुङबाट सुरु हुने राउन्ड अन्नपूर्ण पदयात्रा पूरा गर्न तीन सातासम्म लाग्थ्यो। अहिले जिप चामे, मनाङ गाउँ र खाङसारसम्म पुग्छ। यात्राको अवधि छोट्टिएर १० दिन जतिमा सीमित भएको छ।
हिँड्न चाहने पर्यटकले पनि धेरै ठाउँमा मोटर चल्ने सडक नै प्रयोग गर्नुपर्छ।
धुलोभित्र हराउँदै पदयात्रा
मनाङ ङिस्याङ गाउँपालिका-६ का पेमा छिरिङ गुरुङ सडकमा हिँड्नुपर्दा पर्यटकले बारम्बार गुनासो गर्ने बताउँछन्। “पर्यटक धुलो उड्यो भनेर गुनासो गर्छन्। तर, गुनासो गरेर के गर्ने?” उनी भन्छन्, “पहिले अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट १० पदमार्गमा पर्थ्यो। अहिले अवस्था बिग्रिएको छ। गाडीभित्र बस्दा त धुलोले छपक्कै ढाक्छ भने सडकमा हिँड्ने मानिसको हालत के होला?”
सडकसँगै छुट्टै पैदलमार्ग निर्माण गर्न पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। मोटरबाटोबाट एकदुई सय मिटर टाढा छुट्टै पदमार्ग बनाउन सके पनि पर्यटकलाई ठूलो राहत पुग्ने उनी बताउँछन्।

अन्नपूर्ण क्षेत्र। तस्बिर स्रोत : विकिमिडिया कमन्स
राउन्ड अन्नपूर्णका केही भागमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले वैकल्पिक पदमार्ग बनाएको छ। चामेबाट माथि लागेपछि पिसाङ र मनाङ गाउँ पुग्ने केही खण्डमा सडक छलेर पैदलमार्ग प्रयोग गर्न सकिन्छ। तर, अधिकांश क्षेत्रमा पर्यटक गाडी कुद्ने सडकमै हिँड्न बाध्य छन्।
पेमा वैकल्पिक पदमार्ग बनाउन एक्यापको मात्र मुख ताकेर नहुने बताउँछन्। स्थानीय समुदाय र पालिकाले पनि पहल गर्नुपर्ने उनको भनाइ छ। “एक्यापले हुम्दे र पिसाङ गाउँतिर केही बाटो बनाएको छ,” उनी भन्छन्, “आफ्नो गाउँमा पदमार्ग बनाउने जिम्मेवारी स्थानीयको पनि हो। प्रत्येक गाउँले आफ्नो क्षेत्रको बाटो बनाए काम हुन्छ। भिर वा कठिन भूगोल भएको ठाउँमा सरकारबाट योजना माग्न सकिन्छ।”
सडकले दिएको सुविधा
स्थानीयका लागि सडक केवल पर्यटनसँग जोडिएको विषय होइन, यो स्वास्थ्य सेवा, शिक्षा, बजार र दैनिक जीवनसँग जोडिएको आधारभूत पूर्वाधार हो।
मनाङ ङिस्याङ गाउँपालिका-६ का कर्म गुरुङ सडक पुगेपछि स्थानीयको जीवन धेरै सहज भएको बताउँछन्। “पहिले कोही बिरामी भयो भने बोकेर लमजुङतिर लैजानुपर्थ्यो वा हेलिकोप्टर बोलाउनुपर्थ्यो,” उनी भन्छन्, “हेलिकोप्टर बोलाउने पैसा सबैसँग हुँदैनथ्यो। अहिले गाडीमा तुरुन्तै लैजान सकिन्छ। सडकको सबैभन्दा राम्रो पक्ष यही हो।”
बस्ती र बजारसम्म सडक पुर्याउनु आवश्यक भए पनि पर्याप्त अध्ययन र दीर्घकालीन योजना नबनाई सडक विस्तार गर्दा पदमार्ग संकटमा परेको सरोकारवालाहरू बताउँछन्।
सडक पुगेपछि मनाङ घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन्, जसले पर्यटन व्यवसायलाई केही हदसम्म चलायमान बनाएको कर्म बताउँछन्। तर, विदेशी पदयात्री घट्दा पर्यटन व्यवसायमा असर परेको उनको अनुभव छ। “यातायातले सुविधा दिएको छ तर पर्यटनका अरू पक्ष बिग्रिरहेका छन्,” उनी भन्छन्, “सडक आएपछि परम्परागत पदयात्रामा असर परेको छ।”
वैकल्पिक पदमार्ग निर्माण गर्न एक्यापसँग आग्रह गरे पनि अपेक्षाअनुसार काम नभएको उनको गुनासो छ। “एक्यापले पर्यटकसँग प्रवेश शुल्क लिन्छ तर वैकल्पिक पदमार्ग पर्याप्त बनाएको छैन,” उनी भन्छन्, “काम गर्न नसक्ने हो भने शुल्क स्थानीय सरकारले उठाओस्। स्थानीय सरकारले पदमार्ग बनाउन सक्छ।”
पदमार्ग पछ्याउँदै सडक
बस्ती र बजारसम्म सडक पुर्याउनु आवश्यक भए पनि पर्याप्त अध्ययन र दीर्घकालीन योजना नबनाई सडक विस्तार गर्दा पदमार्ग संकटमा परेको सरोकारवालाहरू बताउँछन्।
उनीहरूको गुनासो सडक बनेकामा होइन, पर्यटक हिँड्ने पुरानै पदमार्गलाई मोटरबाटोमा परिणत गरिएकामा हो।
एक्याप प्रमुख रविन कडरिया पनि परम्परागत पदमार्गकै बाटो पछ्याउँदै सडक निर्माण भएकाले समस्या उत्पन्न भएको स्वीकार गर्छन्। “जहाँ हिँड्ने बाटो थियो, त्यही ठाउँमा मोटरबाटो गएको छ। त्यसैले समस्या भएको हो,” उनी भन्छन्, “मनाङ र मुस्ताङका केही ठाउँमा सडक छल्ने गरी वैकल्पिक पदमार्ग बनाइएका छन्। यद्यपि अझै धेरै ठाउँमा पर्यटकले सडकमै हिँड्नुपर्छ र धुलोको समस्या भोग्नुपर्छ।”

अन्नपूर्ण पदमार्गमा खच्चरमार्फत सामान ढुवानी। तस्बिर : प्रभाकर गौतम
एक्यापले सम्भव भएका स्थानमा पुराना पदमार्गलाई सडकबाट अलग गर्ने र सडक नपुगेका नयाँ पदमार्गलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिरहेको कडरिया बताउँछन्।
तर, भौगोलिक अवस्थाका कारण सबै ठाउँमा सडक छलेर पदमार्ग बनाउन सजिलो छैन। कतै खोला छन्, कतै ठाडा भिर। कतिपय ठाउँमा जलविद्युत् आयोजना र प्राकृतिक प्रकोपले पनि पुराना पदमार्ग क्षतिग्रस्त भएका छन्।
लमजुङको जगतबाट पदयात्रा सुरु गर्ने केही पर्यटक अहिले पनि पुरानो बाटो हुँदै तालसम्म पुग्छन्। तालभन्दा माथिका पदमार्ग भने बाढी, सडक र जलविद्युत् आयोजनाका कारण प्रभावित छन्।
“कतिपय ठाउँमा सडक छाडेर पदमार्गलाई जंगलतर्फ लैजान सकिन्छ कि भनेर अध्ययन भइरहेको छ,” कडरिया भन्छन्, “तर खोला र भिरका कारण धेरै ठाउँमा वैकल्पिक बाटो बनाउन गाह्रो छ। स्थानीय तह, समिति र एक्याप मिलेर सम्भव भएका ठाउँमा काम गरिरहेका छौँ।”
बाटो छोटिँदा हराएको अनुभव
ट्रेकिङ गाइड प्रतीक्षा खनालका अनुसार पर्यटक सडकमा हिँड्न मात्र अन्नपूर्ण आउँदैनन्। उनीहरू पुरानो अन्नपूर्ण सर्किटकै प्राकृतिक वातावरण र पदयात्राको अनुभवको अपेक्षा बोकेर आउँछन्। “पर्यटक विगतकै जस्तो अन्नपूर्ण सर्किटको अपेक्षा गरेर आउँछन्,” उनी भन्छिन्, “तर अहिले अन्नपूर्णले दिने मुख्य अनुभव दिन सकिएको छैन। धेरै ठाउँमा सडकमै हिँड्नुपर्छ। त्यसैले उहाँहरू अर्को सर्किटको विकल्प माग्नुहुन्छ।”
अन्नपूर्ण क्षेत्रमा सडक नपुगेका नयाँ पदमार्गलाई विकल्पका रूपमा अघि सार्ने प्रयास भइरहेको छ। धौलागिरि र मनास्लु क्षेत्रका पदमार्गलाई पनि विकल्पका रूपमा प्रवर्द्धन गर्न सकिने प्रतीक्षा बताउँछिन्।

अन्नपूर्ण क्षेत्रमा बनेको सडकमा हिँड्दै पदयात्री। तस्बिर : रिना थापा
तर, कुनै अर्को पदमार्गले अन्नपूर्णको पहिचानको विकल्प दिन नसक्ने उनको भनाइ छ। अन्नपूर्ण सर्किटले एउटै यात्रामा विविध भूगोल, संस्कृति, हावापानी, वनस्पति र हिमाली दृश्यको अनुभव गराउँछ। “अन्नपूर्णले दिने जैविक विविधता र प्राकृतिक सौन्दर्य अरू पदमार्गले दिन सक्दैनन्,” उनी भन्छिन्, “त्यसैले राउन्ड अन्नपूर्ण जोगाउन सडकभन्दा केही माथि वा तलबाट भए पनि वैकल्पिक पदमार्ग बनाउनुपर्छ।”
वैकल्पिक पदमार्ग लामो हुनैपर्छ भन्ने छैन। सडकको आवाज, धुलो र सवारीको चापबाट पदयात्रीलाई अलग गर्न सक्ने बाटो भए पनि पुरानो अन्नपूर्णको अनुभव केही हदसम्म जोगाउन सकिने उनी बताउँछिन्।
नयाँ गन्तव्यको खोजी
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष कृष्ण आचार्य सडकका कारण पुराना पदमार्ग छोटिँदै गएकाले नयाँ गन्तव्य पहिचान र प्रवर्द्धन गर्नुपर्ने बताउँछन्। “पदमार्ग सडकका कारण छोटिँदै गएका छन्,” उनी भन्छन्, “हामीले नयाँ गन्तव्य खोजेर प्रवर्द्धन गरेनौँ भने नेपाल आउने पर्यटक अर्को देश वा अर्को क्षेत्रमा मोडिन सक्छन्।”
टानले पछिल्लो समय धौलागिरि क्षेत्रका पदमार्गको प्रवर्द्धन र स्तरोन्नतिमा काम गरिरहेको उनी बताउँछन्। नयाँ पदमार्ग विकास गर्दा अन्नपूर्ण क्षेत्रमा भएको गल्ती दोहोरिन नदिनुपर्ने उनको भनाइ छ।

अन्नपूर्ण पदमार्गमा पदयात्री। तस्बिर : रिना थापा
तर, सडक बनेपछि त्यसको पारिपट्टि वैकल्पिक पदमार्ग बनाएर मात्र पर्यटकलाई हिँडाउन सजिलो नहुने आचार्यको अनुभव छ। “मनाङ र मुस्ताङमा सडकको पारिपट्टि वैकल्पिक पदमार्ग खोल्ने प्रयास भएको थियो,” उनी भन्छन्, “तर छेउमै मोटरबाटो भएपछि पर्यटकलाई लामो बाटो हिँड्न मानसिक रूपमा पनि गाह्रो हुँदो रहेछ। वैकल्पिक बाटो बनाएर मात्र हुँदैन, त्यसले पदयात्राको अनुभव र अर्थ पनि दिनुपर्छ।”
सडकले अन्नपूर्ण क्षेत्रका बासिन्दालाई उपचार, बजार र यातायातको सुविधा दिएको छ। त्यसैले सडक वा पदमार्गमध्ये एउटा मात्र रोज्ने होइन, बस्तीमा सडक पुर्याउँदै पदयात्रीका लागि धुलो, हिलो र सवारीको चापबाट अलग बाटो जोगाउने योजना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।
आचार्य भन्छन्, “जति बिग्रिए, बिग्रिए। अब नबिग्रिएका पदमार्गलाई जोगाउनुपर्छ।”