ब्लग
शिक्षण सिकाइलाई रुचिकर, प्रभावकारी बनाउन र विद्यार्थीमा पठन संस्कार विकास गराउन पनि शिक्षकहरूले पुस्तक, पत्रपत्रिका नियमित पढ्नुपर्ने हो तर स्थिति निराशाजनक छ।
पठनप्रति मेरो गहिरो रुचि छ। कान्तिपुर, द काठमान्डु पोस्ट र केही स्थानीय दैनिक पत्रिकाको वार्षिक ग्राहक बनेको दुई दशकभन्दा बढी भयो। विगतमा हिमाल, नेपाल र समय साप्ताहिक र वातावरणसम्बन्धी मासिक पत्रिका हाकाहाकी नियमित पढ्थेँ। ती पत्रिका बन्द भइसके। अहिले शिक्षक र नारी मासिकको नियमित पाठक हुँ। आफू मात्र पढ्ने होइन, सहकर्मी शिक्षकहरूलाई अरू केही पढ्न नभ्याए पनि ‘शिक्षक पत्रिका त पढ्नुपर्छ है’ भन्ने गरेकी छु।
पत्रपत्रिकासँगै पुस्तकहरू पढ्न शिक्षक साथीहरूलाई हौस्याउने गर्छु। पढ्दा हाम्रो भाषा र लेखनमा सुधार आउँछ, विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न सघाउ पुग्छ भनेर अक्षरको संसारमा फैलिन सुझाव दिने गरेकी छु।
अरू पेसा-व्यवसाय गर्नेहरूले पत्रपत्रिका र पुस्तक नियमित रूपमा नपढे पनि फरक नपर्ला, शिक्षाकर्मीहरूले त आफ्नो शिक्षण शैलीमा सुधार ल्याउन पनि नियमित पढ्नैपर्छ। अहिले सञ्चार प्रविधिमा सहज पहुँचका कारण सबै जना सामाजिक सञ्जालतिर मग्न छन्। पत्रपत्रिका र पुस्तकप्रतिको आकर्षण घट्दो छ। तर, पठन संस्कृति हराउँदै गएको यस समयमा पत्रपत्रिका र पुस्तकको मूल्य र महत्ता झनै बढेको छ। किनभने, सामाजिक सञ्जालमा आउने सूचना र जानकारी छिपछिपे, आधा-अधुरा मात्र छैनन्, अहिले त मिथ्या र भ्रामक सामग्रीको बिगबिगी छ। के सही के गलत भनेर छुट्याउन आममानिसलाई त हम्मे पर्छ। सञ्जालका प्रयोगकर्तासँग डिजिटल साक्षरताको ‘लाइफ ज्याकेट’ भएन भने विषाक्त संसारमा डुब्ने अवस्था छ।
पत्रपत्रिका र पुस्तक पढ्दा ज्ञानगुनका कुरा त थाहा हुने नै भयो, हाम्रो कल्पनाशीलता पनि बढ्छ। सिर्जनशीलता तिखारिन्छ। नयाँ विषय, विधि, प्रविधि र दुनियाँसँग साक्षात्कार हुन्छ।
हामी शिक्षकका लागि पुस्तक र पत्रिका पेसागत कर्मका लागि पनि सहयोगी हुन्छ। आफ्नो बुझाइको दायरा फराकिलो पार्न, नयाँ जानकारी बटुलेर आफूलाई अद्यावधिक बनाइराख्न, विद्यार्थीलाई नवीनतम ज्ञान दिन र नयाँ विधि-प्रविधिबाट सिकाउन पुस्तकले सघाउँछ।
विद्यार्थीलाई भविष्यको कर्णधार बनाउने अभिभारा बोकेका शिक्षकहरूमा पठन संस्कृति हराउँदै गएकाले पनि औपचारिक शिक्षा कमजोर र भुत्ते बन्दै गएको छ।
शिक्षकको पठन संस्कृतिले विद्यार्थीलाई पनि पढ्न प्रेरित गर्छ। अक्षरको दुनियाँमा रम्ने शिक्षकले ज्ञानको संसारबाट बटुलेको कुरा विद्यार्थीलाई सिकाउने त छँदै छ, शिक्षकले भनेर वा पढेको देखेर किताबी संसारमा डुबुल्की मार्न विद्यार्थी अग्रसर हुन सक्छन्।
पछिल्लो समय निजी विद्यालयहरूमा नेपाली भाषाको अनिवार्यता बढ्दै गएको छ। नेपालीका साथै सामाजिक अध्ययन पनि नेपाली भाषामा पढाइ हुन्छ। यस्तो अवस्थामा विद्यार्थीलाई विद्यालयमा शिक्षकले पढाएर मात्र पुग्दैन, घरमा अभिभावकले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। कक्षा १० मा पढ्ने मेरो नातिले बेलुकी खाना खाएपछि नियमितजसो पुस्तक पढ्छ। कहिले किशोर उपन्यास त कहिले मैले पढिसकेका गैरआख्यान, जीवनी र यात्रा संस्मरण कृति पढेर सुनाउँछ। पाठ्यक्रमबाहिरका पुस्तकहरू पढ्दा विद्यार्थीको शब्दभण्डार बढ्छ। यी पुस्तकले विभिन्न विषयप्रति रुचि जगाउँछन् र बुझाउँछन्। जसले स्वत: पठन संस्कृतिको विकास गराउँछ।
शिक्षकका लागि किताब महत्त्वपूर्ण भए पनि बहुसंख्यक भाषा-साहित्य पढाउनेहरूकै प्राथमिकतामा पनि पुस्तक र पत्रिका पर्दैन। शिक्षाकर्मीहरूसहित सबैजसोलाई पछिल्लो समय प्रविधिको सहज पहुँचले सामाजिक सञ्जालको भुलभुलैयामा पारेको छ। विद्यार्थीलाई भविष्यको कर्णधार बनाउने अभिभारा बोकेका शिक्षकहरूमा पठन संस्कृति हराउँदै गएकाले पनि औपचारिक शिक्षा कमजोर र भुत्ते बन्दै गएको छ।
शिक्षकलाई समाज रूपान्तरणका संवाहक भनिन्छ। तर, पठन संस्कार नभएका शिक्षकहरू नवीनतम ज्ञान-विज्ञानबाट टाढै रहने भएकाले रूपान्तरणकारी शक्ति उनीहरूमा हुँदैन।
शिक्षकलाई समाज रूपान्तरणका संवाहक भनिन्छ। तर, पठन संस्कार नभएका शिक्षकहरू नवीनतम ज्ञान-विज्ञानबाट टाढै रहने भएकाले रूपान्तरणकारी शक्ति उनीहरूमा हुँदैन। अध्ययनको भोको शिक्षकले आफ्ना विद्यार्थीमा पठन संस्कृति विकास र विस्तार गर्छन् भने नपढ्ने शिक्षकले आफ्नो सोही प्रवृत्ति विद्यार्थीमा हस्तान्तरण गर्दै जान्छन्। विद्यार्थीहरूमा पठन संस्कृतिको विकास नहुनुका अनेकौँ कारणमध्ये एउटा कारण शिक्षकहरूको निष्क्रियता पनि हो।
शिक्षण सिकाइलाई रुचिकर बनाउन शिक्षकहरूले आफूले पढाउने कोर्सबुकबाहेकका पुस्तकहरू पढ्न जरुरी हुन्छ। शिक्षकलक्षित पत्रिका र पुस्तकबाट प्राप्त हुने ज्ञानबाट शिक्षण कला मात्र सुध्रिँदैन, शिक्षकको व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पर्छ। शिक्षकहरूबाट कोर्सको कोरा पढाइ-लेखाइबाहेक ज्ञानगुनका कुरा सुन्न नपाएपछि विद्यार्थीमा स्कुले शिक्षाप्रति नै वितृष्णा जाग्न सक्छ।
दैनिक र मासिक पत्रिकाहरूमा बेलाबेला विभिन्न पुस्तकको समीक्षा पनि छापिएको हुन्छ। ती समीक्षाले पनि पाठकलाई पुस्तक पढ्न प्रेरित गर्छ। म आफैँ पनि पत्रपत्रिकामा छापिएका पुस्तक समीक्षा पढेर पुस्तक छनोट गर्छु। कहिलेकाहीँ सामाजिक सञ्जालमार्फत पुस्तक समीक्षा पढेपछि अनलाइनबाट मगाएर पढ्छु।
नियमित रूपमा पुस्तकहरू पढ्ने पाठकमा नयाँ सम्भावना र प्रतिभाको ढोका खुल्ने बाटो पनि हुन्छ। कतिपय पाठक समयक्रममा लेखकका रूपमा उदाउँछन्। म आफैँ पनि यस्ता पाठकको पंक्तिमा पर्छु। विगतमा शिक्षण पेसामै आफ्नो ऊर्जाशील समय खर्चेका तथा सेवानिवृत्त पाठकहरू आज पूर्णकालीन लेखक बनेका छन्। यसरी नियमित पढ्दै आएका पाठकहरूले पढेर आफूलाई तिखार्दै लेखकीय क्षमता मात्र बढाएका छैनन्, नयाँ पाठकहरू जन्माएर पठन संस्कृतिको विकासमा पनि योगदान गरिरहेका छन्।
पुस्तक र पत्रपत्रिका किन पढ्नुपर्छ भनेर बुझाउन र पठन संस्कृति विकास गर्न प्रकाशन गृहहरूले पनि शैक्षिक संस्थाहरूसँग समन्वय र सहकार्य गर्न जरुरी छ। साथै, स्थानीय तह मातहतको शिक्षा विभागले शिक्षक जस्ता पत्रिका हरेक विद्यालयमा पुर्याई बेलाबेला यससम्बन्धी छलफल कार्यक्रम चलाउन प्रधानाध्यापकहरूलाई परिपत्र जारी गर्नुपर्छ। शिक्षक र विद्यार्थीमा हुने पठन संस्कृतिले नै शिक्षण सिकाइ प्रभावकारी र जीवनोपयोगी बनाउन सक्छ।