काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।

प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहोरा, संस्कार कुमार, रवि थारू, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्। घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन्। घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यतैबाट टिमसँग समावेश हुनेछन्।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन्। व्यवस्थापक ओली भने केही दिनपछि जानेछन्।

खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछन्। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।

“यदि चाइनिज ताइपेई पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ। त्यहाँ हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुन्छ। ताइपेई थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिनेछौँ। भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्छौँ‚” तयारीबारे महासचिव झाले भने।

टोली प्रशिक्षणस्थलबाटै ३ देखि १८ असोजसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जानेछ। एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ सहभागिता हुनेछ। यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।

नेपाली महिला कबड्डीले पनि २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउनेछ। महिला टोली दोस्रोपटक सहभागी हुन लागेको हो। चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो। पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।

कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए।