इतिहास
विजयपुरको संरक्षणका लागि सांस्कृतिक प्रतीक स्थापनाको प्रतिस्पर्धा होइन, वैज्ञानिक उत्खनन र संग्रहालय निर्माण आवश्यक छ।
केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले धैर्य र संयम गुमाउँदै गए यसले सकारात्मक परिणाम दिँदैन। त्यसैले विवादमा जोडिएका सबै पक्ष एकै ठाउँमा बसेर समयमै समाधान खोज्न आवश्यक छ। अन्यथा यसले सामाजिक द्वन्द्वको रूप लिन सक्छ।
नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो, विजयपुर। राजा विजयनारायणले मोरङको वारातप्पाबाट यस ठाउँमा राजस्थल सारेपछि विजयपुर गुलजार भएको कथ्य ऐतिहासिक विवरणहरूमा पाइन्छ। केही पुराना पत्र र वंशावलीमा विजयनारायणलाई ‘मोरङ्ग्या राजा’ पनि भनिएको छ। उनलाई विस्थापित गरेपछि १६औँ शताब्दीतिर मकवानी सेनहरूलाई विजयपुरको राजा बनाइएको इतिहास छ।
इतिहासकार बाबुराम आचार्यले यहाँ याक्थुङ अर्थात् लिम्बूहरूलाई चौतरिया वा मुख्यमन्त्री बनाउने परम्परा रहेको उल्लेख गरेका छन्। इतिहासकार रमेश ढुंगेलले पनि सेनहरू सांस्कृतिक रूपमा राजा भए पनि विजयपुरको प्रशासनिक र राजनीतिक शक्ति लिम्बू हाङहरूको हातमा रहेको उल्लेख गरेका छन्।

विजयपुरकी रानी इन्दुविधाता सेनले विसं १७६३ मा जारी गरेको मोहर। तस्बिर स्रोत : जनकलाल शर्मा
याक्खा समुदायको पुत्लुङहाङ देवान वंशावलीमा विजयपुरका मुख्यमन्त्री चोखा राय, विचित्र राय, सिरिकान्त राय, जसकर्ण राय र बुद्धिकर्ण रायलाई आफ्ना पुर्खाका रूपमा उल्लेख गरिएको छ। लिम्बू समुदायका तिगेला खेवा र निङ्लेकुहरूले पनि आफ्नो वंशावलीमा विजयपुरका अन्तिम मुख्यमन्त्री बुद्धिकर्ण रायलाई पुर्खाका रूपमा उल्लेख गरेका छन्।
यी ऐतिहासिक व्यक्तिहरू कसका पुर्खा हुन् भन्नेबारे उपलब्ध अभिलेख, वंशावली र अन्य प्रमाणको तुलनात्मक तथा निष्पक्ष अध्ययनबाट निष्कर्षमा पुग्नुपर्छ। तर, त्यसभन्दा महत्त्वपूर्ण कुरा के हो भने विजयपुर मुलुककै साझा ऐतिहासिक धरोहर हो। यसको संरक्षणका लागि साझा हातेमालो जरुरी छ।
अहिले प्रमाण र ऐतिहासिक स्रोतमा आधारित बौद्धिक बहस हुनुपर्ने ठाउँमा पाखुरा सुर्किने र गालीगलौज गर्ने प्रवृत्ति देखिएको छ। सामाजिक सञ्जालमा देखिएको कटुता दीर्घकालीन द्वन्द्वमा परिणत भए विजयपुरको संरक्षण अभियान नै कमजोर हुनेछ। त्यसैले इतिहासकार, पुरातत्त्वविद्, स्थानीय समुदाय, सरोकारवाला संस्था र स्थानीय सरकार बसेर विवादित विषयको समाधान खोज्न अब ढिलो गर्नु हुँदैन।
पुरातात्त्विक अवशेषहरू भेला पारौँ
धरान खेलकुद, कला, साहित्य र पर्यटनका कारण पूर्वी नेपालकै चर्चित सहरमध्ये एक हो। तर, ऐतिहासिक महत्त्व हुँदाहुँदै ‘माल पाएर चाल नपाएको’ अवस्थामा गुज्रिरहेछ, यहाँकै विजयपुर दरबार क्षेत्र।
विजयपुर क्षेत्रको सुरक्षाका लागि कुनै समय बंकर शैलीका आडाहरू थिए। अहिले ती सबै पुरिएका वा अव्यवस्थित बसोबासबाट अतिक्रमित छन्।
विजयपुरको ऐतिहासिक दरबार क्षेत्र संरक्षण हुन नसक्नुमा धरानवासीलाई मात्र दोष दिन मिल्दैन। लामो समयसम्म चलेको पञ्चायती व्यवस्थामा सेनकालीन सम्पदाको संरक्षणमा पटक्कै चासो दिइएन। त्यसैले सेनकाली दरबार र गढीहरू खण्डहर अवस्थामा पुगे। मकवानपुरगढी र हरिहरपुरगढीको अवस्था नाजुक छ। सेनहरूको मुख्य क्षेत्र पाल्पामा पनि सेनकालीन सम्पदा संरक्षणमा पहल गरिएन। विजयपुरको पनि त्यही हालत भयो।
विजयपुर दरबार क्षेत्र जस्तो ऐतिहासिक र पुरातात्त्विक स्थलमा कंक्रिटका चिन्डो, सिलाम साक्मा, त्रिशूल वा अन्य कुनै प्रतीक आवश्यक छैनन्। त्यहाँ कुनै राजा, मुख्यमन्त्री वा चौतरियाको मूर्ति राख्नु पनि उचित हुँदैन।
शाहवंशले पराजित गरेको राजवंशका सम्पदा पनि मुलुककै ऐतिहासिक धरोहर हुन् भन्ने दृष्टिकोण राज्यमा विकास हुन सकेन। यही पूर्वाग्रहका कारण विजयपुर दरबार क्षेत्रका पुराना इँटासमेत अहिले सग्लो अवस्थामा पाउन कठिन छ।
अव्यवस्थित बसोबासका क्रममा यस क्षेत्रका पुराना इँटा र ढुंगा व्यक्तिका घर तथा पर्खाल निर्माणमा प्रयोग भए। अब बाँकी रहेका पुरातात्त्विक अवशेषको खोजी, अभिलेखीकरण, संकलन र संरक्षणमा तत्काल ध्यान दिनुपर्छ।
नयाँ कंक्रिट संरचना रोकौँ
हाम्रो देशमा बेलाबेला अचम्मका लहर चल्ने गरेका छन्। कुनै संरचना वा अवधारणा लोकप्रिय भएपछि त्यसको आवश्यकता र उपयोगिता नहेरी नक्कल गर्ने प्रवृत्ति छ। भ्युटावरदेखि विभिन्न सांस्कृतिक आकृति निर्माणसम्म यही प्रवृत्ति देखिन्छ।
यसैक्रममा चोक चोकमा अनेक आकृतिहरू ठड्याएर अनावश्यक र अनुत्पादक काममा पैसाको खोला बगाइएको छ। चिन्डो, सिलाम साक्मा, त्रिशूल, आदिको आकृति प्रतिस्थापनको पनि प्रतिस्पर्धा चलिरहेछ। विजयपुर क्षेत्रमा पनि चिन्डो र त्रिशूल स्थापना भएपछि विवाद थप चर्किएको हो। यसअघि नै कंक्रिटको पञ्चकन्या मन्दिर बनिसकेको छ।

विजयपुर क्षेत्रमा फेला परेको कुँदिएको ढुंगा। तस्बिर स्रोत : प्रदीप मेन्याङ्बो
विजयपुर दरबार क्षेत्र जस्तो ऐतिहासिक र पुरातात्त्विक स्थलमा कंक्रिटका चिन्डो, सिलाम साक्मा, त्रिशूल वा अन्य कुनै प्रतीक आवश्यक छैनन्। त्यहाँ कुनै राजा, मुख्यमन्त्री वा चौतरियाको मूर्ति राख्नु पनि उचित हुँदैन।
पुराना संरचना नष्ट गरेर ऐतिहासिक स्थलमा नयाँ कंक्रिट संरचना ठड्याउनु भनेको कालिदासले आफू बसेकै हाँगा काटेको कथा जस्तै हो। विजयपुरमा अहिले आवश्यक कुरा नयाँ संरचना निर्माण होइन। पुरानो दरबार क्षेत्रको वैज्ञानिक उत्खनन, त्यसको जग तथा अवशेषको संरक्षण र ऐतिहासिक स्वरूपको अभिलेखीकरण हो। त्यो नै असाध्यै अहम् र ऐतिहासिक कदम हुनेछ।
संग्रहालय बनाऔँ
पुरातात्त्विक तथा ऐतिहासिक धरोहर ज्ञानका भण्डार हुन्। त्यसैले पहिलो काम तिनको संरक्षण गर्नु हो।
यसअघि विजयपुर क्षेत्रमा पानी ट्यांकी निर्माण गर्न नदिई ऐतिहासिक र पुरातात्त्विक क्षेत्र संरक्षणका लागि आवाज उठाइएको थियो। अब फेरि कुनै पनि समुदाय, धर्म वा संस्कृतिका नाममा नयाँ संरचना निर्माण गर्नु हुँदैन। नयाँ संरचनाले ऐतिहासिक क्षेत्रको मौलिकता नष्ट गर्नुका साथै पुराना अवशेष हराउने जोखिम बढाउँछ।
विजयपुरमै आआफ्ना सांस्कृतिक प्रतीक गाड्न वा ठड्याउन पाउँदैमा जातीय वा सामुदायिक गौरव बढेर जाने होइन। यसो गर्न पाउनु वा नपाउनुलाई सामुदायिक प्रतिष्ठाको विषय पनि बनाइनु हुन्न।
दरबार क्षेत्रका रूपमा पहिचान गरिएको ठाउँको वैज्ञानिक उत्खनन गर्नुपर्छ। उत्खननबाट प्राप्त सामग्री, ऐतिहासिक पत्र, वंशावली, सिक्का, मोहर, हतियार, इँटा, ढुंगा र अन्य वस्तु संरक्षण गर्न मुख्य क्षेत्रभन्दा केही दूरीमा संग्रहालय बनाउन सकिन्छ। त्यसो गरेमा विजयपुरको इतिहासलाई जीवन्त राख्न सकिनेछ।
संग्रहालय अध्ययन केन्द्र बन्ने हुनाले इतिहास, पुरातत्त्व र सम्पदा पर्यटनमा रुचि राख्ने अनुसन्धाता, विद्यार्थी तथा पर्यटकलाई विजयपुरतर्फ आकर्षित गर्न सक्छ।
इतिहास लेखौँ
इमानसिंह चेम्जोङले किरातकालीन विजयपुरको इतिहास लेखेर महत्त्वपूर्ण योगदान दिएका छन्। उक्त कृतिमा रहेका कमजोरी र अपूर्णतालाई नयाँ प्रमाणका आधारमा संशोधन र परिमार्जन गर्न आवश्यक छ।
इतिहासकार प्रा. टेकबहादुर श्रेष्ठले विजयपुरको इतिहासबारे खोज गरिरहेको सुनिएको छ। उनीलगायत इतिहासकारबाट नयाँ तथ्य र विश्लेषणको अपेक्षा गर्न सकिन्छ। विजयपुरसम्बन्धी प्रशस्तै ऐतिहासिक पत्रहरू उपलब्ध छन्। त्यसको गजमा टेकेर पनि विजयपुरको इतिहासबारे नयाँ तथ्यहरू उद्घाटन गर्न सकिन्छ।

विजयपुरका मुख्यमन्त्री बुद्धिकर्ण राय मारिएपछि राजा प्रतापसिंह शाहले काजी अभिमानसिंह बस्नेतलाई लेखेको पत्र। तस्बिर स्रोत : निरञ्जनमानसिंह बस्नेत
देश संघीय संरचनामा गएपछि स्थानीय तहले पहिलेभन्दा बढी अधिकार र स्वायत्तता पाएका छन्। तर, धेरै पालिकाले आफ्नो अधिकारलाई भौतिक संरचना निर्माणमा मात्र केन्द्रित गरेका छन्। तीमध्ये कतिपय संरचना अनुत्पादक र स्थानीय आवश्यकतासँग असम्बन्धित छन्। विजयपुर दरबार क्षेत्र धरान उपमहानगरपालिकाभित्र पर्छ। तर, उपमहानगरपालिकाको नेतृत्वले यसको व्यवस्थित इतिहास लेखाउन कुनै पहल गरेको देखिँदैन।
पालिकाको जिम्मेवारी सडक, भवन, प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा मात्र सीमित हुँदैन। स्थानीय इतिहास, भाषा, संस्कृति र अभौतिक सम्पदाको खोज, अभिलेखीकरण र संरक्षण पनि त्यसको प्राथमिकतामा पर्नुपर्छ।
त्यसैले अब विजयपुरसम्बन्धी विवादलाई समाधान गरौँ। विजयपुरमै आआफ्ना सांस्कृतिक प्रतीक गाड्न वा ठड्याउन पाउँदैमा जातीय वा सामुदायिक गौरव बढेर जाने होइन। यसो गर्न पाउनु वा नपाउनुलाई सामुदायिक प्रतिष्ठाको विषय पनि बनाइनु हुन्न। आपसी द्वन्द्वबाट यसको संरक्षण सम्भव छैन। देशकै महत्त्वपूर्ण ऐतिहासिक धरोहर विजयपुर सबै मिलेर जोगाऔँ।