काभा भलिबल
काठमाडौँ। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज (बिहीबार) भएको खेलमा श्रीलंकासँग नेपाल पराजित भएको छ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३-२ कै सेटमा पराजित भएको थियो। पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायामशालामा आज भएको प्रतियोगितामा श्रीलंकासँग नेपाल ३-२ को सेटमा पराजित भएको हो।
श्रीलंकाले आज पहिलो सेटमा २५-१८ को जित निकालेको थियो। त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पार्यो। नेपालले दोस्रो सेट २५-२१ अंक र तेस्रो सेट २५-१९ अंकले जित्यो। श्रीलंकाले चौथो सेट २५-२१ अंकले आफनो पक्षमा पार्यो। अन्तिम सेट पनि श्रीलंकाले १५-११ ले हराउँदै जित हासिल गर्यो।
अब नेपालले आफ्नो तेस्रो खेल भोलि (शुक्रबार) आयोजक पाकिस्तानसँग खेल्नेछ। सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलंका, बांग्लादेश र उज्वेकिस्तान छन्।