सिंगारका स्टलमा दर्शकको आकर्षण
काठमाडौँ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी मेला’ सुरु भएको छ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा शनिबार र आइतबार (दुई दिन) चल्ने मेला ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको छ। मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।
श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई एकै स्थानबाट अनुभूति गराउने उद्देश्यले आयोजना गरिएको मेलामा मेहेन्दी उत्सव, भजन कन्सर्ट तथा विभिन्न धार्मिक, सांस्कृतिक र व्यावसायिक स्टलहरूसहितको ‘श्रावण बजार’ मुख्य आकर्षणका रूपमा छ। मेला बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।
स्वास्थ्य र तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहान ६ बजेदेखि ‘श्रावण रन’ (दौड) समेत आयोजना गरिएको छ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, बिग मार्टलगायत विभिन्न संस्थाले व्यावसायिक सहकार्य तथा प्रायोजन गरेका छन्।
आयोजकका अनुसार श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई एकै थलोमा उत्सवका रूपमा मनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

