काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणमा दक्षिण एसियाका इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्। काठमाडौँमा आइतबारदेखि सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन्।

सम्मेलनमा इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ता सम्मानित भएका हुन्। सम्मानित अभियन्तामा नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बांग्लादेशका सुमोन अहमद साबिर र भुटानका जिछेन थिन्ले छन्।

इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार यी अभियन्ताले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नु अघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्याउन र इन्टरनेटको व्यावसायिक सेवा विस्तारमा महत्त्वपूर्ण योगदान दिएका हुन्। इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रूपमा सम्मान गरिसकेको छ। उपाध्याय सानोगका संस्थापक हुन्।

भारतका नीरज सोनकरले सन् १९९५ मा भीएसएनएलमार्फत प्रथम व्यावसायिक इन्टरनेट सेवा जीआईएयस सुरु गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतकै सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टम मार्फत हजारौँ प्रयोगकर्तालाई अनलाइन सञ्चार परिचित गराएका थिए।

त्यसैगरी बांग्लादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकासलगायत तीन दशक लामो योगदानका कारण सम्मानित गरिएको हो। भुटानका थिन्चे प्रारम्भिक इन्टरनेट तथा जीएसएम मोबाइल नेटवर्क बिस्तारमा गरेको दीर्घकालीन योगदानका निम्ति सम्मान दिइएको विज्ञप्तिमा जनाइएको छ।

नेपालको पहिलो इन्टरनेट इनेबलर्स अवार्ड पाएका दिलीप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको सुरुवात गरेका थिए। छोटो समयमै उनले कम्पनीलाई नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गरेका छन्। आज वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ। नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको छ। विज्ञप्तिमा अग्रवालबारे भनिएको छ, “उनको नेतृत्वमा वर्ल्डलिंकले डायल-अप इन्टरनेटबाट मेट्रो इथरनेट हुँदै देशकै ठूलो फाइबर टु द होम नेटवर्कमध्ये एक निर्माण गरेको छ। यसले कर्णालीसहित दुर्गम क्षेत्रसम्म उच्चगतिको ब्रडब्यान्ड सेवा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। उनको योगदानलाई नेपालमा दक्षिण एसियामै उच्च ब्रडब्यान्ड पहुँच हासिल गर्न मद्दत पुर्‍याउने प्रमुख आधारहरूमध्ये एक मानिन्छ।”

इन्टरनेट इनेबलर्सको अवधारणा कोभिड महामारीपछि पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनमा जन्मिएको हो। वर्तमान समयमा इन्टरनेटले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य सेवा तथा सञ्चारका क्षेत्रलाई सशक्त बनाइरहेको भए पनि यसको आधार निर्माण गर्ने धेरै इन्जिनियर, नेटवर्क अपरेटर, शिक्षक तथा प्रविधि अभियन्ताहरूको योगदान प्राविधिक समुदायबाहिर अझै पनि व्यापक रूपमा परिचित हुन सकेको छैन।