नेप्से १.२१ प्रतिशतले घटे पनि कारोबार रकम भने ६ अर्ब नाघ्यो
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ३३.२८ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज १.२१ प्रतिशतले घट्दै नेप्से २७०१.३२ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.९८ अंकले घटेर ४७१.४९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४१ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.९९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४० प्रतिशतले घट्यो।
सेयरबजारमा सोमबार ३६० कम्पनीको ६९ हजार ८०३ पटकको कारोबारमा एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार ६ अर्ब आठ करोड आठ लाख ६३ हजार २५४ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज ३६ कम्पनीका सेयरमूल्य बढे। २३४ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा पाँच कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा बैंकिङ र म्युचुअल फन्ड समूहको सूचक बढ्दा बाँकी ११ समूहका सूचक घटे।
जसअनुसार नेप्सेमा सोमबार वाणिज्य बैंक समूहको सूचक ०.१० प्रतिशतले बढ्यो। विकास बैंक १.८२‚ फाइनान्स ०.७०‚ होटेल तथा पर्यटन २.२२‚ जलविद्युत् १.९०‚ लगानी ०.७०‚ जीवन बिमा १.२५‚ उत्पादन तथा प्रशोधन २.३० र लघुवित्त समूहको सूचक १.२७ प्रतिशतले घट्यो।

म्युचुअल फन्ड समूहको सूचक ०.१५ प्रतिशतले बढ्दा निर्जीवन बिमा १.२१‚ अन्य १.६९ र व्यापार समूहको उपसूचक २.२३ प्रतिशतले घट्यो।
नेप्सेमा सोमबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.३८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अगाडि रह्यो। सोमबार यसको १० लाख ८९ हजार २३१ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५५ रुपैयाँ कायम रह्यो।