प्रतिनिधिसभा निर्वाचन
कांग्रेसीहरूको गढ मानिएको मोरङमा रुबिनाले ५५ हजार ५१६ मत ल्याउँदै रचेको इतिहास
आठ वर्षअघि उनी विवेकशील साझा पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ का प्रत्याशी डा. सूर्यराज आचार्यको चुनावी प्रचारमा खटिएकी थिइन्। २०७४ सालमा सूर्यराजले चुनाव त जित्न सकेनन्, तर वैकल्पिक धारको प्रतिनिधित्व गर्दै सात हजार ४३७ जनाको मत जिते। यसपछि उनी सक्रिय राजनीतिबाट गुमनाम भए।
तर, उनको चुनावमा अहोरात्र खटिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुबिना आचार्यले मोरङको संसदीय राजनीतिमा इतिहास रचेकी छिन्। स्वर्गीय उज्ज्वल थापाको वैकल्पिक धार विवेकशील पार्टीको अभियानबाट प्रेरित भएर राजनीतिमा हाम फालेकी ३१ वर्षीया आचार्य मोरङ ६ मा ५५ हजार ५१६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। मोरङको संसदीय इतिहासमा अहिलेसम्म कुनै राजनीतिक दलका प्रत्याशीले यति धेरै मत ल्याउन सकेका थिएनन्।
यसअघि सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको सूचीमा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माको नाम अगाडि थियो। २०७९ सालमा उनले क्षेत्र नम्बर ३ बाट ४८ हजार ६३१ मत प्राप्त गरेका थिए।

घरदैलोका क्रममा रुबिना आचार्य। तस्बिर : आचार्यको फेसबुक
मोरङका अन्य उम्मेदवारभन्दा आचार्यको सफलता यसकारण पनि रोचक छ कि उनी संसदीय निर्वाचनमा पहिलो पल्ट सहभागी बनेकी थिइन्। जसमा उनले नेपाली कांग्रेसका अनुभवी नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतले पराजित गरिन्। कुल ८५ हजार १३० मत खसेको यस निर्वाचनमा डा. कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरे। २०७९ सालमा डा. कोइराला यही क्षेत्रबाट ३५ हजार २२४ मत ल्याएर विजयी भएका थिए। ८० हजार ४२६ मत खसेको त्यस निर्वाचनमा उनले नेकपा (एमाले)का लालबाबु पण्डित (२२ हजार ९४६)लाई पराजित गरेका थिए।
“प्रचार अभियान सञ्चालन गर्दै हामीलाई थाहा भइसकेको थियो, जित सुनिश्चित छ। तर, यति ठूलो मतान्तर अपेक्षा गरिएको थिएन,” आचार्यको प्रचारमा खटिएका प्रदीप उप्रेतीले नेपालन्युजसँग टेलिफोन कुराकानीमा भने। उप्रेती क्षेत्र नं. ६ का चुनावी कमान्डर मात्र थिएनन्, आचार्यका श्रीमान् पनि हुन्।
यो जोडी पहिलेदेखि उज्ज्वल थापाको विवेकशील अभियानमा सक्रिय थियो। पेसाले चार्टर्ड एकाउन्टेन्ट उप्रेती र आचार्यबीच विवेकशील अभियानमै लाग्दा प्रेम बसेको थियो र उनीहरूले २०७६ सालमा मागी बिहे गरेका थिए।
आचार्यको घर विराटनगर महानगरपालिका-४ स्थित आयल निगम क्षेत्रमा पर्छ भने उप्रेतीको घर चितवन खैरिनी-१० हो। उनको घर भएको ठाउँ चितवन १ मा पर्छ र यही क्षेत्रबाट रास्वपाकै हरि ढकालले ५८ हजार २०८ मत ल्याएर चुनाव जितिसकेका छन्।

श्रीमानसँग रुबिना आचार्य। तस्बिर : आचार्यको फेुसबुक
आचार्य यसअघि विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य थिइन्। चुनावअघि रास्वपा र विवेकशीलबीच एकीकरण हुँदा आचार्यले मोरङ ६ र रञ्जु न्यौपानेले काठमाडौँ १ बाट टिकट पाएका थिए। रोचक कुरा, यी दुवै महिला प्रत्याशी यसपालि प्रचण्ड बहुमतसहित निर्वाचित भएका छन्। रञ्जुले काठमाडौँ १ बाट १५ हजार ४५५ मत प्राप्त गर्दै जित हात पारेकी छिन्।
“आफ्नै गाउँठाउँमा उठ्दा केही गर्न सक्छु भनेर मैले मोरङबाट टिकट मागेकी हुँ,” आचार्य भन्छिन्। काठमाडौँ विश्वविद्यालयबाट एमबीए गरेकी आचार्य परिवारकी एक मात्र सन्तान हुन्। उनका बुवाको निधन भइसकेको छ भने आमाको हेरविचारका लागि प्रायः विराटनगर बस्थिन्।
जेन-जी आन्दोलनअघि उनलाई पूर्णकालीन राजनीति गर्ने कि नगर्ने भन्ने कुरामा दोधार थियो। तर, जेन-जी आन्दोलनमा मानसिक विक्षिप्त युवाहरूलाई ‘काउन्सिलिङ’ गर्ने क्रममा राज्यबाट भएको अत्यधिक बलका कारण उनको मन बदलियो।
जेन-जी आन्दोलनअघि उनलाई पूर्णकालीन राजनीति गर्ने कि नगर्ने भन्ने कुरामा दोधार थियो। तर, जेन-जी आन्दोलनमा मानसिक विक्षिप्त युवाहरूलाई ‘काउन्सिलिङ’ गर्ने क्रममा राज्यबाट भएको अत्यधिक बलका कारण उनको मन बदलियो। यसपछि उनले राजनीतिमा हाम फाल्ने मन बनाइन्।
“त्यो घटना सामान्य भएको भए मेरो मन परिवर्तन हुने थिएन। तर, राज्यबाट यस किसिमको निकृष्टताका कारण बाध्य भएँ,” उनी भन्छिन्।

चुनावअघि उनले आफ्नो अभियान गुपचुप राखेकी थिइन्। ज्यादा हल्लाखल्ला गर्नेभन्दा पनि नागरिकसँगको संवादलाई भित्रभित्रै तीव्र बनाइन्। “यस क्षेत्रका भोटरहरूको गुनासो थियो– पहिलेका उम्मेदवारहरू टुरिस्टजस्तै चुनावको बेला मात्र आइटोपल्ने र स्थानीयका समस्याबारे अनभिज्ञता प्रकट गर्ने रहेछन्,” उप्रेती भन्छन्।
मोरङ ६ का मतदाताका तीन वटा प्रमुख समस्या छन्। जसमा वर्षाका कारण बस्ती डुबान र कटान हुने, सुकुम्बासीको समस्याले मतदाता प्रभावित छन्। यी समस्याको समाधान खोज्न आफू प्रतिबद्ध रहेको आचार्यको भनाइ छ।