व्यक्तिवृत
जर्मनीका वास्तुकार हेनरिच मेएरको ५० वर्षे नेपाल नाता
जर्मनीका वास्तुकार (आर्किटेक्ट) हेनरिच मेएर नोभेम्बर १९७५ (मंसिर-पुस २०३२)मा पहिलो पटक नेपाल आएका थिए। राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा जर्मनी सरकारले नेपाल सरकारसमक्ष भक्तपुरलाई व्यवस्थित नगर बनाइदिने वाचा गरेको थियो। त्यही वाचाअनुसार भक्तपुर विकास परियोजना (भक्तपुर डेभलपमेन्ट प्रोजेक्ट- बीडीपी) सञ्चालनमा ल्याइएको थियो। मेएर त्यही परियोजनाको जागिरे भएर आएका वास्तुकार थिए। उनकै साथमा आएका थिए, मेएरकी श्रीमती हेइकी मेएर र उनीहरूकी जेठी छोरी।
भक्तपुरलाई कर्मथलो बनाएर मेएर परिवार चार वर्ष अर्थात् सन् १९७९ सम्म काठमाडौँमा बसे। त्यस क्रममा नेपालसँग गाँसिएको माया आज पनि उत्तिकै गहिरो र आत्मीय छ।
बितेका आधा शताब्दीमा मेएर कति पटक नेपाल आए, त्यसको उनले गन्ती पनि गरेका छैनन्। तथापि, समयको उतारचढावका बाबजुद उनले नेपालसँग गाँसेको नाता र यहाँ गरिरहेको कामलाई कति पनि खुकुलो हुन दिएका छैनन्। ८० वर्षे हेनरिच र ८१ वर्षकी हेइकीलाई प्रत्येक पटक नेपाल आउँदा आफ्ना पुराना मित्रहरूसँग भेटघाट गरेरै फुर्सद हुँदैन।
१४ चैतको शनिबार साँझ भक्तपुरका केही युवाले मेएरका कुरा सुन्न सानो जमघटको आयोजना गरेका थिए। अघिल्लो दिन मात्र मुस्ताङबाट काठमाडौँ फर्केका मेएर दम्पती दिनभरजसो परेको पानी र चिसो मौसमको पर्वाह नगरी जमघटका लागि निर्धारित थलो ख्वप छेँ पुगे। सांस्कृतिक सम्पदा संरक्षणमा अभिरुचि भएका र अध्ययन गरिरहेका उत्सुक भक्तपुरका युवाहरूसमक्ष हेनरिच र हेइकी झन्डै पाँच दशकअघि आफूले देखेको भक्तपुर र आजको भक्तपुरबारे रोचक तुलना गरिरहेका थिए। उनीहरूका कुरा जमघटमा सहभागी अधिकांश युवाका निम्ति कथा सुनेजस्तै भइरहेको थियो।
छोरीका लागि काठमाडौँ बसाइ
भक्तपुर विकास परियोजनाका जागिरे हेनरिचका सबै काम भक्तपुरमै हुन्थे। उनी भक्तपुरका चोक, गल्ली, टोल टोल घुम्थे, त्यहाँका मठमन्दिर, देवालय, देवप्रतिमाका अभिलेख राख्थे। भूकम्पले भत्किएर थुप्रिएका माटोका डंगुरमुनि सुन्दरतम देवप्रतिमा र अनुपम कलाकृति भेट्दा उनी मक्ख पर्थे। भक्तपुरलाई व्यवस्थित र सुन्दर बनाउने आफ्नो सरकारको वाचा पूरा गर्न त्यहाँका रुग्ण मठमन्दिर र देवालय पुनर्निर्माणका योजना कोर्थे। भक्तपुरको ढलनिकास र खानेपानी व्यवस्थित बनाउन अध्ययन गर्थे र कार्ययोजना बनाउँथे। निर्माण कार्यमा स्थानीयलाई रोजगारी दिएर उनीहरूको जीवन थोरै मात्र भए पनि सहज बनाउने प्रयास गर्थे।
हेनरिच भक्तपुरमा दिनभर काम गर्थे, बस्न भने काठमाडौँ नै फर्कन्थे। यसो गर्नुमा पारिवारिक कारण थियो। हेइकीको भनाइमा तिनताक भक्तपुरको बालमृत्यु दर निकै उच्च थियो र सानै उमेरकी आफ्नी छोरीको सुरक्षाका निम्ति उनीहरूले आउन-जान गाह्रो हुने भए पनि काठमाडौँ बस्ने निधो गरेका थिए।
उतिबेला भक्तपुरमा विदेशी भाषा बोल्ने मानिस त के, नेपाली भाषा बोल्नेहरू फेला पार्न पनि मुस्किल हुन्थ्यो। तर, अहिले भक्तपुरको नयाँ पुस्ताले विदेशी भाषामा सजिलै संवाद गरेको सुन्दा समयले कोल्टे फेरेको अनुभव गर्छन् मेएर दम्पती।
उतिबेला भक्तपुर निकै फोहोर थियो। मूल बजारकै बाटोमा मानिसका मलमूत्र देख्नु कुनै आश्चर्यको कुरा थिएन। मेएर दम्पती आज पनि भक्तपुर आउँदा सम्झन्छन्, उतिबेला जताततै देखिने काला सुँगुरहरू। बाटामा काला सुँगुर दौडिरहेको दृश्य सामान्य मानिन्थ्यो। “छोरीको मायाले मेरै जिद्दीका कारण हामी काठमाडौँमा बस्यौँ। भक्तपुर उतिबेला वास्तवमै बस्नलायक ठाउँ थिएन,” हेइकीले खुलेर भनिन्।
मानिसको घरमा शौचालय हुँदैनथ्यो। खोलाको किनार र खुला मैदान नै भक्तपुरवासीका शौचालय थिए। सांस्कृतिक रूपमा भक्तपुर समृद्ध भएर पनि सरसफाइको अवस्था निकै टीठलाग्दो थियो। मानिसहरूको जीवनस्तर ज्यादै न्यून थियो। स्थानीयहरूको शैक्षिक र स्वास्थ्यको अवस्था नाजुक थियो। सबैजसो मानिस पेसाले किसान थिए। लवाइखवाइ, सरसफाइ, बोलीचाली सबै हिसाबले भक्तपुर निकै पछाडि परेको नगर मानिन्थ्यो।

अचेल भने मेएर दम्पती नेपाल आउँदा प्रत्येक पटक भक्तपुरमै बस्न मन पराउँछन्। उनीहरू यसपटक भक्तपुरको नागपुखु गेस्ट हाउसमा बसेका थिए। कुनै बेला वास बस्ने कल्पना गर्न पनि गाह्रो ठाउँमा उनीहरू खुसी मानेर बस्छन् र घुम्छन्। भक्तपुर नेपालकै सफा र सुन्दर नगर बनेको छ।
उतिबेला भक्तपुरमा विदेशी भाषा बोल्ने मानिस त के, नेपाली भाषा बोल्नेहरू फेला पार्न पनि मुस्किल हुन्थ्यो। तर, अहिले भक्तपुरको नयाँ पुस्ताले विदेशी भाषामा सजिलै संवाद गरेको सुन्दा समयले कोल्टे फेरेको अनुभव गर्छन् मेएर दम्पती। कुनै बेला काला सुँगुर दौडिने बाटा र मानिसका मलमूत्रले गन्हाउने चोक आज चिटिक्क भएका छन्। सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुरले रेकर्ड राखेको छ। यी सबै कुरा देख्दा कुनै बेला आफूले देखेको भक्तपुर आफ्नै लागि कथा जस्तो लाग्छ उनीहरूलाई।
काष्ठकलामा मोहित
वास्तुकार हेनरिच त्यही दक्षता र विशेषज्ञताका कारण भक्तपुर आएका थिए। नगरलाई व्यवस्थित बनाउने योजना बुन्नु नै उनको पेशा हो। सन् १९७९ मा नेपालबाट फर्केपछि उनले दक्षिण-पश्चिम जर्मनीको अफेनवर्ग नगरका सम्पदा संरक्षणविद्का रूपमा सन् २००९ सम्म काम गरे।
वास्तुकारका रूपमा नेपाल आए पनि हेनरिचले यहाँ बस्ने क्रममा आफूलाई जागिरे कर्ममा मात्र सीमित राखेनन्। भक्तपुरका काष्ठकलाप्रति उनी मोहित थिए। लिच्छविकालीन र मल्लकालीन काष्ठकला देख्दा मुग्ध हुन्थे। आफूसँग भएको निकोन क्यामेराबाट ती सुन्दर कलाकृतिको तस्बिर खिच्थे, तस्बिर धुलाउँथे र आफ्नो संकलनमा राख्थे।
काष्ठकलाप्रति उनको त्यही लगावले उनी भक्तपुरका काष्ठ कलाकार (सिकर्मी)हरूसँग नजिकिए। उनको विचारमा काठमाडौँमा काष्ठकलाको शृंगार नभएको कुनै मन्दिर वा ऐतिहासिक भवन छैन। काष्ठकलाको शिल्पमा धनी भक्तपुरका सिकर्मी समुदायले सयौँ वर्षदेखि आफ्नो शिल्प बाबुबाट छोरालाई सिकाउँदै पुस्तौँपुस्तासम्म धान्दै आएको छ।

लिच्छविकाल र मल्लकाल काठमाडौँ उपत्यकामा काष्ठकलाको स्वर्णयुग थियो। त्यतिबेला बनेका विशिष्ट काष्ठकलाले नेपाली कलाको इतिहासलाई आजसम्म प्रतिनिधित्व गरिरहेका छन्। तर, मल्लकालको अन्त्यपछि आर्थिक र राजनीतिक कारण काष्ठकला र शिल्प पनि ओरालो लाग्यो। मल्लकालमा जस्तो मिहिन कला त्यसपछिका काष्ठकलामा देखिएन। हेनरिचका अनुसार त्यो अवस्थामा परिवर्तन ल्याउन भक्तपुर विकास परियोजनाले सन् १९७० दशकमा थालेको काष्ठकला तालिम र प्रवर्द्धनले महत्त्वपूर्ण भूमिका खेल्यो। परियोजनाका उद्देश्यमध्ये काष्ठकलाको खस्कँदो गुणस्तर उकास्नु र पुरानो विशिष्ट शिल्पलाई पुनः प्रवर्द्धन गर्नु पनि थियो। त्यही लक्ष्यअनुसार ३५० जना सिकर्मीलाई काष्ठकलाको तालिम दिइएको थियो। तालिम लिने सिकर्मीहरूलाई रोजगार बनाई आर्थिक स्तर उकास्ने प्रयास पनि गरिएको थियो। त्यतिबेलाका तालिमेहरू नै आज भक्तपुर मात्र होइन, सिंगो नेपालकै अब्बल काष्ठकलाकार बनेका छन्। काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरलाई तिनै सिकर्मीका कलाले आकर्षक र भव्य बनाएका छन्।
नेपाल र विभिन्न देशमा समेत निर्यात हुने साना-ठूला सुन्दर काष्ठकलामा तिनै सिपालु हातहरूको मिहिनेत र शिल्प निहित छ। उनीहरूको मिहिनेत र लगनशील स्वभावले भक्तपुरको काष्ठकला बीचको कालखण्ड (शाहकाल र राणाकाल)मा खस्किए पनि आज पुनः मल्लकालको विशिष्टता समाउने गतिमा छ।
सन् १९७० दशकमै भक्तपुरको ताजमठ बनाउन ७५ जनासम्म सिकर्मीलाई काममा लगाइएको थियो। ताजमठका झ्याल, ढोका, तोरण, खाँबोमा बुट्टा कुँद्ने क्रममा उनीहरूले सिकेका शिल्पले नै उनीहरूमध्ये धेरैलाई आजसम्म पनि उत्तम काष्ठकलाकार बनाएको छ। हेनरिचको अध्ययनअनुसार आज पनि भक्तपुरका आठ सयदेखि एक हजारसम्म सिकर्मी काष्ठकला पेसामा संलग्न छन्। उनीहरूले नै भक्तपुरलाई काष्ठ कलाकारहरूको नगर बनाएको उनको भनाइ छ।
नेपाल र विभिन्न देशमा समेत निर्यात हुने साना-ठूला सुन्दर काष्ठकलामा तिनै सिपालु हातहरूको मिहिनेत र शिल्प निहित छ। उनीहरूको मिहिनेत र लगनशील स्वभावले भक्तपुरको काष्ठकला बीचको कालखण्ड (शाहकाल र राणाकाल)मा खस्किए पनि आज पुनः मल्लकालको विशिष्टता समाउने गतिमा छ। हेनरिच भक्तपुरको आजको काष्ठकलामा मल्लकालकै जस्तो मिहिनता भएको बताउँछन्।
काष्ठकलाको अभिलेखीकरण
काष्ठकलाप्रति हेनरिचको आकर्षण व्यक्तिगत अवलोकनमा मात्र सीमित रहेन। उनले आफूले भक्तपुर विकास परियोजनाको जागिरे हुँदाका बखत खिचेका भक्तपुर र काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक-ऐतिहासिक बस्ती (जस्तै– काठमाडौँ, पाटन, गोकर्णेश्वर, पनौती आदि)मा रहेका काष्ठकलाका तस्बिर जोगाएर राखेका थिए। २०७२ सालको भूकम्पको केही महिनापछि हेनरिच नेपाल आए र कुनै बेला आफू मोहित भएका कलाकृतिहरू भत्केको र बिग्रेको देखेर भावुक बने। आफ्नो संकलनमा रहेका विभिन्न कलाकृतिका तस्बिर नै ती भत्केबिग्रेका कलाकृतिका असली स्वरूप थिए। बिग्रेभत्केका कलाकृतिको तस्बिर सबैलाई देखाउनु र अस्तित्वमा रहेका विशिष्ट काष्ठकलाकृतिलाई जोगाउनु र अभिलेखीकरण गर्नुलाई उनले आफ्नो दायित्व ठाने।
त्यही दायित्वबोधले हेनरिचले काठमाडौँ उपत्यकाका तीनवटै ठूला सहर र वरपरका साना बस्तीका विशिष्ट काष्ठकलालाई तस्बिरमा संग्रह गरे। तिनका विशेषता र विशिष्टता पर्गेले। तिनका मिहिन कलालाई उजागर गरे। तिनै तस्बिरको संकलन गरी उनले अंग्रेजी र जर्मनी भाषामा एउटा संग्रहणीय पुस्तक प्रकाशन गरे– काष्ठकला : द आर्ट अफ नेपलिज उडकार्भिङ। बज्र बुक्सले छापेको २०० भन्दा बढी पृष्ठको सो पुस्तकमा पाँच शीर्षकमा २०० भन्दा बढी तस्बिर छन्। काठमाडौँ उपत्यकाका मठमन्दिर, देवालय र ऐतिहासिक भवनमा रहेका कलात्मक काठे टुँडाल, झ्याल, ढोका, तोरण र खाँबोका तस्बिरमार्फत सो पुस्तकले काष्ठकलाका विभिन्न प्रकार र विशेषताको समेत सचित्र वर्णन गरेको छ।
मल्लकालदेखि नै ती काष्ठकलालाई तिनका विशेषताअनुसार विभिन्न वर्गमा वर्गीकरण गरिएको थियो। उदाहरणका लागि, मन्दिरका टुँडाल सालभञ्जिका, मैथुन आदि वर्गमा तथा झ्यालहरू (झ्या) पासुका झ्या, गहझ्या, टिकिझ्या, तस्बिर झ्या जस्ता वर्गमा विभाजित छन्। हेनरिचले पुस्तकमा त्यस्ता वर्गहरूलाई विभिन्न कालखण्ड र विशेषताका तस्बिरसहित प्रस्ट पारेका छन्।

त्यसबाहेक विभिन्न मन्दिर, देवालयका काठे ढोका, तोरण र खाँबोका तस्बिरले तिनका विविध स्वरूप र वर्गको पनि पुस्तकमा अभिलेखीकरण गरिएको छ।
यस प्रकारको विस्तारपूर्ण सचित्र प्रस्तुतिले हेनरिचको पुस्तक काठमाडौँका काष्ठकलाको मात्र नभई नेपाली कला र सभ्यता, विशेषतः नेवाः कला र सभ्यताको इतिहासकै संग्रह बनेको छ। पुस्तकमा संकलित तस्बिरहरू भविष्यमा ती अमूल्य निधिको संरक्षण र संवर्द्धनका निम्ति पनि उपयोगी हुनेछन्।
काष्ठकला : द आर्ट अफ नेपलिज उडकार्भिङ हेनरिचको एक मात्र पुस्तक भने होइन। उनले यसअघि नेपाल, भारत र तिब्बतमा प्रयोग गरिने परम्परागत ताल्चाहरूको अध्ययन गरी प्याडलक अफ इन्डिया एन्ड द हिमालयज् प्रकाशन गरिसकेका छन्। सो पुस्तक हेनरिचको लामो खोजको अनुसन्धानमूलक कृति हो। यी दुईसहित हालसम्म उनका ६ वटा पुस्तक प्रकाशनमा छन्।
निवृत्त जीवनको बाटो हिँडिरहेका हेनरिचले खोजको यात्रा अझै रोकेका छैनन्। मानिसले बनाएका सुन्दर कुराको खोज र अभिलेखीकरण गर्ने उनको जाँगर घटेको छैन। उनी विगत एक वर्षदेखि भारतका खुड्किले इनार (स्टेप्स वेल)को अध्ययनमा लागेका छन्। त्यसका निम्ति उनी भारतका विभिन्न ठाउँमा यात्रा गरिरहेका छन्। उनको त्यो पुस्तक आएका मानव संस्कृति र सभ्यता अध्ययनका लागि अर्को योगदान बन्नेछ।
सिकर्मीहरूलाई संगठित बनाउने प्रयास
काष्ठकलाप्रतिको रुचिका कारण हेनरिचले नेपालमा छँदा आफ्नै अगुवाइमा सिकर्मीहरूको एउटा सहकारी संगठन खोलेका थिए। त्यो संगठनको नाम थियो, काष्ठकला साझा संस्थान। त्यस संस्थाले सिकर्मीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने र कलाको गुणस्तर अझ उकास्ने काम गर्थ्यो।
इतिहासमा पुर्खाले बनाएका अनुपम सौन्दर्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न भक्तपुरका सिकर्मीहरूले पाएको सफलता यस्तै प्रयासको उपज भएको हेनरिचको भनाइ छ।
हेनरिच आफ्नो पुस्तकमा लेख्छन्, ‘आज भक्तपुरमा सक्रिय जति पनि सिपालु शिल्पकारहरू छन्, उनीहरूमध्ये अधिकांश त्यही काष्ठकला साझा संस्थानका उत्पादन हुन्। यस्ता संगठित प्रयासले काष्ठकलाको गुणस्तर मात्र बढाएको छैन, बरु कलाकारहरूको सम्मान र आर्थिक स्तर उकास्न पनि मद्दत गरिरहेको छ।’
अघिल्लो पुस्तासँग भएका शिल्पलाई पछिका पुस्तामा क्रमशः हस्तान्तरण गर्न यस्ता संगठित प्रयासहरूले मद्दत गरिरहेका छन्। इतिहासमा पुर्खाले बनाएका अनुपम सौन्दर्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न भक्तपुरका सिकर्मीहरूले पाएको सफलता यस्तै प्रयासको उपज भएको हेनरिचको भनाइ छ।
नेपाली छोरी
हेनरिच र हेइकीले नेपाल बस्ने क्रममा सिन्धुपाल्चोक जिल्लाकी तामाङ परिवारकी एक छोरीलाई धर्मपुत्री बनाएका छन्। उनी अहिले जर्मनीमा बस्छिन्। आफ्ना एक छोरी र एक छोरासँगै नेपाली धर्मपुत्रीले उनीहरूको जीवनमा खुसीको रङ भरिदिएकी छन्। नेपालसँगको सम्बन्धलाई तिनै छोरीले अझै बलियो बनाएकी छिन्।
मेएर दम्पती संवादका क्रममा बरोबर आफ्नी नेपाली छोरीको प्रसंगको चर्चा गरिरहेका थिए। नेपाली छोरी हरेक वर्ष नेपाल आउँछिन् र यहाँका विभिन्न विद्यालयमा सहायताका काममा सक्रिय छिन्।
नेपालप्रतिको आफ्नो माया तिनै छोरीमार्फत मुखरित भइरहेको मेएर दम्पतीको अनुभव छ।
हेनरिचको मन नेपालमा
मेएर दम्पती आफ्नो लामो दाम्पत्य जीवनप्रति निकै खुसी छन्। उनीहरू जीवनमा एकअर्काका पूरक जस्तै बनेका छन्। शनिबार भक्तपुरका गल्लीभित्र हिँड्दै गर्दा हेनरिचले चिसो हावाले कुनै बिगार नगरोस् भनी ज्याकेटको चेन लगाउन खोजे। तर, पटक पटक कोसिस गर्दा पनि सकेनन्। सँगै हिँडिरहेकी हेइकी अघि सर्दै भनिन्, ‘बूढो मान्छे, तिमीले सकेनौ। खोइ म मद्दत गर्छु।’
मेएर दम्पतीको दैनिकीमा यस्ता संवाद धेरै हुँदो हो। ढल्किँदो उमेरमा अचेल यस्ता हाँसो र ठट्टा मिसिएका जीवन्त संवाद झनै बढ्दै गएको अनुमान गर्न सकिन्छ।
हेइकी पेसाले जैविक प्राविधिज्ञ हुन्। उनी अफ्रिकाका विभिन्न देशमा विश्व बैंकको परियोजनाहरूमा काम गर्छिन्। उनीहरू यसपटक केन्याबाटै नेपाल आएका थिए। त्यहाँ हेइकीलाई हेनरिचले साथ दिएका थिए भने नेपालमा हेनरिचलाई हेइकीले सघाउँछिन्। काष्ठकलाको तस्बिर खिच्दा हेनरिचसँगै हिँड्छिन् हेइकी। तर, हेइकीको मन अफ्रिकामा छ। उनी अफ्रिकामा रमाउँछिन्। हेनरिच भने भक्तपुर आउँदा खुसी महसुस गर्छन्। संसारका दुई कुनामा उनीहरूको मन विभाजित भए पनि एकअर्काको सपना साकार बनाउन सहयात्रा गरिरहेका छन्।